८ वैशाख २०८१ शनिबार
कला

जातीय विभेदमाथि ‘झिम्के मामा’

काठमाडौं - जातीय विभदेमाथि व्यंग्य गर्दै राजधानीको मण्डला थिएटरमा ‘झिम्के मामा’ नाटक मञ्चन भइरहेको छ। सुरिलो बाँसुरीको धुनसँगै टिकाराम पात्रको घरबाट नाटक सुरू हुन्छ। नाटकका मुख्य पात्रका झिम्के श्रममा विश्वास गर्छन्। उसको मेहेनतले गाउँले मुहार फेरेको छ। गाउँमा बाटोे, पानी र मन्दिर निर्माण लगायतका कामहरू भइरहेका छन्।

दलित समुदायको प्रतिनिधित्व गर्ने झिल्केले बनाएको मन्दिरमा पूजा नगर्ने र पानी नखाने निर्णय गाउँलेहरूले गर्छन्। बिस्तारै झिल्के गाउँमा अलोकप्रिय हुँदै जान्छन्। झिम्केका कारण उसको भिनाजु टिकारामको परिवारलाई समेत गाउँबाट हटाउन गाउँले लागिपर्छन्।

यस नाटकले नेपाली समाजमा रहेको जातीय विभेदमाथि व्यंग्य गरेको छ। झिम्केले नेपाली समाजमा दलित भएको कारण पिल्सिनु परेका युवाको प्रतिनिधित्व गरेका छन्। दलित समुदायका सिर्जनालाई माया गरेपनि घृणाको दृष्टिले हेर्ने नेपाली समाजको सोच र परम्परासँगै दलितले बनाएको मूर्ति पुज्ने र सिलाएको कपडा लगाउने तर उनीहरुलाई सम्मान गर्न नसक्ने अवस्थाको चित्रण गरिएको छ।

गत माघ ४ देखि मञ्चन सुरू भएको सोे नाटकलाई दुर्गाप्रसाद पाण्डेले लेखेका हुन्। प्रदीपकुमार चौधरीले निर्देशन गरेको सो नाटकमा अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागाईं, सागर कामी खाती, रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्य बराल, सुशिल पाण्डे, विकास पन्त, महन थापा र उषाकिरण काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन्। ‘नेपाली समाजमा रहेको जातीय विभेदको कथा नाटकमा समावेश गरिएको छ,’ निर्देशक चौधरीले भने। नाटक आगामी माघ २६ सम्म मञ्चन हुनेछ।

प्रकाशित: १० माघ २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App