मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री श्रद्धा कपुरले ‘मिटु’ आरोपित निर्देशक लभ रञ्जनको फिल्ममा काम गर्ने भएसँगै विवादमा तानिएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री दीपिका पादुकोणले यौन दुर्व्यवहारको आरोपितसँग काम नगर्ने बताएपछि अभिनेत्री श्रद्धाले लभ रञ्जनको फिल्म खेल्ने भएकी हुन्।
‘निर्देशक लभ रञ्जनको नयाँ फिल्ममा काम गर्दैछु। उनको यसअघिका फिल्महरू मलाई मनपरेका हुँदा काम गर्ने भएकी हुँ। यस फिल्ममा हाम्रो पुस्ताको उत्कृष्ट अभिनेता रणवीर कपुरसँग काम गर्ने मौका मिलेको छ,’ उनले भनिन्। उनले मार्चबाट फिल्मको सुटिङमा सहभागी जनाकारी गराएकी छन्।
यसअघि अभिनेत्री पादुकोणले भनेकी थिइन्, ‘यौन दुर्व्यवहारको आरोपितसँग म काम गर्दिन्।’ केही समयअघि बलिउड अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनको घरमा देखिएपछि उनीविरुद्ध ‘नटमाईदीपिका’ ह्यासट्याग ट्वीटरको टेन्डिङमा परेको थियो। उनी र अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनले भेट गरेका थिए। भेटपछि रञ्जनको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको खबर एकाएक बाहिर आएको थियो। निर्देशक रञ्जनसँग अभिनेत्री पादुकोणले काम गर्न लागेको चर्चा भएपछि ट्वीटरमा यसको विरोध भएको थियो।
मिटु अभियानअन्तर्गत यौन दुव्र्यवहार गर्ने निर्देशकको फिल्ममा अभिनेत्री पादुकोणले काम गर्न लागेको भन्दै उनका फ्यानहरू दुखित थिए। उनका फ्यानहरूले यौन दुव्र्यवहार गर्ने निर्देशकको फिल्ममा काम गर्ने निर्णयबारे पुनःविचार गर्न आग्रह गरेका थिए। उनीहरू ‘सोनी के टीटु की स्वीटी’ फिल्मका निर्देशकसँग नयाँ प्रोजेक्टको विषयमा कुराकानी गर्न उनको घर पुगेका थिए।
सन् २०१८ मा मिटु अभियानअन्तर्गत एक अभिनेत्रीलाई यौन दुर्व्यवहार गर्नेमा निर्देशक रञ्जनको नाम आएको थियो। सन् २०११ मा ‘प्यार का पञ्चनामा’ फिल्मको लुक्स टेस्टको दौरान एक अभिनेत्रीलाई बोलाएर यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो।
प्रकाशित: ६ माघ २०७६ ०३:०३ सोमबार