११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुँदै

काठमाडौं – नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आगामी फागुन १ देखि ५ सम्म तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को आयोजना गर्ने भएको छ। बिहीबार पर्यटन बोर्डमा आयोजकले कार्यक्रमको आयोजना गर्दै महोत्सवबारे जानकारी गराएको थियो।

महोत्सवमा फिल्म, डकुमेन्ट्री, सर्ट फिल्म तथा एनिमेटेड विधाका ८० वटा फिल्महरू प्रदर्शन हुनेछन्। राजधानीको सभा गृह र पर्यटन बोर्डमा आयोजना हुने महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय फिल्म (१०), नेपाली फिल्म (५), सर्ट फिल्म (३५), नेपाली सर्ट फिल्म (१५), डकुमेन्ट्री (८) र ऐनिमेटेड फिल्म (६) प्रदर्शन हुने छन्। महोत्सवको यो तेस्रो संस्करण हो। यसपटक महोत्सव ५५ देशबाट ६ सयभन्दा बढी फिल्म प्राप्त भएको जानकारी आयोजकले गराएको थियो।

वल्र्ड पनोरमाअन्तर्गत ‘ट्याप’, ‘द कम्पोजर’, ‘ह्याप्पी किनेर्स’, ‘बिर्यानी’, ‘द अदर हाफ’, ‘वाक अन द वेभ्स्’ लगायत फिल्म प्रदर्शन हुनेछ। यस विधामा टर्की, अमेरिका, भारत, चीन, मेक्सिको, श्रीलंका र फ्रान्सका फिल्महरूले प्रतिस्पर्धा गर्दैछन्। नेपाली फिल्म विधामा ‘गोपी’, ‘मिस बर्दिया’, ‘कोपिला’, ‘बुलबुल’ र ‘प्रसाद’ प्रदर्शन हुनेछन्।

महोत्सवअन्तर्गत वल्र्ड पनोरोमामा उत्कृष्ट हुने फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गर्नेछ। महोत्सवमा प्रदर्शन भएकामध्ये उत्कृष्ट डकुमेन्ट्रीले एक हजार अमेरिकी डलर, नेपाली फिल्मले एक लाख रुपैयाँ, ऐनिमेटेड फिल्मले सात सय ५० अमेरिकी डलर, सर्ट फिल्मले पाँच सय अमेरिकी डलर र नेपाली सर्ट फिल्मले ४० हजार रुपैयाँको पुरस्कार पाउनेछन्। त्यसबाहेक उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक, सिनेमेट्रोग्राफर र स्क्रिनप्ले विधामा अवार्ड प्रदान गरिनेछ।

बलिउड फिल्मका निर्देशक प्रकाश झासहित गौरी मल्ल, जोआओ पाओलो मसेडो, युनी हाडी र मञ्जुकुमार श्रेष्ठको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरू छनोट गर्नेछन्। श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणासहित थाइबुट ब्रैक र करूण थापाको निर्णायक टोलीले उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्री छनोट गर्नेछन्।

महोत्सवमा बलिउड फिल्मका निर्देशक प्रकाश झा, श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणा, जोआओ पाउलो मसेडा, नीर शाह र राजेश हमालले मास्टरक्लास र अनुभव सुनाउनेछन्।

कार्यक्रममा बोल्दै महोत्सवका अध्यक्ष केपी पाठकले नेपाली र विदेशी फिल्ममेकरहरूलाई एकै थलोमा ल्याएर अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताए। ‘महोत्सवले नेपाली र विदेशी फिल्ममेकरहरूलाई एकै थलोमा ल्याएर एक अर्काको अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको छु। यसपटक नेपाली फिल्मकर्मीका लागि डिजिटल मार्केटको सम्भाव्यतालाई ध्यानमा राख्लै नेटफ्लिक्सको प्रतिनिधि हुनेछ,’ उनले भने।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित आयोजना महोत्सव भारत, चीन, अमेरिका, स्पेन, बेलायत, क्यानडा, इरान, इटाली, जापान र मलेसियालगायत ४० वटा देशका फिल्महरू देखाइनेछ। कार्यक्रममा बोल्दै फिल्म निर्देशक नीर शाहले महोत्सवले नेपालको प्रवद्र्धनमा टेवा पु-याउने दावी गरे। ‘यस किसिमका महोत्सवले नेपाली फिल्ममात्र नभई नेपालको भूगोल बुझाउन मद्धत गर्नेछ,’ उनले भने।

प्रकाशित: ३ माघ २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App