४ आश्विन २०७७ आइतबार
कला

नेपाली रंगमञ्चमा 'मार्क्स फर्किए'

काठमाडौं- कार्ल मार्क्सले १ सय चालिस बर्ष अघि बिताएको जीवनको आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन हुने भएको छ। कार्ल मार्क्स जन्म द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा पुस १ देखि तीन गतेसम्म यो नाटक प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शन हुँदैछ।

नाटकमा मार्क्सको कठिनपूर्ण जीवन, परिवार र संघर्षका बिषयबस्तु समेटिएका छन्। बर्तमान विश्व पूँजीवाद, समाज र धर्मका बारेमा मार्क्सको धारणा यो नाटकमा प्रस्तुत गरिने छ।

अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले लेखेको यो नाटक दामोदर उपाध्यायले अनुवाद गरेका हुन्। नाटकको निर्देशन तथा परिकल्पना सुनील पोखरेल र प्रवीण खतिवडाले गरेका छन्।

मञ्चमा सुनील पोखरेल, निशा शर्मा, कमलमणी नेपाल, प्रवीण खतिवडा, सरस्वती चौधरी, रामभजन कामत, राम न्यौपाने, अन्जु देउजा, सुरज तमु, सुमित तामाङ, मौसम खड्का, सविन भट्टराई, उत्तमराज पाण्डे लगायतको भूमिका रहने छ।

नाटकमा मार्क्स लण्डनको सोहो बस्तीमा फर्कन चाहन्थे तर पथ प्रदर्शकको भाषिक समस्याको कारण नेपालको एक नाटक मञ्चमा आइपुग्छन्। आफ्नो नाटक मञ्चमा मार्क्सलाई देखेपछि निर्देशकले मार्क्सलाई विभिन्न प्रश्न गर्दछन्। यहि मञ्चबाट मार्क्सले विश्व परिस्थितीको विश्लेषण गर्ने छन्।

नाटकको पूर्व तयारीको क्रममा सुनिल पोखरेल र प्रवीण खतिवडा।

‘मार्क्स फर्किए’ नाटकमा सुनील पोखरेलले कार्ल मार्क्सको भूमिका गर्दैछन्। अहिले नाटकको रिहर्सल गरिरहेका कलाकार सुनील पोखरेलले नाटकको तयारी गर्दैगर्दा गरेको अनुभव उनकै शब्दमाः

यो विचार प्रधान नाटक हो। यो मात्रै मनोरञ्जनका लागि हैन। हुनत अरु नाटकहरु पनि विचार प्रधान हुन्छन्। तर यो नाटकको मुल सार नै विचारप्रधान हो। यो नाटकमा म मार्क्सको भूमिकामा छु। यस्तो प्रख्यात चरित्र गर्दा चै डर पनि लाग्दो रहेछ। मैले चरित्र भन्दा पनि विचारको भूमिकालाई महत्व दिएको छु।

नाटकमा मार्क्सको स्वरुप भन्दा पनि विचार प्रस्तुत गर्ने तर्फ मेरो ध्यान गएको छ। म मार्क्स त हैन। मैले मार्क्सको भूमिकाबाट स्कृप्टमा भएको विचारलाई सहज रुपमा देखाउने प्रयास गरेको छु।

मलाई यो चरत्रिमा नाटक गर्दा खुसी लागेको छ। मन परेको पात्रमा एक्टरहरुले खेल्न पाउँदा पनि खुसी हुन्छन् नै। मलाई पनि यो भूमिका निभाउँदा रमाइलो लागेको छ। यस्तो महान ऐतिहासिक भूमिका गर्न पाउनु खुसीको कुरा हो।

यो नाटक तयारी गर्ने क्रममा पेरिस कम्युनदेखी राहुल सांस्कृतायनका जीवनीहरु, त्यो बेलाको कला, साहित्य र फिल्महरुको पनि अध्ययन गरिरहेका छौं। एउटा मजाको कुरो के छ भने त्यो बेला र अहिलेको समयमा त्यती ठूलो तात्वीक अन्तर त रहेन छ। यत्ती हो कि पूँजीवाद वा उपभोक्तावाद एकदमै बढेर गएको छ, त्यो समय भन्दा। अहिले पनि हामी कहाँ सामन्ती सोच, सामन्ती संस्कार छदै छ। जे कुरा मार्क्सले १४० बर्ष अगाडि भनेका छन् त्यो त अहिले पनि छदै छ। स्वरुप फरक भएको मात्र त हो।

चिन्तकहरु चै त्यो बेलामा रहेछन्। दु:ख गरेर भएपनि लेख्ने। आफ्नो हैन कि भविष्यको, अरु मानिसको र समाजको चिन्ता गर्ने। समाजलाई बाटो देखाउने मानिसहरु चै त्यो बेला धेरै रहेछन्।

यो नाटक गर्दै गर्दा व्यक्तिगत रुपमा मैले के सिके भने कुनै काम गर्दा जुन सोच बनाएर लागिन्छ त्यसलाई निरन्तरता दिने, जस्तो सुकै अभावमा पनि लागिरहने। हरेस नखाने। परिवारीक स्थिती वा जस्तो सुकै कारण आएपनि आफ्नो काम नछोड्ने।

यो नाटक देखाउनुको उद्देश्य नै मार्क्सका बारेमा पढ्छन् तर किन व्यवहारमा उतार्दैनन् भन्ने नै हो। मार्क्सलाई पढेको भन्दा पनि उनको मानवीय पक्ष नाटकमा देखाउन खोजेको हो।

 

प्रकाशित: २६ मंसिर २०७६ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App