काठमाडौं – अध्याँरो कोठाको स्टेजमुनि बसेका युवा पुस्ताहरू कथा सुन्न आतुर थिए। लाईटले केन्द्रित गरिएको स्टेजमा आफ्नो कथा सुनाउँदै थिइन्, अभिनेत्री शिल्पा मास्के। द स्टोरी यलर्सले आयोजना गरेको कार्यक्रममा उनी आफ्नो असफलताले भरिएको जीवनलाई सकारात्मक सोचका कारण सफलतातर्फ मोड्न सफल भएको प्रेरणादायी कथा सुनाउँदै थिइन्।
मोडलिङदेखि नेपाली फिल्मको यात्राको कथा सुनाउँदा दर्शकहरू भावुक देखिए। सन् २००८ मा उच्च शिक्षाको लागि लन्डन पुगेकी उनको संघर्षको कथा बल्ल सुरू भएको थियो। ‘कमाई र पढाईलाई आधार मानेर नेपाली समाजले मानिसको मूल्यांकन गर्छ। विदेशमा खटिएर गरेको दुःखलाई वेवास्ता गरेर पैसाचाँहि टन्नै कमाइयो होला नि ? भनेर व्यंग्य गर्छ,’ उनी भन्दै थिइन्,‘विदेशमा बाँच्नको लागि दुःख गर्नुपर्ने हुन्छ। भर्खर १६–१७ वर्षको उमेरमा विदेश जाँदा दुविधा धेरै हुने गर्छ। बेलायतमा डान्स सिकेका घण्टाको २५–३० पाउन्ड पथ्र्यो।’
आफन्तको सल्लाहअनुसार चार्टर्ड एकाउन्टेंट पढेकी उनले लन्डनको महंगो जीवनशैलीमा आफ्नो डान्स गर्ने रहर भने त्याग्न सकिनन्। बेलायतको पाँच वर्षको बसाईले उनलाई जीवनप्रति जिम्मेवार बनायो। सन् २०१३ मा नेपाल फर्किएलगत्तै फिल्ममा सक्रिय भइन्। ‘सुटिङ एन एलेफेन्ट’ नामक सर्ट फिल्ममा बर्मेली युवतीको भूमिका उनले निर्वाह गरिन्। ‘ब्रेकअप’, ‘कागजपत्र’ र ‘सानो मन’ फिल्ममा अभिनय गरिसकेकी उनले हलिउडको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ मा समेत अभिनय गरेकी छन्। ‘लन्डनमा एक्टिङ एजेन्सीहरु जोइन गरें। हलिउडमा ब्याकग्राउन्ड आर्टिस्टको रुपमा काम गर्न थालेँ। ‘डक्टर स्ट्रेन्ज’ भन्ने ठूलो फिल्म बन्न लागेको थियो। अडिसनबाट छनोट भएको थिएँ। त्यसले मलाई एक्टिङप्रति लाग्न प्रेरित गरेको थियो,’ उनले भनिन्।
‘डक्टर स्ट्रेन्ज’ को ४५ सेकेन्डको रोलको लागि उनले पाँच महिना रिहर्सल गरिन्। मार्सल आर्ट्सदेखि धेरै कुरा सिकिन्। स्टोरी यलर्सले विगत दुई वर्षदेखि विभिन्न कलाकारहरूलाई प्ल्याटफर्म दिइरहेको छ। ‘यसमा विभिन्न वर्गका मानिसहरू सहभागी हुने गरेका छन्। सबैले आ–आफ्नो कथा सुनाउने गरेका छन्। ती कथाहरूले युवा पुस्तालाई प्रोत्साहन गर्न भन्ने आशा गरेका छौं,’ आयोजक स्टोरी यलर्सका निर्देशक प्रशान्त ताम्राकार भन्छन्।
प्रकाशित: १० श्रावण २०७६ ०२:०६ शुक्रबार