५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

उज्जैनमा नेपाली कला प्रदर्शनी

काठमाडौं – कालीदास र राजा विक्रमादित्यको सहर भनेर चिनिने भारतको उत्तर प्रदेशको ऐतिहासिक सहर उज्जैनमा नेपाली कलाकारहरूले चित्रकला प्रदर्शनी गरेका छन्। नेपालबाट त्यहाँ पुगेका नौजना कलाकारहरूको समूहले आफुसँगै लिएर गएका आफ्ना तथा अन्य कलाकारहरूले सिर्जनालाई उज्जैनको क्लब फनकार आर्ट ग्यालरीमा प्रदर्शन गरेका हुन्।

काठमाडौंस्थित मिठिला येँ आर्ट ग्यालरी र स्थानीइ क्लब फनकार आर्ट ग्यालरीले ‘इन्टरनेसनल फ्रेन्डसिप ग्रुप आर्ट एक्जिबिसन २०१९’ शीर्षकमा संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीमा नेपालबाट विभुषण ताम्राकार, जया शर्मा, श्यामसुन्दर यादव, उपकार घमाल, मन्जु खड्का, सुन्दर श्रेष्ठ, किशोर नकर्मी, प्रकाश मानन्धर र कान्छाकाजी भासिमा सहभागी थिए।

प्रदर्शनीमा सहभागिता नजनाए पनि नेपाल ललितकला प्रतिष्ठानका कुलपति केके कर्माचार्य, प्राज्ञहरू मिथिलादेवी यादव, प्राज्ञ सदस्य रमेश खनाल र सुष्मा राजभण्डारीसहित विक्रम प्रजापति, विनोद के गुप्ता, विपना महर्जन, डिराम पाल्पाली, उत्तम डंगोललगायतका कलाकारहरूका चित्र पनि प्रदर्शन गरिएको थियो।

प्रदर्शनीमा नेपालबाहेक भारतका सन्जिदा र संजय, फ्रान्सका ग्रेवी भिसेन्ट, मेक्सिकोका जर्ज पलासिस, इन्डोनेसियाका एन्टोनिअस खो, जर्मनीका पिटर हार्गेट तथा बंगलादेशका साइफुल चरुका चित्र पनि राखिएका थिए।

नेपालबाट सहभागी विभुषणले चित्रकलासहित बोतलभित्र सिन्काको प्रयोगले बनाइएको सिंहदरबार, जयाले डिजिटल पेन्टिङ, श्यामसुन्दरले मिथिला कला, उपकारले दुबै हातले बनाएको लक्ष्मीप्रसाद देवकोटा, मञ्जुले प्रिन्ट मेकिङ, सुन्दरले पानी रंगबाट बनाएको परम्परागत पौवा, किशोरले बनाएको परम्परागत बुद्ध, प्रकाशले बनाएको हराउँदै गएको नेपालको परम्परागत बस्ती, बजार र स्तुपा, कान्छाकाजीले बनाएको नेवारी जात्राको बाजालाई प्रदर्शनमा राखिएको थियो।

सहभागी कलाकारहरूले मानिसहरू प्रकृतिसँग खेलबाड गरेर प्रकृतिको वास्तविक रंगहरू बिस्तारै हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। सहभागी कलाकारहरूले तैल, एक्रोलिक, पानी रंगबाट सिर्जना गरेका पौवादेखि डिजिटल चित्रसम्म प्रदर्शन गरेका थिए। गत फागुन ५ देखि ९ गतेसम्म चलेको उक्त प्रदर्शनीकाबीच नेपाल र भारतका सहभागी कलाकारहरूको कार्यशाला पनि भएको थियो।

कार्यशालामा कलाकारहरूले बनाएका चित्रलाई केही समयभित्रै प्रदर्शनीमा राखिने क्लब फनकारले जनाएको छ। प्रदर्शनीको उद्घाटन उज्जैनस्थित विक्रम विश्वविद्यालयका कुलपति प्रोफेसर बालकृष्ण शर्माले गरेका थिए। उद्घाटनमा भारतका अग्रज चित्रकारहरू अक्षय आमरिया, बज्र खरे, मुकेश बिजोली, महावीर वर्मा र डाक्टर आरपी शर्मा सहभागी थिए।

प्रकाशित: १० फाल्गुन २०७५ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App