काठमाडौं - कसैको मृत्यु उसका आफन्तका लागि पीडादायी हुन्छ। किनकी उसको मृत्युमा आफन्त बिलौना गर्छन्। तर स्वयं मृत्युका लागि मृत्यु कस्तो होला ? यो कल्पना भन्दा बाहिरको कुरा हो। मृत्युको यो भोगाई केबल मृत्युलाई मात्र थाहा हुन्छ। राजधानीको नयाँवानेश्वरस्थित थापागाउँमा रहेको कुन्ज थिएटरमा आइतबार अलिक फरक दृश्य देखियो। अनुहारमा कालो र सेतो रंग पोतेर कालो वस्त्रमा देखिएका दुई महिला र दुई पुरुष आफूलाई ‘मृत्युको कामदार’का रुपमा चिनाउँदै नाचिरहेका थिए।
नेपाली समाजमा मान्छे मरेपछि उसलाई यमराजका दुत अर्थात यमदुत आउँछन् भन्ने भनाई छ। यस्तै शैलीमा प्रस्तुत भएका उनीहरू मानिसको मृत्युलाई कुरिरहेका थिए। त्यही कुराइमा उनीहरू कराउँथे, नाँच्थे अनि पृथ्वीमा आउनुको उद्देश्य बर्बराउँथे। दर्शक शान्त भए पनि उनीहरू शान्त थिएनन्।
यो दृश्य नेदरल्याण्डकी कारो दी फिज्टरले निर्देशन गरेको नाटक ‘मृत्युका कामदार’को हो। तत्सम् आर्टले मञ्चन गरेको यो नाटकलाई आठ चरणमा एक दिने कार्यशाला गर्दै झण्डै १० दिनमा तयार पारिएको हो। ‘प्लेयिङ विथ फायर’ शीर्षकमा गरिएको कार्यशाला गत अक्टोबर २६ देखि डिसेम्बर २१ सम्म भएको थियो।
नाटकको शुभारम्भ जीवन नामक पात्रले गरेका थिए। राता स्याउका चित्र अंकित सेतो कोट लगाएका उनको मुखमा स्याउकै चित्र कोरिएको थियो। हातमा स्याउसहितको टोकरी बोकेर घुमिरहेका जीवनले आफुलाई स्याउ मान्दै दर्शकलाई एक–एकवटा स्याउ बाँडे। ‘म उभिएको स्याउ हुँ। म अहिले जीवित छु। तर म जमिनमा परेपछि म जीवित रहन्नँ’, उनी स्याउ बाँड्दै गर्दा यही संवाद बोलिरहे।
हाम्रो देशको मृत्यु संस्कारभन्दा यहाँको मृत्यु संस्कार फरक रहेछ। यहाँ मान्छे मरेपछि पशुपतिमा लगेर जलाइदो रहेछ। गाईजात्रा पनि मरेकै मान्छेको सम्झनामा गरिँदो रहेछ।
उनी बोलिरहँदा उनको पछाडि बसेका दुई पुरुष पात्र मौन रूपमा एकअर्कालाई हेरिरहेका थिए। आफ्ना संवादलाई बिट मार्दै जीवन मौन दुई पुरुष पात्रमध्ये एक पात्रको पछाडि अडेस लागेर उनलाई माया गरेझैं देखिन्थे। तीन पात्रको फरक शैली दर्शकले हेरिरहँदा स्टेजको कुना–कुनाबाट आफुलाई मृत्युका कामदार बताउने तीन अनुहार निस्किए। फरक–फरक गतिविधि गर्दै स्टेजमा देखिएका उनीहरू मृत्युलाई आफ्नो पर्याय मान्थे। ‘हामी जीवित मान्छे खोजिरहेका छौं। किनकी हामी मृत्युसँग रमाउँछौं’, एक पात्रले यसो भनिरहँदा अर्का पात्रले ‘अहिले समाज राजनीतिक, सामाजिक, आर्थिकलगायतका कारण विभाजित बन्दै गएको छ। त्यसको असर जनतामा परेको छ। त्यही असरले बढेको द्वन्द्वले हामीलाई फाइदा पुर्याएको छ’ भन्दै रिसाहा अनुहार देखाइरहेका थिए।
यी मृत्युका पात्रको संख्या एक पछि अर्को गरेर बढिरहँदा मौन दुई पात्रहरूको संवाद शुरु भयो। जीवन र मृत्युका विषयमा बहस गरिरहँदा खानका लागि बाँचेका एक पात्रले स्याउ खाए। उनले स्याउ खाइरहँदा स्याउ नखाने अर्का पात्रलाई एक मृत्यु पात्रले अंगाल्यो। यो दृश्य चलिरहँदा बाँकी मृत्यु पात्र चाहिँ मृतक पात्रको अन्तिम संस्कार गर्न बाँसको हारो, कात्रोलगायतका सामाग्री जुटाउन लागे। मृतकलाई हारोमा राखेर अन्त्येष्टि गर्ने तयारी भइरहँदा सेतो पहिरनमा देखिने पात्रले आफुलाई जीवित मानिसका रूपमा चित्रण गर्दै शव उठाउने संस्कार पुरा गरेपछि मृत्युका कामदारले शवलाई उठाएर लगे। सँगैको साथीको शव गइरहँदा उसको जीवित साथी मौन बसेर हेरिरहेको थियो। यो दृश्यसँगै नाटक पनि सकिएको थियो।
निर्देशक कारोले नेपालमा मृत्युपछिको संस्कार आफुलाई अनौठो लागेर मृत्युका विषयमा नाटक रोजेको खुलाइन्। ‘हाम्रो देशको मृत्यु संस्कारभन्दा यहाँको मृत्यु संस्कार फरक रहेछ। यहाँ मान्छे मरेपछि पशुपतिमा लगेर जलाइदो रहेछ। गाईजात्रा पनि मरेकै मान्छेको सम्झनामा गरिँदो रहेछ’, उनले भनिन्, ‘पशुपति केन्द्रमा भए पनि यस वरीपरी धेरै मान्छे घुम्दा रहेछन्। यही कारणले पनि मलाई मृत्युका विषयमा नाटक बनाउन मनलाग्यो।’
तत्सम्का दीपेश पौडेलले नाटकलाई बसन्तपुरस्थित डबलीमा मञ्चन गर्ने तयारी भइरहे पनि सम्बन्धित निकायको अनुमति पखिईरहेको बताए। नाटकमा सुन्दर लामा, योगेश लिम्बु, रोनी श्रेष्ठ, आकांक्षा जिसी, परासर वाग्ले, सरोज पौडेल, सुमन कोइराला, सिद्धार्थ पुडासैनी र सिमान्त पुडासैनीको अभिनय रहेको थियो। नाटकमा गीतारिष्ट दिवस श्रेष्ठले संगीत दिएका थिए।
प्रकाशित: ३० पुस २०७५ ०४:४५ सोमबार