मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) पुगेकी छन्। गत आइतबार राति नकाब लगाएका ५० भन्दाबढी लाठी बोकेका आक्रमणकारीले जेएनयुको छात्रबास गएर विद्यार्थीहरूमाथि गरेको आक्रमणको विरोधमा ऐक्यबद्धता जनाउन उनी त्यहाँ पुगेकी थिइन्।
जेएनयुमा भएको हिंसात्मक हमलाको विरोधमा आयोजित प्रदर्शनमा सहभागी भएर विद्यार्थीहरूलाई समर्थन गर्ने उनी पहिलो प्रभावशाली बलिउड कलाकार हुन्। सो आक्रमणमा थुप्रै विद्यार्थीहरू घाइते भएका थिए। उनी जेएनयु पुगेर घाइते विद्यार्थी नेतालाई भेटेर मौन विरोध प्रदर्शनमा सहभागी भएकी थिइन्। जेएनयुमा भएको हिंसात्मक हमलाको विरोधमा देखिएकी अभिनेत्री पादुकोणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
अभिनेत्री पादुकोण जेएनयुमा पुगेको प्रसंगलाई धेरैले प्रशंसा गरिरहेका छन् भने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को समर्थन गर्ने समूहले उनको फिल्म बहिस्कार गर्ने बताएको छ। सत्तारुढ भारतीय जनता पार्टी समर्थक विद्यार्थी मञ्चद्वारा परिचालन गरेका नकाब लगाएका आक्रमणकारीले प्रहरीको समेत सहयोगमा जेएनयुको विद्यार्थी र उनीहरूका नेतामाथि आक्रमण गरेको आरोप लगाइएको थियो। यो आक्रमणमा विद्यार्थी युनियनकी अध्यक्ष आइसी घोषसमेत सख्त घाइते भएकी थिइन्।
‘निर्मातासमेत रहेकी उनले फिल्मको व्यापारलाई धरापमा पारेर जेएनयु पुग्नु ठूलो हिम्मत हो,’ निर्देशक अनुराग कश्यपले ट्वीट गरेका थिए। उनीसहित दिया मिर्जा, ऋचा चट्टा र स्वारा भास्करजस्ता कलाकारहरु आक्रमणको विरोधमा उत्रिएका थिए।
जेएनयुमा भएको हिंसात्मक हमलाको भारतभर विरोध भइरहेको छ। जेएनयु पुगेर आक्रमणको मौन विरोधमा सहभागी भएलगत्तै सामाजिक सञ्जालमा ‘आइ स्ट्यान्ड विथ दीपिका’ र ‘दीपिका पादुकोण’ लगायत ह्यासट्याग ट्रेन्डिङ भएका थिए। फिल्मको निर्माता समेत रहेकी अभिनेत्री पादुकोण अभिनित ‘छपाक’ आगामी शुक्रबार रिलिज हुँदैछ। मेघना गुलजारद्वारा निर्देशित यस फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित रहेको छ।
प्रकाशित: २४ पुस २०७६ ०१:४३ बिहीबार