१६ चैत्र २०८० शुक्रबार
कला

धागोमा बेरिएर बौद्धनाथ स्तुपा परिक्रमा

काठमाडौं - बौद्ध धर्मावलम्बी र पर्यटकहरूको घुइँचो हुने राजधानीको बौद्धनाथ स्तुपामा आइतबार ऊनीको रंगीचंगी धागोले बुनेको १३ सय ३६ मिटर लामो डोरी लिएर कलाकार र सर्वसाधारणहरू कोरा (परिक्रमा) गरिरहेका थिए। कलामा विभिन्न प्रयोग गर्ने चित्रकार मनिषलाल श्रेष्ठले तयार पारेको ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलाअन्तर्गत करिब चार सय सर्वसाधारण बौद्धस्थित तारागाउँ म्युजियमदेखि बौद्धनाथ स्तुपासम्म कोरा गरी पुनः तारागाउँ फर्किएका थिए।

‘१३३६ मिटरको डोरी लिएर कोरा गर्ने क्रममा विभिन्न समुदायका मानिसहरूले साथ दिएका थिए। स्कुले विद्यार्थीदेखि विभिन्न उमेर समूहका मानिसहरू मिलेर १३ सय ३६ मिटर लामो डोरी बोकी विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपा कोरा गरे’, मनिषलालले भने। कोरामा सिद्धार्थ आर्ट ग्यालरीकी क्युरेटर संगीता थापा, कलाकारहरू विधाता केसी, कपिलमणि दीक्षित, रविराज लामा र सुजन डंगोल, अरुणिमा स्कुल, समता स्कुल, किब्स, सिर्जना कलेज अफ फाइन आर्ट र ललितकला क्याम्पसलगायतका विद्यार्थीहरू सहभागी थिए। तारागाउँ म्युजियमका क्युरेटर रोशन मिश्रको ‘अब्जेट इन फोकसः वान अब्जेट, वान आर्टिस्ट, वान आइडिया’ थिमअन्तर्गत ‘प्रोजेक्ट १३३६’ प्रदर्शन भएको थियो। यो प्रदर्शनी बेलायतस्थित ब्रिटिस म्युजियमको रुम थ्रीमा आधारित थियो।

म्युजियमका क्युरेटर मिश्रका अनुसार नेपाली कलामा ‘प्रोजेक्ट १३३६’ नयाँ प्रयोग हो। ‘ग्यालरीमा एउटामात्र वस्तु राखेर प्रदर्शन गर्ने र त्यसको विषयमा अवलोकन गर्न आउने मानिसहरूसँग छलफल गर्ने यो शैली नेपालमा नयाँ हो। प्रदर्शनको क्रममा सर्वसाधारणले उक्त कला छुन पाएनन्। म्युजियमलाई हामीले काठमाडौंजस्तो बनाएका थियौं’,उनले भने,‘यस किसिमको कला प्रदर्शनीलाई तारागाउँ म्युजियमले निरन्तरता दिनेछ।’

ग्यालरीमा एउटामात्र वस्तु राखेर प्रदर्शन गर्ने र त्यसको विषयमा अवलोकन गर्न आउने मानिसहरूसँग छलफल गर्ने यो शैली नेपालमा नयाँ हो।

गत माघ १८ देखि बौद्धस्थित तारागाउँ म्युजियममा सुरु भएको ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला प्रदर्शनीमा राजधानीको विभिन्न समुदायको प्रतिनिधित्व गर्दै तयार भएका कला प्रदर्शन गरिएका थिए। परबाट हेर्दा मोटो डोरीजस्तो देखिने प्रतिस्थापन कलामा चित्रकार श्रेष्ठले करिब ६० जना महिलाहरूले रंगीबिरंगी ऊनीको धागोलाई जोडेका थिए। यो कलात्मक धागोले समुद्री सहतबाट काठमाडौंको उचाइको प्रतिनिधित्व गरेको थियो। ‘यो प्रतिस्थापन कलाले समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौंको प्रतिनिधित्व गरेको छ’, मनिषले भने, ‘नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र जनजातिको संस्कृति र परम्परालाई एकताको धागोले बाँध्ने प्रयास गरिएको छ।’

एकताको सूत्रका रूपमा कलाकार श्रेष्ठले धागोलाई प्रयोग गरेका छन्। काठमाडौंका गल्लीहरूमा हिँड्दा उनले महिलाहरूले धागोबाट कपडा बुन्दै गरेका देख्थे। उनले त्यही स्मृतिहरूलाई संगाल्दै यो प्रतिस्थापन कलाको सोच फुरेको खुलाए। ‘काठमाडौंको विभिन्न गल्लीहरूमा महिलाहरू कुराकानी गर्दै कपडाहरू बुन्ने रोचक शैली मलाई मनपथ्र्यो। यो कला मैलेमात्र तयार गरेको होइन। मलाई करिब ६० जना महिलाहरुले रंगीविरंगी धागो बुन्न सघाएका थिए।’

एक अर्काको विचार आदानप्रदान गर्ने यो शैली अन्तर्गत चित्रकार श्रेष्ठले धागोमा कपडा र त्यसभित्र कपास प्रयोग गरेका थिए। सन् २०१७ मा करिब चार महिना लगाएर तयार गरिएको ‘प्रोजेक्ट १३३६’ यसअघि काठमाडौं आर्ट ट्रेनाको क्रममा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेका थिए । त्यसबेला करिव तीन सय सर्वसाधारणले माइतीघर मण्डलामा उक्त ऊनले तयार गरेको डोरी लिएर परिक्रमा गरेका थिए । चित्रकार श्रेष्ठका अनुसार ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला अष्ट्रेलिया, चीन र युरोपका विभिन्न शहरमा प्रदशन गरिनेछ।

प्रकाशित: २९ माघ २०७५ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App