२ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

तीन देशका कलाकारद्वारा चित्रमार्फत सिकाइ साटासाट

काठमाडौं- नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन्। काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन्।
 
भारतबाट सहभागी ११, बङ्गलादेशबाट १० र नेपालका पाँच कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शनीका क्रममा उनीहरुले शनिबार ‘कला डेमोस्ट्रेसन’ मार्फत एकअर्कामा सिकाइ हस्तान्तरण गरेका हुन्। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा उक्त कार्यक्रम भएको थियो। समाजका अध्यक्ष एनवी गुरुङले कुनै पनि चित्र सम्बन्धित देशको प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हुने भएकाले कलाकारलाई एकअर्काको संस्कृति बुझ्न र सिक्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताए।
 
उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमखु बुद्धि गुरुङ, कलाकार डिबी राई र दीपेन्द्रमान बनेपाली सहभागी थिए। भारतबाट अमलेस मजुम्दार र बङ्गलादेशबाट असन अहमद सहभागी भए। नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर जलरङमार्फत कला सिर्जना गरेका थिए। भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बङ्गलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतारेका थिए।

यसरी सामूहिक चित्रकला कार्यशाला हुँदा नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने र पुराना कलाकारलाई एकअर्कामा अनुभव साटासाटको अवसर मिल्ने कला प्रदर्शनीमा भारतबाट सहभागी कलाकार अङ्कित देवा भौमिकले बताए। उनले काठमाडौँ कलाका दृष्टिकोणले अति नै सुन्दर भएकाले भारतका कलाकारले पशुपतिमा पुगेर पनि कला सिर्जना गरेको र आज आइतबार नगरकोट र भक्तपुरमा पुगेर चित्र बनाउने प्रतिक्रिया दिए। केही बङ्गलादेशी कलाकार भने कला सिर्जनाका लागि पोखरा गएका छन्।

प्रकाशित: १३ पुस २०७६ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App