रौतहट– सर्लाही, रौतहट र बाराको स्थानीय भाषाको रुपमा रहेको बज्जिका भाषाको प्रथम राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ। बज्जिका साहित्य संगम रौतहटले गढीमाई नगरपालिकाको सहयोगमा आयोजना गरेको कार्यक्रममा सर्लाहीका छन्दकवि सञ्जय सुदामाले प्रथम स्थान हासिल गर्दै २१ हजार रुपैयाको पुरस्कार, प्रमाणपत्र र विभिन्न पुस्तक पनि हात पारेका छन्।
गढीमाई प्रथम राष्ट्रिय बज्जिका कविता प्रतियोगिता नाम दिइएको कार्यक्रममा दिनबन्धु साहले द्वितीय स्थानसहित १५ हजार, सन्जय महतो राजले तृतीय स्थानसहित ११ हजार र अनिशा यादव तथा अमित सहनीले ७/७ हजार रुपैयासहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
विजेतालाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै पूर्वसभासद कृष्णप्रसाद यादवले संगठित भएर मातृभाषाको विकासमा लाग्न सबैलाई आह्वान गरेका छन्। गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूण गढीमाई नगरपालिकाले पहिलोपटक राष्ट्रिय बज्जिका प्रतियोगिताको आयोजन गरेर ऐतिहासिक कामको आरम्भ गरेको बताएका छन्।
चर्चित पत्रकार चन्द्रकिशोरले बज्जिकाको चेतना विकासको लागि अन्य विभिन्न अभियानको थालनी गर्न ढिलाइ गर्न नहुने बताएका छन्। मेयर यादवले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
प्रकाशित: ११ जेष्ठ २०७६ १३:०५ शनिबार