काठमाडौं – खेन्जा (कोट), टागी (टोपी) जस्ता मौलिक भेषभुषामा सजिएका तामाङ युवायुवतीहरू डम्फु नाच नाचिरहेका थिए। लामा समुदाय जातीय पहिरनमा माक्पा र झुंबा, लिम्बू समुदाय धान नाच (च्याब्ब्रुङ नाच) प्रस्तुत गरिरहेका थिए। धामी झाक्रीहरूले बजाएको ढ्याङ्ग्रोको आवाज पनि कम लोभ लाग्दो थिएन। यो दृश्य काठमाडौंको टुँडिखेलमा मंगलबार देखिएको राष्ट्रिय सोनाम ल्होसारको थियो।
नेवार समुदायले ज्यापु महागथि नाच प्रदर्शन गर्दा तामाङ युवतीहरूले स–साना नाङ्लोमा रातो रंगले ‘सो’, ‘नाम’, ‘ल्हो’, ‘सार’ लेखिएको अक्षरलाई शीरमाथि राखेका थिए। विभिन्न जातजातिले मौलिक पहिरनमा सजिएर स्टेजमा पालैपालो नाच प्रस्तुत गर्दा दर्शक रमाएका थिए। यो वर्ष सबै जातजातिको मौलिक संस्कृतिलाई समेटेर नेपाल तामाङ घेदुङले टुँडिखेलमा राष्ट्रिय सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाएको हो।
घेदुङका महासचिव बाबु घिसिङले सबै जातिको पहिचानलाई समेटेर ‘राष्ट्रिय सोनाम ल्होसार २८५५’ तथा ‘तामाङ सांस्कृतिक महोत्सव’ गरिएको बताए। ‘सबै जातिको मौलिक झाँकी र संस्कृति प्रदर्शन गर्नको लागि कार्यक्रमको आयोजना गरेका हौं’, उनले भने, ‘तामाङ समुदायको मात्र नभई यो नेपालीको साझा चाड हो। त्यसैले हामीले राष्ट्रिय सोनाम ल्होसार भनेर देशभर मनाएका छौं।’ उनले प्राचीन कालदेखी नै यो पर्व मनाउँदै आएकोले तामाङको मुख्य चाड ल्होसारलाई लिने गरेको बताए। ‘यो पर्वको प्राकृतिक र सांस्कृतिक महत्व रहेको छ। हामीले आजदेखि नयाँवर्षको रूपमा मनाएका छौं’, उनले भने।
सबै जातिको मौलिक झाँकी र संस्कृति प्रदर्शन गर्नको लागि कार्यक्रमको आयोजना गरेका हौं। तामाङ समुदायको मात्र नभई यो नेपालीको साझा चाड हो। त्यसैले हामीले राष्ट्रिय सोनाम ल्होसार भनेर देशभर मनाएका छौं।
उनका अनुसार नयाँवर्ष लागेपछि रूखहरूको मुना र पातहरू पलाउँछन। ल्होसारमा माघी पर्वको जस्तै प्राकृतिक फल आलु, तरुल जस्ता अन्नपातहरू खाने गरिन्छ। बालीनालीहरू थन्क्याएपछि यो पर्व शुरु हुन्छ। त्यसैले यसलाई प्रकृतिमा आधारित पर्व पनि भनिन्छ। तीन दिनसम्म यो पर्व मनाउने गरिन्छ। नयाँवर्षको पहिलो दिन मौलिक परिकार बनाई आफन्तहरूमा बाँडेर खाने गरिन्छ।
ल्होसारको दिन बिहानै नुहाईधुवाई गरी पूजापाठ गरेर प्रसाद ग्रहण गरिन्छ। ‘माइती चेलीलाई टिका लगाएर दक्षिणा दिन्छौं’, उनले भने, ‘पाहुना आवतजावत गरिन्छ। आर्शिवाद र शुभकामना आदानप्रदान हुन्छ।’ तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ। आजकै दिन लामा गुरु तथा घरमुलीबाट विभिन्न मन्दिर र घरमा पूजापाठ गर्ने गर्दछन्।
मञ्जुश्री पात्रो अनुसार आजदेखि कुकुर वर्ष पुरा गरी सुगुर वर्ष प्रवेश हुन्छ। यो २८५५औं सोनाम ल्होछार हो। मञ्जुश्री पात्रो सुरु भएको २८५५ औं वर्ष भएकोले सोनाम ल्होसार पनि त्यति नै वर्ष रहेको र ल्होसार मनाएको आयोजक बताउँछन्।
सरकारले ल्होसारको अवसरमा प्रदेश ३ मा सार्वजनिक बिदा दिए पनि कुनै कार्यालयहरू भने बन्द नभएकोमा घेदुङका अध्यक्ष मोहन गोलेले गुनासो गरे। ‘सरकारले बिदा गरेपनि कुनै कार्यालय बन्द छैनन्। सरकारले हाम्रो बिदा कटौती गरेको छ। यसलाई पुनरावलोकन गरिएन भने हामी सिंहदरबार घेर्न बाध्य हुनेछौं’, उनले भने। कार्यक्रममा शान्तिबाटिका, रत्नपार्क र भृकुटीमण्डपमा विभिन्न जातिका संस्थाहरूले र्याली निकालेका थिए। कार्यक्रममा तामाङका विभिन्न मौलिक परिकारहरू समेत प्रदर्शनको लागि राखिएको थियो।
प्रकाशित: २३ माघ २०७५ ०३:०५ बुधबार