काठमाडौं – संगीत साधनाका विभिन्न कोणहरूबाट आफुलाई हुर्काउँदै आएका गायक एवं संगीतकार आभास लामो अन्तरालपछि गत शुक्रबार ‘पलेँटी श्रृंखला’मा सोलो प्रस्तुत भएका छन्। ‘पलेँटी श्रृंखला’कै संयोजकसमेत रहेका उनकै स्वरबाट आधुनिक नेपाली संगीतको कार्यक्रम नेपालयले करिब डेढ दशकअघि सुरु गरेको थियो।
कार्यक्रममा आभासले १७ वटा गीत प्रस्तुत गर्दा १३ वटा उनको आफ्नै संगीत र ४ वटा आफ्नै शब्दका थिए। ‘यसपटकको पलेँटीमा म आफुले हिँडेको सांगीतिक गोरेटोको सम्झना गर्नेछु,’ कविसमेत रहेका आभासले आफ्ना गीत सुनाउनु अघि भने, ‘अहिले नेवारी भाषाका महाकवि गिरिजाप्रसाद जोशी मेरा अंग्रेजीको गुरु हुनुहुन्थ्यो। जसको सामिप्यतामै ममा साहित्य र संगीतको विरुवा पलाएको थियो।’
उनका अनुसार कक्षा कोठामै गीत गाएर विद्यार्थीहरूलाई रमाइलो बाँड्ने गिरिजाले नै आभासलाई छिमेकी गाउँ साँखुमा हुने ‘दबु प्याखँ’ मा पु¥याएका थिए। ‘पञ्चायती राजनीतिका हस्ती जोगमेहर श्रेष्ठको विपरित धारमा उभ्याउने गिरिजा सरकै देनले पछि मलाई बामपन्थी राजनीतिसँग नजिक्याएँ’, उनले सम्झे, ‘त्यसैले मलाई कालान्तरमा राल्फा र संकल्पका संघर्षशील संगीतसँग नजिक्यायो। भूमिगत नेताहरूको आउजाउ हुने नरदेवीको एउटा डेरामा अचानक भेटिएका मञ्जुल र रामेशसँगै मेरो संगीतका साथमा सामाजिक–राजनीतिक यात्रा पनि अघि बढ्यो।’ यो विषय सुनाउनु अघि आभासले मञ्जुलको शब्दमा रामेशले तयार पारेको गीत ‘कार्यशील जिन्दगी’ सुनाए।
त्यसपछि आभासले ‘संकल्प’हुँदै ‘आस्था परिवार’ सम्मका सहयात्राको चर्चा गर्दा मञ्जुल र रामेशको अगाध मित्रतादेखि उनीहरूको सम्बन्धमा आएको पहिरोसम्मका सन्दर्भ छुटाएनन्। आभासले चन्द्र भण्डारीको शब्द र संगीतमा तयार भएको ‘भुइँकुहिरो’ गीत सुनाउँदै गर्दा अम्बर गुरुङले आफुलाई ‘संगीत नै विपश्यना हो’ भनेको स्मरण गरे। केही समय विपश्यना बसेर फर्किएका आभासले ‘गोधुँलीमा हिँड्ने एउटा जिउँदो मान्छे’ बोलको गीत लेखे। अम्बरलाई संगीत सिकाउने गुरु मात्र नभई जीवनलाई ढाड्स दिने अभिभावक पनि मान्ने आभासले आफ्नो रचना रहेको गीत ‘आँसुले यो मन बहकिन्छ’ सुनाए।
आभासले गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको स्मरण गर्दै कवि विक्रम सुब्बा शब्दमा रहेको गीत ‘बतासले तलाउमा टेकिदेलाकि’ सुनाए। उनले फत्तेमानकै निम्ती कवि तीर्थ श्रेष्ठको रचनामा ‘रातको सपना बाँकी हुन्न’ र बानिरा गिरीको रचनामा ‘हिजोआज सँधै सँधै’पनि गाए।
कार्यक्रमको अन्त्यमा आभासले बालगीतहरूतर्फ आफूलाई मोडेका थिए। ‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ’का सर्जक आभासले पछिल्लो समय नयाँनयाँ ४० वटा बालगीतसमेत तयार पारेको खुलाए।
कार्यक्रमको अन्त्यमा ‘दुगुर दुगुर एक कुहिरा’ बोलको गीत गाएर बीट मारे। कार्यक्रममा कवि तथा गीतकारहरू मञ्जुल, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, विप्लब प्रतीक, भीष्म उप्रेती, रवि प्राञ्जललगायतको उपस्थिति थियो। कार्यक्रममा आभासलाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएकाथिए। आभाससँगको पलेँटी आइतबारसम्म जारी रहनेछ।
प्रकाशित: १७ चैत्र २०७५ ०६:१५ आइतबार