२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

संस्कृतिको अन्तरद्वन्द्वमा ‘माङ्गेना’

काठमाडौं - पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिको संस्कृति हो, च्याब्रुङ नाच र धान नाच। लिम्बू जातिको प्रमुख बाजा च्याब्रुङको ‘च्याङ धुङ च्याङ’को तालसँग उनीहरू च्याब्रुङ नाच नाच्छन्। धान नाचमा ‘पालाम’को भाकासँगै तरुनी÷तन्नेरीहरू एकअर्काको हात समाउँदै नाच्ने चलन छ। तर पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावसँगै पूर्वी नेपालको लिम्बू समुदायमा यी दुई नाच विरलै देखिन्छन्।

लोप हुँदै गएको यही संस्कृतिलाई कलाकारको एक समूहले नाटक ‘माङ्गेना’मार्फत देखाएका छन्। राजधानीमा जारी ‘दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा हालै मण्डला थिएटरमा मञ्चन गरिएको यो नाटकमा च्याब्रुङ नाच र धान नाच संस्कृति देखाइएको हो। नाटकको शुरुवात ‘पालाम’को सुमधुरतासँगै च्याब्रुङको धुनबाट सुरु हुन्छ। नाटकको कथा अनुसार चासोक तङ्नाममा लाग्ने मेलामा हाङ्हाङ र सिङ्जाङको भेट हुन्छ। शिक्षित दुवै पात्रको संस्कृति संरक्षणमा चासो हुन्छ। एकापसमा चिनाजानीका यी दुई पात्र साइनो नलाग्ने भएपछि धान पनि नाच्छन्। बिस्तारै दुईबीच माया बढ्दै जान्छ। एकै जातका हाङ्हाङ र सिङ्जाङले लिम्बू समुदायकै प्रतिनिधित्व गर्छन्। एकै जातको भए पनि उनीहरूबीच धर्म मिल्दैन। हाङहाङका काका समयक्रमसँगै विकास भएर आएको सेवासाम्बा (सत्यहाङ्मा) धर्म मान्छन्। त्यही कारण उनी शाकाहारी हुन्छन्। सिङ्जाङको परिवार भने मौलिकवादी हुन्छ।

जातीय छुवाछुतका बारेमा तयार पारिएको नाटकले लिम्बू समुदायको प्रतिनिधित्व गर्छ। यो नाटकले एउटै जातिमा भए पनि त्यहाँभित्र भएको धार्मिक विभेदलाई देखाएको छ।

प्रेममा लिप्त दुई पात्र जसरी पनि विवाह गरेरै छाड्ने अवस्थामा पुग्छन्। सिङ्जाङले भेट भएको वर्षदिन पछि चासोक तङ्नाममा घरमा माग्न आउन निम्तो गर्छिन्। तर केटाको काका सिङ्जाङको विपक्षमा उभिन्छ। किनकी काका परम्परावादीलाई घृणा गर्छन्। हाङहाङको लामा प्रयासपछि काका आफ्नै परम्पराअनुसार स्याउ र सुन्तला दिएर सिङ्जाङको हात माग्न तयार हुन्छन्। सिङ्जाङ र उसको दाजु काङ्सोरे काका सुब्बा कहाँ बसेका हुन्छन्। उनीहरूसँग काकाकी छोरी मिक्साङ पनि हुन्छे। उनको नजिकैका दर्जी बाजेको नाती पञ्चेसँग प्रेम हुन्छ। सिङ्जाङका काका मौलिकवादी भए पनि केही सहज हुन्छन्। तर उनका दाजु काङ्सोरे भनै निकै मुर्ख हुन्छन्। मुर्खताकै कारण आफ्नो जात र धर्मभन्दा बाहिरको केटोलाई बहिनी दिन तयार हुँदैनन्। बहिनीलाई सम्झाइरहँदा एकदिन सेवा सम्बा धर्मअनुसार नै बहिनी माग्न हाङ्हाङ काका र तुम्बा(बढाबा)सहित आउँछ।

‘माङ्गेना’को अर्थ शिर उठाउने हो। कसैको शीर झुक्ने काम वा व्यवहार गरेमा कुखुराको भालेसहित शिर उठाउने चलन छ। जातीय छुवाछुतका बारेमा तयार पारिएको नाटकले लिम्बू समुदायको प्रतिनिधित्व गर्छ। यो नाटकले एउटै जातिमा भए पनि त्यहाँभित्र भएको धार्मिक विभेदलाई देखाएको छ। नाटकमा लिम्बू समुदायको धर्म र संस्कारबीचको द्वन्द्वलाई देखाएको छ। नाटकले अन्तरजातीय विभेदलाई मात्र देखाउन खोजेको छैन। यसले लिम्बू समुदायमा विभेद नहुने र लिम्बूको ‘मुन्धुम’ले सबैलाई स्वीकारर्छ भन्ने पनि देखाएको छ। लिम्बूको ‘मुन्धुम’ले कसैलाई विभेद नगर्ने भन्दै मिक्साङ र पञ्चेले पनि समाजमा बाँच्न पाउनुपर्छ भन्ने सुब्बाको उदारताले प्रष्ट्याएको छ।

इलामको चुलाचुली रंगमञ्चले निर्माण गरेको नाटकको निर्देशन चेतन आङ्थुपोले गरेका हुन्। नाटकमा दुई अर्थी शब्दको प्रयोग व्यापक छ। गाउँमा कुनै औपचारिक तालिम बिना नाटक सिकेका कलाकारहरूले अभिनय कलालाई खारेर बाहिर निकाल्न सकेका छैनन्। कलाकारले कतिपय सम्बाद बोल्ने क्रममा घोकेरै आएजस्तो सुनिन्थ्यो। त्यसैले कथा उत्कृष्ट भएपनि नाटक केही खल्लो देखिन्थ्यो। ‘हामीले अहिलेको नाटक देखाउन धेरै संघर्ष गरेका छौं’, निर्देशक आङ्थुपोले भने, ‘गाउँमा कलाकार पाउनै मुस्किल छ। यी कलाकार पनि धेरै टाढाबाट भेला गरेका हौं।’लिम्बू समुदायका पुराना पुस्ताको लवज अन्य जातिको भन्दा फरक छ। पुस्तान्तरणका कारण पछिल्लो समय युवाहरूबाट लिम्बू लवज कमै मात्र आउँछ। नाटकमा लिम्बू समुदायका पुराना पुस्ताको लवज पनि प्रयोग गरिएको छ। तर कलाकारले यसलाई राम्रो रूपमा देखाउन सकेका छैनन्।

जितेन पन्धाकद्वारा लिखित नाटकमा गोमा योङ्हाङ, जेम्स लिम्बू, दीपेश धिमाल, रमिता राई, दुर्गा फागो, केशवबहादुर भुजेल, हेमकुमार जवेगु, सञ्जय लामगादे र प्रविन मगरले अभिनय गरेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App