४ वैशाख २०८१ मंगलबार
कला

सोमेश्वर गढीमा मूर्ति कुँद्दै कलाकार

चितवन – माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।

माडी नगरपालिका वडा नम्बर–५ को सोमेश्वर गढी पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन निर्माण गरेको इतिहास भेटिन्छ। सोमेश्वर क्षेत्रमा नेपाल–भारतको २४५ नम्बर सिमास्तम्भ समेत रहेको छ। सोमेश्वर गढीलाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि देशभरबाट छनौट गरेको एक सय नयाँ गन्तव्यमा समेत राखेको छ। माडीका कलाकार दिनेश्वर महतोले सोमेश्वर गढी उक्लने बाटोमा रहेको ढुंगामा करिव एक वर्षअघि भगवती कालिकाको टाउकोको मूर्ति बनाएका थिए। त्यसलगत्तै सोमेश्वर गढी क्षेत्रमा मूर्तिको खुल्ला बगैंचा बनाउने बारेमा छलफल अघि बढेको कलाकार महतोले बताए।

अहिले देशभरका कलाकार गढीमा रहेका ठूला ढुंगालाई फोडेर कलात्मक आकृति कुँद्न लागिपरेका छन्। गत शनिबारदेखि सुरु भएको १८ दिने कार्यशाला अवधिभर कलाकारहरुले करिव ४० वटा हाराहारीका मूर्तिहरु तयार गर्नेछन्। मूर्तिकारहरुले आधुनिक, सम–सामयिक र यथार्थपरक विषयवस्तु झल्काउने, राष्ट्रिय महत्व, धार्मिक र प्रकृति झल्काउने मूर्तिहरु तयार गरिरहेका छन्। मूर्तिहरु डेढ किलोमिटरको दुरीभित्रै निर्माण गर्न लागिएको ढुंगा स्थलगत अध्ययन पछि मूर्तिका लागि प्रयोगमा आएको हो। ‘बाटोमा त्यतिकै रहेको ठूला ढुंगामा मूर्ति बनाउन लागिएको हो। यहाँ गढीमा भएको ढुंगा जहाँ जस्तो अवस्थामा छन्। त्यसैमा मूर्ति बनाउँदै छौं,’ उनले भने। गढीको फेदीदेखि गढी पुग्ने बाटोको छेउमा रहेका ढुंगामा मूर्तिहरु बनाउन लागिएको हो। मूर्तिसँगै गढीमा आकर्षक बगैंचासहितको पार्क निर्माण गर्ने योजना नगरपालिकाले अघि बढाएको छ। कलाको माध्यमबाट सोमेश्वर गढीको पहिचान उजागर गर्नका लागि कार्यशाला चलाईएको उनले जानकारी गराए।

सोमेश्वर गढीमा निर्माण हुने मूर्तिले गढीको ऐतिहासिक, धार्मिक र संस्कृति महत्व उजागर हुनेसँगै माडीको समेत पहिचान बन्ने माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतो बताइन्। ‘गढीबाट माडीका साथै भारतका ठाउँहरु अवलोकन गर्न सकिन्छ। प्रकृतिमा रमाउँदै घुम्न मन पराउनेहरुको लागि गढी उपयुक्त घुम्ने ठाउँ हुनसक्छ,’ उनले भनिन्। कार्यशालाका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस वर्ष गढीको विकासका लागि करिव दुई करोड रुपैयाँ लगानी गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए। ‘मोटर बाटोमा ढल निकास बनाउने, पाहुना घर बनाउने, सोमेश्वर कालिका मन्दिर नजिकै सिंढी बनाउने, आकर्षक गेट लगायतका पूर्वाधार बन्ने क्रममा रहेका छन्,’ उनले भने, ‘माडीभित्र वाल्मीकी आश्रम, गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, शनि मन्दिरलगायतका धार्मिक महत्वका स्थानसँगै ऐतिहासिक महत्वको गढी ताल, झरना समेत रहेका छन्।’

 

प्रकाशित: २६ कार्तिक २०७६ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App