१० आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी प्रदर्शनी हुँदै

नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिएका नेपाली कन्टेम्प्रोरी कला प्रदर्शनी। सो प्रदर्शनी पहिलोपटक अस्ट्रियाको राजधानी भियनास्थित वाल्ट म्युजियममा प्रदर्शन हुन लागेको हो।  तस्बिर : साईन सुनुवार रसैली

काठमाडौं - संसारभरिका कलाहरूको केन्द्र मानिने भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी कला प्रदर्शनी हुँदैछ। कन्टेप्रोरी कलामा काम गरिरहेका ३७ नेपाली कलाकारद्वारा तयार पारिएका ९० वटा आधुनिक कला पहिलोपटक अस्ट्रियाको राजधानी भियनास्थित वाल्ट म्युजियममा प्रदर्शन हुन लागेको हो। 

वाल्ट म्युजियमका निर्देशक क्रिस्टियन सिकरग्रुबर, स्वर्गीय डिना बाङ्देल र नेपाल आर्ट काउन्सिलकी स्वस्ती राजभण्डारी कायस्थको संयुक्त पहलमा आगामी अप्रिल ११ देखि नोभेम्बर ५ सम्म भियनाको वाल्ट म्युजियममा आधुनिक नेपाली कलाहरूको प्रदर्शन हुनेछ। 

आधुनिक नेपाली कलाअन्तर्गत मिक्स मिडियाहरू अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक प्रदर्शन हुन लागेको नेपाल आर्ट काउन्सिलकी स्वस्ति राजभण्डारी कायस्थले जनाएकी छन्। 

‘नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा पु-याउन सकिन्छ भन्ने लागेर पहल गरेका थियौं। नयाँ कलाहरू अन्तर्राष्ट्रियस्तरमा पुग्नुपर्छ भनेर प्रदर्शनीमा जुटेका हौं,’ उनले भनिन्, ‘आधुनिक नेपाली कला प्रवद्र्धनका लागि यो प्रदर्शनी महत्वपूर्ण हुनेछ।’ यसअघि नेपाल आर्ट काउन्सिलले नेपाली कलाकारका कलालाई भारतमा सम्पन्न अन्तर्राष्ट्रिय आर्ट फेयरमा सहभागिता गराएको थियो। ‘निरन्तर तीन वर्ष भारतको आर्ट फेयरमा सहभागी हुँदा नेपाली संस्कृतिमा केन्द्रित हाम्रा कला तुलनात्मक रूपमा अरूभन्दा नौलो भएको महसुस भएको थियो। त्यसले हामीलाई अझ फैलिन प्रोत्साहित गरेको थियो।’

सन् २०१५ मा सिंगापुरमा आयोजित चित्रकला प्रदर्शनीको दौरान वाल्ट म्युजियमका निर्देशक क्रिस्टियन सिकरग्रुबर र डिना बाङ्देलबीच सहकार्यको लागि छलफल भएको थियो। सन् २०१७ मा नेपाली क्युरेटर डिना बाङ्देलको निधन भएपछि कायस्थले यस प्रदर्शनीका लागि जोडेकी थिइन्। प्रदर्शनीमा परम्परागतदेखि मिथिला कला, धातु कला र मूर्ति कलालगायतहरू राखिनेछन्। ‘हामीले नेपाली कलाको परिभाषा गर्ने केही कलालाई प्रयोगात्मक शैलीमा देखाउने भएका छौं।’

उनले दुई महिना लगाएर कलाकारहरूको स्टुडियोबाट विभिन्न नेपाली कन्टेम्प्रोरी कला संकलन गरेकी थिइन्। सिद्धार्थ आर्ट ग्यालरी, वीरेन्द्र शाही, पृथ्वी पाण्डेलगायत अधिकांश कला कलाकारका स्टुडियोहरूबाट कला संकलन गरिएको थियो। प्रदर्शनीमा लैनसिंह बाङ्देल, शशिविक्रम शाहीदेखि रागिनी उपाध्याय, मनोजबाबु मिश्र र समुन्द्रमान सिंहलगायतका कलाकारका कला प्रदर्शनीमा राखिनेछन्। अन्तर्राष्ट्रिय दर्शकलाई नेपाली कन्टेम्प्रोरी आर्टबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको हो। कलाका लागि प्रसिद्ध मानिने भियनामा सामाजिक विषयवस्तुमाथि कला प्रदर्शनी नहुने हुँदा नेपाली कला प्रदर्शनी महत्वपूर्ण रहेको वाल्ट म्युजियमले जनाएको छ। 

‘ऐतिहासिक कला र संस्कृतिका लागि नेपाल विश्वसामु परिचित छ। यो मान्यतालाई परिवर्तन गरेर विश्वसामु हामी नेपाली कन्टेप्रोरी कलालाई पहिचान गराउन लागिपरेका छौं,’ प्रदर्शनीको संयोजक नेपाल आर्ट काउन्सिलका सागर शमशेर जबरा राणाले भने, ‘सुरुमा ८० कलाकारका कला समेट्ने भनिए पनि पछि घटाएर ३७ कलाकारका ९० कला प्रदर्शनमा सहभागी गराउन लागिएको हो।’ प्रदर्शनीमा भाग लिन जाने सात कलाकारलाई नेपाल इन्भेस्टमेन्ट बैंकले टिकटको व्यवस्था गरिदिएको छ। 

नेपाल आर्ट काउन्सिलमा ती कलाहरूको पूर्वप्रदर्शनी भइरहेको छ। डिसेम्बर १३ मा सुरु भएको प्रदर्शनी आगामी २१ तारिखसम्म चल्नेछ। 

प्रकाशित: ५ पुस २०७५ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App