काठमाडौं - ‘म तपाईंहरूकै छोरी, दिदीबहिनी हुँ। म यसरी नै बाँच्न चाहन्छुु’, तेस्रोलिंगी भूमिका श्रेष्ठले यसो भनिरहँदा उनकी आमा नुमाया श्रेष्ठका आँखा अनायासै रसाए। पुरुष अस्तित्वबाट नारी अस्तित्वमा रूपान्तरण हुँदाको संघर्षका दिनमा एक अभियन्ता, मोडल, मिस पिंक अनि नायिका हुँदै आत्मकथाको लेखक बनेकी भुमिकाको छलाङ्को खुशी नुमायाको आँखामा प्रष्ट देखिन्थ्यो। छोरा कैलाश जन्मिदा उनले त्यही छोरा भूमिकाका रूपमा आफ्नो पहिचान बनाउनेछिन् भन्ने नुमायाले सोचेकी पनि थिइनन्। नामसँगै बदलिएको भूमिकाको लैङ्गिक पहिचान समाजले अस्विकार गर्दा आमाले सहजै स्विकार्न पाउने अवस्था थिएन। छोरी बनेर फर्किएकी भूमिकालाई घर निकाला गर्दा नुमायाका आँसु पनि रोकिएका थिएनन्।
शुक्रबार भूमिकाको आत्मकथा ‘भूमिका’ सार्वजनिक भइरहँदा नुमाया विगत सम्झिइरहेकी थिइन्। कैलाश हुँदै भूमिका भएको कथालाई प्रस्तुत गरिएको आत्मकथा सहभागीको हातमा परेपछि मात्र अधिकांशले वास्तविक भूमिकाको पहिचान राज्यले नदिएको महशुस गरे। पुस्तक सार्वजनिक भइरहँदा भूमिकाले दुई पटक पाएको नागरिकतामा उनी ‘भूमिका’ नभई ‘कैलाश’ नै लेखिएको थाहा पाए।
संविधान र कानुनले दिइसकेको तेस्रो लिङ्गीको पहिचान हात पार्न नसक्दाको पीडा भूमिकालाई उस्तै छ। त्यही पीडाकै बीच पुस्तक सार्वजनिक भइरहँदा निकै मुस्कुराइन्। आफ्नो जन्मदिनको अवसर पारेर आत्मकथा सार्वजनिक गरिरहँदा उनको खुशीमा आमा नुमाया, पूर्व ‘मिस नेपाल’ माल्भिका सुब्बा, नायिका रेखा थापा, नायक रमेश उप्रेती र नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले साथ दिए।
केक काटिइरहँदा उनले जन्मदिने आमा नुमाया र कर्मदिने आमा पिंकी गुरुङका अघि रामायणको एक कथा सुनाइन्। ‘त्रेतायुगमा राम वनवास् जाँदा उनलाई छोड्न गएका रैतीलाई रामले भनेछन्, ‘नरनारी सबै फर्केर जानुहोस्। वनवास्पछि म फर्केर आउँछु’। राम वनवास्बाट फर्केर आउँदा अझै केही व्यक्तिहरू नदी किनारमै देखेर सोधेछन्, ‘तपाईंहरू यहाँ बसिरहनु भएको छ ?’, भूमिकाले भनिन्, ‘हजुरले नर र नारी फर्केर जानुस् भन्नुभयो। हामी किन्नरलाई फर्केर जान भन्नु भएन। त्यसैले यही पर्खेर बस्यौं’ भन्ने जवाफ आएपछि रामले लाज मानेर माफी माग्नुपरेको थियो। पौराणिक कालमै हाम्रो पहिचानको सम्बोधन थियो। अहिले किन हामीलाई सम्बोधन गरिन्न ?। समाजमा महिला र पुरुषको पहिचानका कुरा आउँदा हामीजस्तो तेस्रो लिङ्गीको पनि पहिचान हुनुपर्छ।’
तेस्रोलिंगीलाई हेरेर, पढेर र सुनेर मात्र नभई मनन् गरेर पनि बुझ्न जरुरी छ। हामी पनि सृष्टिको सिर्जना हौं। आफ्नै किसिमले योगदान दिइरहेका छौं।
उनले आत्मकथामा आफ्नो र आफ्नो समुदायको समस्या राखेको उल्लेख गरिन्। पूर्व ‘मिस नेपाल’ सुब्बाले भूमिकाको आत्मकथा तेस्रोलिंगी समुदायको लागि नयाँ आयाम भएको जनाइन्। ‘एलजीबिटीआइ समूहका लागि विवाह त वैद्य छैन’, उनले भनिन्, ‘पार्टनर भएर बसेकाले मृत्यु हुँदा मलामीसमेत जान नपाउने अवस्था छ।’
तेस्रोलिंगी समुदायमा ‘एल’ भन्नाले लेस्बियन अर्थात महिलाले महिलासँगै सम्बन्ध राख्न मन पराउने, ‘जी’ भन्नाले ‘गे’ अर्थात पुरुष र पुरुष तथा महिला–महिलाबीच सम्बन्ध राख्न मन पराउने, ‘बि’ भन्नाले बायसेक्स अर्थात महिला र पुरुष दुबैसँग सम्बन्ध राख्न मन पराउने, ‘टि’ भन्नाले ट्रान्स जेण्डर जन्मदा छोरा पछि छोरी बनेर खुल्ने अनि जन्मदा छोरी पछि छोरा बनेर खुल्ने, ‘आई’ भन्नाले अन्तरलिङ्गी अर्थात छोरा वा छोरी भनेर छुट्याउन नसकिने यौनिक समुदाय भन्ने बुझिन्छ।
नायिका रेखाले इतिहास बनाउने नायकहरूका लागि समय कठिन हुने भन्दै भूमिकालाई हौस्याइन्। ‘मैले कहिल्यै उनलाई कैलाश भनेर चिनिनँ। उनलाई चिन्दा भूमिका भनेर चिनें’, नायिका थापाले भनिन्, ‘यसले के भन्ला। उसले के भन्ला भनेर सुनेको भए भूमिका आज यहाँ हुने थिइनन्।’ भूमिकालाई नकारात्मक दृष्टिकोणले कुरा काट्ने दर्शक अझै रहेपनि भूमिका आफ्नो समुदायको हिरो भइसकेको थापाले बताइन्। नायक रमेशले भूमिकाको संघर्ष र आँटको सराहना गरे। ‘लिङ्गले केही फरक पार्दैन। उसको भूमिका समाजमा कस्तो छ। त्यसले फरक पार्छ’, उनले भने।
पुस्तकका समीक्षक पत्रकार अश्विनी कोइरालाले भूमिकाको आत्मकथाभित्र संस्कृत साहित्य र पूर्वीय साहित्यको मिश्रण रहेको उल्लेख गरे। उनले अमेरिकामा एक सयवर्ष पहिले आफ्नो पहिचानका लागि संघर्ष गरेका जर्ज जगर्सन र नेपालकी भूमिकाको संघर्ष उस्तै रहेको दाबी गरे। ‘गुफा बस्न मनपर्ने भूमिकालाई कैलाश बनाएर ब्रतबन्ध गरिदा कस्तो भयो होला’, कोइरालाले भने, ‘त्यस्तै धेरै तेस्रोलिंगीहरू के चाहन्छन् र के भइरहेको छ भन्ने कथा भूमिकाभित्र छ।’
नीलहिरा समाजकी अध्यक्ष गुरुङले रत्नपार्कमा पहिचान खोज्दै हिडिरहेको कोपिला कैलाश आज भूमिका बनेर फूलेकामा खुशी व्यक्त गरिन्। उनले आत्मकथामा हरेक तेस्रोलिंगीको कथा भेटिने बताइन्। ‘तेस्रोलिंगीलाई हेरेर, पढेर र सुनेर मात्र नभई मनन् गरेर पनि बुझ्न जरुरी छ’, उनले भनिन्, ‘हामी पनि सृष्टिको सिर्जना हौं। आफ्नै किसिमले योगदान दिइरहेका छौं।’
प्रकाशक घोष्ट राइटिङ नेपालका कमल ढकालले ‘भूमिका’ एउटा पुस्तकमात्र नभएर जीवन र त्यो वर्गको भूमिकाको विमोचन भएको बताए। पुस्तकका सम्पादक पदम श्रेष्ठले संविधान र कानुनमा हक दिएपनि त्यसको अनुभव तेस्रोलिंगीले गर्न नपाएको जनाए। उनले किरातमा मेटी, पश्चिम नेपालमा सिंगारु, मगरमा मारुनी, तराईमा मौगिया, हिमालमा फुलुमुलु भनेर पारम्परिक पहिचान दिएको खुलाए। श्रेष्ठले पहिचानसहितको नागरिकता, रोजगारी, समावेशीमूलक सहभागिता र विभेदको अन्त्य नै तेस्रोलिंगीको समस्याको समाधान रहेको औंल्याए। विश्वका केही देशमा समलिङ्गी विवाहले मान्यता पाएपनि जर्मन, इजरायल, अरबमा यसलाई अवैध मानिन्छ। त्यस्तो गरेमा मृत्युदण्डदेखि काराबासको सजायसमेत तोकिने अध्ययनहरूले समेत देखाएको छ।
प्रकाशित: ३० पुस २०७५ ०४:५० सोमबार