काठमाडौं – शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ‘सुन्दर नेपाल खुसी नेपाली’ फोटो प्रतियोगितामा उत्कृष्ट भएका मिथुन कुँवरलाई ४० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। त्यस्तै प्रतियोगितामा दोस्रो हुने प्रवीण श्रेष्ठ र तेस्रो हुने दयासागर केसीलाई क्रमशः २५ र १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो।
सान्त्वना पुरस्कार प्राप्त गरेका फोटोपत्रकार स्कन्द गौतमलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो। सो कार्यक्रममा फोटोग्राफर बखतबहादुर चित्रकार, मंगलमोहन श्रेष्ठ, पुष्प चित्रकार, श्रीधर मानन्धर र श्याम चित्रकारलाई सम्मान गरिएको थियो।
उत्कृष्ट छनोट भएका विजेतालाई पुरस्कार प्रदान गर्दै प्रतिष्ठानका कुलपति के के कर्माचार्यले फोटोग्राफी ललितकलाको महत्वपूर्ण विधा रहेको बताए। प्रतियोगितामा सहभागी कलाकारले देशको सामाजिक, भौगोलिक, सांस्कृतिक तथा धार्मिक सम्पदा समेटिएका ७० फोटो प्रदर्शन गरेका छन्। प्रदर्शनी आगामी पुस १७ सम्म चल्नेछ।
प्रकाशित: १३ पुस २०७६ ०४:११ आइतबार