राजेन्द्र शलभ, चलचित्र निर्देशक
निधारमा लर्काएर सप्तरङ्गी टीको
हेरिरहुँ सधैँ तिमी शिखरको बाटो
करिब तीन दशक अगाडी बिजय पराजय भन्ने चलचित्रको बनाइएको थियो। यो मैले निर्देशन गरेको पहिलो चलचित्र हो। हाम्रो एउटा टिम थियो। हामी पत्रकारिता क्षेत्रमा आबद्ध थियौँ। त्यति बेला शैलेश आचार्य, जगदीश खनाल, रमण घिमिरे हामी सबै ऊर्वशी म्यागजिनमा काम गथ्र्यौं। झापाका एक साथीले चलचित्र बनाउन आग्रह गरे। त्यो समयमा टेलिभिजनमा पनि काम गर्थें। त्यही क्रममा यो चलचित्र बनेको हो।
त्यो समयमा एक्सन सिनेमा बनेको थिएन। त्यही भएर यस्तै चलचित्र बनाउने भन्ने सल्लाह भयो। सबै पत्रकार नै पत्रकारले बनाएको चलचित्र हो। हाम्रो टिमका जगदीश खनालले यो चलचित्रको लागि कथा लेख्नुभयो। कथा अनुसार, नायक भुवन केसी गाउँबाट सहर पढ्न आएका हुन्छन्। कृष्ण मल्ल र उनकी बहिनी रूपा राणा सहरमै बसोबास गरेका हुन्छन्। भुवनलाई गाउँले, पाखे भनेर जिस्क्याउँछन्। त्यही क्रममा भुवन र कृष्णको मित्रता बढ्दै जान्छ। यससँगै आमा सुशीला रायमाझी र बहिनी रुपासँग पनि भुवनको आत्मीयता बढ्दै जान्छ।
निधारमा लर्काएर सप्तरङ्गी टीको
हेरि रहुँ सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिए बाँधाहरु मैले
जता पनि पुग दाजै घामभन्दा पैले।।
चलचित्रमा भुवन, कृष्ण र रुपाको सम्बन्ध दाजुबहिनीको देखाउनुपर्छ। यसका लागि सबैभन्दा सजिलो उपाय त भाइटीका भयो। अनि भाइटीकाको एउटा सिक्वेन्स राखौँ न त भनेर दुई जनाको अलिकति जिस्केको, साथीहरुको र आमाको सम्बन्धलाई देखाउने गरी गीत लेख्ने भयौँ। गीत दिनेश अधिकारीले लेख्नुभयो। त्यो गीत रेकर्ड भयो। राम्रो पनि भयो। हामीले चित्रण गर्दा पनि टीकाको जुन प्रक्रिया छ, त्यो प्रक्रिया नै छ गीत भरि। हामी बढि आधुनिक भईरहेका छौँ। कतिपयलाई हाम्रो टीका लगाउने संस्कार कस्तो छ, के के गरिन्छ, ओखर किन फुटाइन्छ, तेलको रेखी किन हालिन्छ, जस्ता कुराहरु पनि थाहा हुदैँन। लगभग टीकाको प्रक्रिया सबै त्यसमै छ। यो गीत फिल्ममा यसरी राखियो।
गीतको मेलोडी राम्रो, गायन राम्रो, चित्रण राम्रो भयो। यो गीत धेरै नै चर्चित भयो। यो गीत तिहारको सन्र्दभ जोडिएकाले अहिलेसम्म पनि चर्चित भएको हो जस्तो लाग्छ।
हामीले दिनेशलाई कथाको बारेमा सबै भन्यौ। उसले लेखेर पठाईदियो। त्यसमा कुनै पनि करेक्सन गर्नुपरेन। यो गीतलाई शम्भुजीतले संगीत गरेर उहाँले हामीलाई सुनाउँनुभयो। हामीलाई राम्रो लाग्यो। त्यति बेला यहाँ रेकर्डिङ हुदैँन थियो। बम्बई गएर गीत रेकर्ड गर्ने चलन थियो। उताबाट हेम लताले गीतमा स्वर दिनुभयो।
हरेक गीतमा कस्तो हुन्छ भने, कुनै गीतको आयु लामो हुन्छ भने कुनैको छोटो हुन्छ। यो लामो आयु भएको गीत हो। सिक्वेन्स अनुसार गीत चल्छ। तिहारको समयमा यो गीत धेरै चल्छ। तिहार सकिएपछि, यसको लोकप्रियता घट्छ। फेरि तिहार आएपछि मान्छेहरुले यो गीतलाई सम्झिन्छन्। यसमा तिहारको सन्र्दभ जोडिएकाले पनि यसको लोकप्रियता बढेको हो। हामीले कुनै पनि कुरा सन्र्दभमा रहेर काम ग-यौँ भने मानिसहरुले त्यसलाई वर्षौँसम्म सम्झिरहन्छन्।
जुन समयमा हामीले यो चलचित्र बनायौँ, हामीले सोचेका थिएनौँ कि यो गीतले यति धेरै व्यापकता पाउँछ भनेर। ३० वर्ष पछिसम्म पनि हरेक वर्षको तिहारमा यो गीतको सम्झनामा गराउँछ भनेर सोचेका थिएनौँ। यसको यति धेरै चर्चा हुन्छ होला भन्ने पनि लागेको थिएन। हामीलाई त्यो बेला चाहीँ कथामा दाजुबहिनीको सम्बन्ध देखाउनु थियो। गीतलाई कसरी चित्रण गर्ने भन्ने कुरा मात्र सोचेका थियौँ।
हामीले सामान्य तरिकाले यो चलचित्र बनाएका थियौँ। यो गीत हामीले एउटा घरको कोठामा सुट गरेका थियौँ। गीतमा तिहारको प्रसङ्ग भएकाले टीकामा चाहिने सामाग्री जुटायौँ। गीतमा भाईटीकाको सिक्वेन्स छोटो थियो। त्यसैले दुई दाजु र बहिनी वनमा डुलेको, पिङ खेलेको र बहिनीको विवाहको पनि सिन राख्यौँ। यो चलचित्रको आधाभन्दा बढि पार्ट हामीले बिराटनगरमा सुट गरेका थियौँ। यस गीतमा देखाइएको दृश्य पनि बिराटनगरकै हो।
अरु चलचित्रमा यस्ता संस्कृतिको सिक्वेन्स छैन। बरु तिहारसँगै सम्बन्धित एउटा गीत चाहीँ बनाएका थियौँ।
भाईटीकामा भेट्न आउँला, बिदाई छ आजलाई
नरोई जाउ चेली, आशिष छ तिमीलाई
पराई नै आफ्नो हो, आफ्नो नै पराई
भाईटीकामा भेट्न आउला, नरोई जाउ चेली।।
राजु लामाको स्वर र शुक गुरूङको रचनामा तयार गरिएको यो गीतको म आफैले निर्देशन गरेको थिए। यसमा पनि भाईटीकाकै सिक्वेन्स राखिएको छ। दिदीलाई बिदा गरेर पठाएपछि तिहारमा भेट्न आउने कुरालाई देखाउन खोजिएको छ। भाईटीकाकै सन्र्दभको यो पनि रमाईलै गीत थियो। राजुले नै यो गीत लिएर मकहाँ आएको थियो। उनले आग्रह गरेपछि मैले यसमा निदेर्शन गरेको थिए। यो गीत पनि तिहारका बेलामा सुनिन्छ।
चलचित्रमा सांस्कृतिक गीत समावेश गरिएको हुन्छ। तर सबै चलचित्रमा सांस्कृतिक गीतको आवश्यक भने गर्दैन। कथाले मागेको छ भने मात्र राखिन्छ। कुनै पनि गीत र सिक्वेन्समा अनावश्यक रूपमा राख्नु हुदैँन। त्यसले कथालाई बुस्ट र सर्पोट गर्छ भने फेरि राख्नुपर्छ। यसले कथालाई जीवन्त बनाई राख्छ। सामान्य तरिकाले चलचित्रमा आईटम गीत राखियो भने त्यो केही दिन हिट हुन्छ। मान्छेले केही दिन मात्र सम्झिन्छ। तर चलचित्रमा मान्छेको जीवनको घटना जस्तै, जन्म, मृत्यु, विवाह, चाडपर्वहरुसँग जोडिएर आएको कुरालाई समावेश गरियो भने त्यो कुराहरु आउने बित्तिकै मान्छेले त्यो गीतलाई सम्झिन्छ। जसरी हामीले त्यति बेलामा कथाले मागे अनुसारको भाईटीकाको सिक्वेन्स राखेका राखेका थियौँ, अहिलेसम्म पनि हरेक तिहारमा यस्तै गीतले स्थान पाउँछ।
अचेलका चलचित्रमा पनि यस्ता सिक्वेन्सहरु देखिन्छन्। तर पहिले र अहिलेमा धेरै कुराहरुमा फरक आईसकेका छन्। अहिले अलि राम्री कथा भन्न थालिएको छ। निश्चित विषयमा मात्र केन्द्रित भएर चलचित्रहरु बन्न थालेका छन्। गीतकै कुरालाई जोड्दा पहिले पहिले अंग्रेजी चलचित्रमा पनि धेरै गीतहरु हुन्थे। पछि म्युजिक भिडियोमा फिल्मका गीतहरु आउन थाले। अनि बिस्तारै फिल्ममा गीतहरु कम हुदैँ गए। यो अभ्यास बलिउड हुदैँ कलिउडमा पनि देखिन थाल्यो। चलचित्रमा गीत राख्नैपर्छ भन्ने छैन। तर आवश्यक अनुसार राख्नुपर्छ।
अहिलेसम्म मैले निर्देशन गरेको चार वटा चलचित्र छन्। यसमध्येको पहिलो चलचित्र यहीँ बिजय पराजय हो। भाउजु, परिभाषा र भन्नै सकिन चलचित्रहरुको निर्देशन गरे। यीमध्ये आफूलाई चित्तबुझेको चलचित्र परिभाषा हो। तर सर्वाधिक चलेको भनेको चाहीँ भाउजु हो।
आफूले गरेको काम यसरी अहिलेसम्म अरुले सम्झिदाँ निकै खुशी लाग्छ। यो स्वभाविक कुरा हो। हेरक चलचित्रमा आफ्नोपन भने झल्किनुपर्छ। हामीले भन्ने त आफ्नै कथा त हो। अरुको कथा भनेर यहाँ मतलब छैन। यसको कुनै अर्थ नै छैन। जब हामीले सिनेमामा आफ्नो कुरा भन्न सक्छौँ तब मात्र त्यो सिनेमाले पहिचान पाउँछ। हामीले यहाँ अरुसँग तुलना गरेर अरुको जस्तै भन्न थाल्यौ भने त्यहाँ आफ्नो गुम्न थाल्छ।
पहिलेदेखि नै चलचित्र पत्रकारितामा आबद्ध थिए। त्यहीँ भएर चलचित्रको बारेमा धेरथोर ज्ञान थियो। कथाका पात्रहरुसँग पनि राम्रो चिनजान भएकाले चलचित्रको निदेर्शन गर्न त्यति समस्या भएन। कुनै नौलो काम गरे जस्तो महशुस नै भएन। तर फिल्म क्षेत्रमा यहाँसम्म आईपुग्छु भन्ने सोचेको थिइन। नाटक लेखन र अभिनय पहिलेदेखि नै गर्दै आएको थिए। यसले पनि फिल्म क्षेत्रमा सर्पोट ग-यो।
हामीले अझै पनि नेपली चलचित्रको क्षेत्रमा काम गर्न बाँकी छ। चलचित्र विकास बोर्डको स्थापना भएको छ। बोर्डले चलचित्रको बजार बिस्तारको क्षेत्रमा पनि काम गरिदिए हुन्थ्यो। यहीँ क्षेत्रमा अहिले पनि लागी रहनुभएका साथीहरुलाई बजार बिस्तारको काम गरिदिनु अनुरोध गर्छु। किनभने बजार बढ्नु भनेको सिनेमा आफै राम्रो हुनु हो।
(नागरिककर्मी ज्योति श्रेष्ठले निर्देशक शलभसँग गरेको कुराकानीमा आधारित)
प्रकाशित: ११ कार्तिक २०७६ ०२:५४ सोमबार