५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अस्ताए ‘कामना’का पुष्करलाल

काठमाडौं – सिने पत्रिका ‘कामना’को प्रकाशनसँगै नेपालमा व्यावसायिक रूपमा चलचित्र पत्रकारिताको सुभारम्भ गर्ने पत्रकार पुष्करलाल श्रेष्ठको बुधबार बिहान ११ बजेर ४९ मिनेटमा ६० वर्षको उमेरमा निधन भएको छ।

पाँच महिनादेखि अस्वस्थ रहँदै आएका कामना न्युज पब्लिकेसनका संस्थापक तथा प्रधानसम्पादकसमेत रहेका श्रेष्ठको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। पब्लिकेसनबाट ‘कामना’ मासिकसहित ‘नेपाल समाचारपत्र’ दैनिक र ‘साधना’ मासिक प्रकाशन हुन्छ।
पब्लिकेसनद्वारा बुधबार जारी विज्ञप्ति अनुसार करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो।

‘त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गए’, विज्ञप्तिमा उल्लेख छ, ‘स्वास्थ्य स्थितिमा समस्या बढ्दै गएका कारण उहाँलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरियो। नर्भिक अस्पतालमा केही दिनको उपचारका क्रममा चिकित्सकहरूले उहाँलाई जीबीएस भाइरसको संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर ग-यो।’

पब्लिकेसनका अनुसार मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि श्रेष्ठलाई उक्त भाइरसको संक्रमणबाट मुक्त गराएर काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गराएर चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो।

कामना प्रकाशन भएपछि कलाकारको पनि हौसला बढेको थियो। यो पत्रिकालाई अहिले पनि धेरै नाम चलेका पत्रकारहरूले पत्रकारिताको पाठशाला नै मान्छन्।

पुष्करलालले २०४१ साल मंसिर १५ गते पूर्ण रूपमा चलचित्रका गतिविधिलाई समेटेर ‘कामना’ पत्रिका प्रकाशनमा ल्याएका थिए। नेपालको पहिलो चलचित्र पत्रिकाका रूपमा ‘सिनेमा’ प्रकाशन गरिए पनि व्यावसायिक पत्रिका प्रकाशनको श्रेय ‘कामना’लाई नै जान्छ। पत्रिका ‘कामना’ अघि ‘रंगमञ्च’, ‘आराधना’, ‘प्रिया’, ‘सिनेमा संसार’, ‘नयाँ सन्देश’, ‘मधुरस’, ‘पुकार’, ‘परिवर्तन’, ‘ममता’ जस्ता मनोरञ्जनमूलक पत्रिका प्रकाशन भए पनि यी पत्रिकाले निरन्तरता पाउन सकेका थिएनन्। पुष्कारलालले आफु प्रकाशक र विजय उदय पाल्पालीलाई सम्पादक बनाएर ‘कामना’ प्रकाशन गरेका थिए। तर पत्रिकाको दुई अंक प्रकाशन पछि पाल्पाली पत्रिकाबाट अलग्गिँदा सम्पादक र प्रकाशकको जिम्मेवारी पुष्करलाल आफैंले लिए।

‘कामना’ पत्रिकामा २०४२ सालदेखि २०४५ सालसम्म पत्रकारिता गरेका अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरको बुझाईमा नेपालमा चलचित्र पत्रकारितालाई स्थापित गराउने ‘कोशेढुंगा’ नै ‘कामना’ थियो। ‘त्यो समयमा चलचित्रका गतिविधिलाई समेटेर समाचार दिने पत्रिकाहरू पनि थिए। तर कामना जस्तो दीर्घकालिन समय नियमित निस्किरहने पत्रिका आएनन्’, तुलाधरले सम्झिए, ‘कामना प्रकाशन भएपछि कलाकारको पनि हौसला बढेको थियो। यो पत्रिकालाई अहिले पनि धेरै नाम चलेका पत्रकारहरूले पत्रकारिताको पाठशाला नै मान्छन्।’
पत्रकार श्रेष्ठ सन् १९९४ मा लायन्स क्लब अफ विशालबजारले आयोजना गरेको नेपालकै पहिलो फिल्म कम्पिटिसनको सल्लाहकार र संयोजक पनि थिए। उनी सन् १९८७ मा आयोजना भएको ‘कामना साँझ’ र ‘कामना अवार्ड’को आयोजक थिए। उनकै अगुवाईमा फिल्म क्षेत्रमा सक्रिय कलाकार, संगीतकार सम्मिलित पहिलो ‘इन्टरटेनमेन्ट सकर’को कार्यक्रम पनि गरिएको थियो। पुष्करलालसँग ‘नेपाल फिल्म फेस्टिभल’, ‘टेलिफिल्म अवार्ड’ र ‘फष्ट भिडियो फिल्म फेस्टिभल’मा जुरीको अनुभव पनि थियो।

पुष्करलाल पत्रकारिता, फिल्म र सामाजिक विषयबस्तुसँगै खेलकुदका गतिविधिमा पनि उत्तिकै चासो राख्थे। उनले आरसीटि, अन्नपूर्ण क्लबलगायतका फूटबल क्लबबाट ‘ए’ डिभिजन फूटबल पनि खेलेका थिए। उनी नेपाली फिल्मसँगै अन्य विभिन्न संस्थाका सल्लाहकार पनि थिए। पुष्करलालले नेपाल मिडिया सोसाइटीको पनि नेतृत्व लिएका थिए।

अन्तिम श्रद्धाञ्जलीका लागि परिवारजनले पुष्करलालको शवलाई राजधानीको न्यूरोडस्थित भुगोलपार्कमा राखेका थिए। जहाँ सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, फिल्मकर्मी, पत्रकारलगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए।

नेपाली काँग्रेसले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पत्रकारिताको क्षेत्रमा संलग्न श्रेष्ठको निधनले सिंगो सञ्चारजगतमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ। ‘नेपाल समाचार पत्रिकाका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुःखीत बनाएको छ। स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पु-याउनु भएको थियो।

उहाँको निधनबाट सञ्चार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपुरणीय क्षति पुगेको छ’, पार्टी सभापति शेरबहादुर देउवाको भनाई उदृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु। साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’ पुष्करलालको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। उनलाई जेठा छोरा दीरेकलालले दागबत्ति दिएका थिए। उनको परिवारमा तीन छोरा र एक श्रीमति छन्।

प्रकाशित: ५ वैशाख २०७६ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App