५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

काठमाडौं - राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्।  हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। 

अर्का कलाकार सागर मानन्धरले ललितपुरस्थित अगेनोमा एकल चित्रकला प्रदर्शनी गरेका थिए। चार दिन चलेको उक्त प्रदर्शनीबाट उनले ३ लाख हाराहारीका चित्रकलाहरू नेपाली चित्रकलाका पारखीहरूलाई बिक्री गरेका थिए।  चित्रकला भनेको ग्यालरीमा प्रदर्शनी गर्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किएर नेपाली कलाकारहरू विभिन्न रेस्टुरेन्ट र होटलमा आफ्नो चित्रकलाहरू प्रदर्शन गर्न थालेलगत्तै राजधानीवरपर चित्रकला पारखीहरूको संख्या तुलनात्मक रूपमा बढेको छ। 

‘राजधानी वरपर सीमित संख्यामा रहेका आर्ट ग्यालरीहरू सञ्चालनमा छन्। चलेका ग्यालरीमा चित्रकला प्रदर्शन गर्न महिनौ कुर्नुपर्ने अवस्था छ। फेरि आर्ट ग्यालरीमा कला बुझेका मानिसहरू मात्र जान्छन् भन्ने मान्यता छ। त्यसले नयाँ विकल्प र कला पारखीहरूको खोजी गर्ने क्रममा राजधानी वरपरको होटल र रेस्टुरेन्टहरूको स्पेसमा आफ्नो चित्रकला प्रदर्शन गरिरहेका हौं,’ केसीले भनिन्, ‘अहिले आममानिसले चित्रकला बुझ्न थालेका छन्।’

राजधानीमा सञ्चालन भइरहेका नेपाल आर्ट काउन्सिल, सिद्धार्थ आर्ट ग्यालरी, एम क्युब र पार्क ग्यालरीलगायतमा नियमित प्रदर्शनी हुने गरेका छन्। कलाकारहरूले चित्रकला प्रदर्शनका लागि दलाई–ला आर्ट स्पेस, जिजी मचान, यल मण्डल, विकल्प आर्ट ग्यालरी , मोक्ष, अगेनो र टंगालहुड म्युजिक आर्ट ग्यालरी क्याफेलगायतलाई नयाँ विकल्पका रूपमा प्रयोग गरिरहेका छन्। 

दलाई–ला आर्ट स्पेसमा विधाता केसी, एरिना ताम्राकार, मनीषलाल श्रेष्ठ र सन्ध्या सिलवालले आ–आफ्नो चित्रकला प्रदर्शनी गरिसकेका छन्। हाल चित्रकार आशा डंगोलको चित्रकला प्रदर्शनी भइरहेको छ। चित्रकलाबारे खासै जानकारी नभएका मानिसहरू होटलमा खानपिन गर्न पुगेको बेला चित्रकला हेर्ने माहोल सिर्जना भएको छ। 

कलाकार सागर मानन्धरका अनुसार कलाकारहरूका लागि चित्रकला प्रदर्शन भनेको महोत्सवजस्तो हो। ‘ग्यालरी र रेस्टुरेन्ट तथा होटलमा बिक्री हुने चित्रकलामा खासै फरक हुन्न। अधिकांश ग्यालरी बुक हुने गरेका छन्। कलाको महत्व जहाँ पनि हुन्छ। अहिले आममानिसले चित्रकला बुझ्न कलाकारहरूसँग निरन्तर अन्तक्र्रिया गरिरहेका हुन्छन्,’ उनले भने, ‘केही वर्षअघिसम्म हाम्रा चित्रकला बिदेसिने गर्थें। अहिले भने नेपालीहरूले हाम्रो चित्रकला किन्ने गरेका छन्।’

चित्रकला भनेको ग्यालरीमा प्रदर्शनी गर्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किएर नेपाली कलाकारहरू विभिन्न रेस्टुरेन्ट र होटलमा आफ्नो चित्रकलाहरू प्रदर्शन गर्न थालेलगत्तै राजधानीवरपर चित्रकला पारखीहरूको संख्या तुलनात्मक रूपमा बढेको छ। 

चित्रकला प्रदर्शनीका लागि चर्चित सिद्धार्थ आर्ट ग्यालरीले चित्रकला बिक्रीको ४० प्रतिशत सेयर लिने गरेको छ। ‘कलाकारहरूका लागि ग्यालरी र नयाँ विकल्पका रूपमा फस्टाइरहेको रेस्टुरेन्ट र होटलको स्पेसहरू फाइदाजनक छ। अझ रेस्टुरेन्ट र होटलमा पुग्न मानिसहरूले चित्रकलाहरू किन्न थालेका छन्। व्यक्तिगत चिनजानका आधारमा कलाकारहरूले यस्ता स्पेस प्रयोग गरिरहेका छन्। नेपाली चित्रकलाको महोल बढाउने यो ट्रेन्डले साथ दिएजस्तो देखिए पनि रेस्टुरेन्ट र होटलहरूले चित्रकला बिक्री भएपछि कसिनस नलिने हो भने बल्ल कलाको प्रवद्र्धन गरेको हो भन्न सकिन्छ,’ आर्ट क्युरेटर रोशन मिश्रले भने। 

सन् २००१ मा कलाकार र रेस्टुरेन्ट सञ्चालकहरूले एकले अर्काको कामलाई प्रोत्साहन गर्न ललितपुरस्थित लसुन नामक रेस्टुरेन्टमा यस किसिमको प्रदर्शनको सुरुवात गरेको कलाकारहरू बताउँछन्। त्यसको केही वर्षपछि यो ट्रेन्ड हराएको थियो। सन् २००६ मा भने राजधानीको होटल अन्नपूर्णले डेकोरेसनका लागि मात्र यस ट्रेन्डलाई पूर्णता दिने प्रयास गरेपछि कलाकारहरू पछि हटेका थिए। यसबेला जात्रा र लाजिम्पाट ग्यालरी क्याफे यसलाई निरन्तरता दिएपछि बन्द भएको थियो। पछिल्ला वर्षमा भने कलाकार र होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूको सहकार्यमा फेरि यो ट्रेन्ड फस्टाउँदै छ। 

‘आर्ट ग्यालरीमा आम मानिसहरू जाँदैनन्। रेस्टुरेन्ट र होटलमा खानपिनका लागि जाने आममानिसहरूले हाम्रा चित्रकला हेर्न थालेका छन्। घर शृंगारका लागि उनीहरूले चित्रकला किनेर लगिरहेका छन्। ‘यो कलाकारहरूलाई आफ्नो कला प्रदर्शन र प्रवद्र्धन गर्न नयाँ विकल्पका रूपमा फस्टाइरहेको छ,’ चित्रकार आशा डंगोलले भने। नयाँ विकल्पका रूपमा आएका अधिकांश रेस्टुरेन्ट र होटलहरूले तुलनात्मक रूपमा कम शुल्क लिने गरेका छन् भने केहीले निःशुल्कजस्तो गरिदिएका छन्। 

अहिले आममानिसले नेपाली कलाकारहरूको चित्रकलालाई १५ देखि ५० हजारसम्म तिरेर किन्ने गरेका छन्। दुई वर्षअघि ललितपुरको जिजि मचानबाट सुरु भएको यो ट्रेन्ड बिस्तारै फस्टाउँदै गएको छ। 

प्रकाशित: १ माघ २०७५ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App