२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

लोक–संस्कृति जोगाउन नाटक

इलाममा आइतबार सुरु राष्ट्रिय लोकनाटक महोत्सवमा ‘थान’ नाटकमा अभिनय गर्दै स्थानीय कलाकार । तस्बिर : भीम/नागरिक

भीम चापागाई/मञ्जु गौतम

इलाम- नाटकका माध्यमबाट देशभरको लोक–संस्कृति झल्काउने उद्देश्यसहित सदरमुकाममा राष्ट्रिय लोकनाटक महोत्सव सुरु भएको छ। ७ दिनसम्म चल्ने महोत्सवमा सातै प्रदेशका १–१ प्रतिनिधि नाटक मञ्चन गरिँदैछ।

साहित्य र कलाका अन्य विधाबाट समेत झल्किन नसक्नेखालका अभिव्यक्ति प्रवाह गर्ने माध्यमका रूपमा नाटक विधालाई लिइन्छ। सातै प्रदेशको लोक–संस्कृति नाटककै माध्यमबाट संरक्षण र प्रचार गर्ने उद्देश्यसहित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले राष्ट्रियस्तरको महोत्सव आयोजना गरेको हो। महोत्सव उद्घाटन गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले मौलिक पहिचान नै समृद्धिको आधार भएको बताए। ‘विकास र समृद्धिको लक्ष्य पूरा गर्न भौतिक पूर्वाधार मात्र पर्याप्त हुँदैन,’ उनले भने, ‘हाम्रो गीत, संगीत, कला र संस्कृतिलाई समृद्धिको मूल आधार बनाउनुपर्छ।’ मुख्यमन्त्री राईले नेपाल कला–संस्कृतिमा संसारकै नमुना भएको भन्दै तिनको संरक्षण र संवद्र्धनका लागि सरकारले सहयोग गरिरहेको बताए।

महोत्सव उद्घाटन अवसरमा स्थानीय आयोजक चेतना नाट्य समूहको ‘थान’ नाटक मञ्चन गरियो। आफ्नो पतिको निधनपछि महिलाले जीवनयापनका लागि गर्नुपरेको संघर्ष नाटकमा झल्काइएको छ। स्थानीय लोकसंस्कृतिको पृष्ठभूमिमा तयार गरिएको नाटकमा समाजमा विद्यमान झाँक्रीप्रतिको विश्वास, ‘भूत–प्रेत’को दुःख र घरमा चिन्ता राखी मृतकको आत्मा बोलाउनेजस्ता सामाजिक वास्तविकता दर्साइएको छ। सुरेश पोर्तेलको लेखन तथा निर्देशन रहेको नाटकमा स्थानीय कलाकारहरू भावना मगर, प्रसन्न घिमिरे, राम आचार्यलगायतले अभिनय गरे।

महोत्सवमा १ नम्बर प्रदेशको प्रतिनिधि नाटकका रूपमा किशोर अनुरागको निर्देशनमा रहेको ‘सुम्निमा–पारूहाङ’ सोमबार मञ्चन गरिँदैछ। २ नम्बर प्रदेशबाट कुन्दन चौधरी निर्देशित नाटक ‘कनन हरलता’, ३ नम्बरबाट कृष्णभक्त महर्जनले निर्देशन गरेको ‘राजकुमारको मल्लयुद्ध’ मञ्चन हुनेछ। ४ नम्बरबाट निशा पाख्रिनको निर्देशनमा रहेको ‘नमोबुद्ध’, ५ नम्बरबाट सुदीप पटेल निर्देशित ‘कजरी’, ६ नम्बरबाट गणेश उपाध्याय निर्देशित ‘छैंटी’ र ७ नम्बर प्रदेशबाट झकेन्द्र बिसीले निर्देशन गरेको ‘लोली सज्जा’ नाटक मञ्चन गरिँदैछ। महोत्सव उद्घाटन अवसरमा कलाकार तथा साहित्यकार गणेश रसिकलाई सांस्कृतिक संस्थानले सम्मान गरेको छ।

महोत्सवमा मञ्चन गरिएका नाटकबारे कार्यपत्रसमेत प्रस्तुत गरी समीक्षा गरिने आयोजकले जनाएको छ। अर्काे स्थानीय आयोजक इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले सबै नाटकको अलग–अलग समीक्षा गर्दै इलामको नाटक इतिहासबारे चर्चा गरिने बताए।

नाटकका माध्यमबाट प्रदेशैपिच्छेको लोक–संस्कृति झल्किनेमात्र नभई त्यसको प्रचारसमेत हुने संस्थान अध्यक्ष प्रेम अधिकारीले बताए। ‘मैले कतै सुनेको थिए–इलाममा त आकाशमा पैसा उडिरहेको छ तर त्यसलाई टिप्न जानिएको छैन,’ उनले नाटक महोत्सवलाई पर्यटनसँग जोड्दै भने, ‘यो महोत्सवले चाहिँ इलामको मात्र होइन, देशकै लोक–संस्कृति र परम्परालाई नाटकका माध्यमबाट उजागर गरेको छ र पर्यटक आकर्षित गरेको छ।’

इलाम घर भएका १ नम्बर प्रदेशका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले देशभरको कला–संस्कृति इलाममा ल्याएर झल्काउनुले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए। उनले संरक्षण हुन नसक्दा मौलिक नाटक हराएर जानसक्ने भएकाले कला–संस्कृति संरक्षणमा सरकारको ध्यान जाने बताए।

महोत्सव उद्घाटन अवसरमा राष्ट्रियसभा सदस्य तथा प्राज्ञ खेम नेपाली, कलाकारहरू प्रभाकर शर्मा, रामभजन कामतलगायतको समेत सहभागिता थियो। उद्घाटन अवसरमा सदरमुकामको ठूलो टुँडिखेलदेखि गौतमबुद्ध सभागृहसम्म झाँकीसहितको र्‍याली आयोजना गरिएको थियो। आउँदो फागुन २ सम्म प्रत्येक दिन नाटक मञ्चन र त्यसको समीक्षा गरिने कार्यतालिका छ।


         

प्रकाशित: २६ माघ २०७६ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App