७ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

मिक्लाजुङमा पुस्तक मेला

मोरङ– विद्यार्थीको पठन संस्कृति विकास गर्ने उद्देश्यले मोरङको उत्तरी भेग मिक्लाजुङस्थित टाँडी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। राष्ट्रगानका लेखक व्याकुल माइलाको हातबाट बिहीबार उक्त पुस्तकालय उद्घाटन गरिएको छ।  

पुस्तकालयमा विभिन्न विषयका दुई हजार पुस्तक संग्रहित छन्। त्यही विद्यालयमा पढेका कवि हेमन यात्रीको सक्रियतामा मुलुकभरका कवि÷लेखकबाट संकलित पुस्तक पुस्तकालयमा राखिएको हो। ‘करिब डेढ लाख रुपैयाँ खर्चेर हामीले नयाँ पुस्तक पनि किनेका छौं’, यात्रीले भने, ‘लेखकहरूबाट प्राप्त पुस्तक समेत गर्दा करिब ६ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।’ 
देश÷विदेशमा बस्ने भाषा, साहित्यसँग निकट भएकाहरूबाट प्राप्त सहयोग रकमले पुस्तकहरु किनिएको हो। 

गाउँमा विद्यालयमा पुस्तकालय खुलेकामा प्रमुख अतिथि माइलाले खुशी प्रकट गरे। ‘पुस्तकालय खुल्नु आफैंमा सुखद खबर हो’, उनले भने, ‘यसबाट विद्यार्थीले बढी भन्दा बढी फाइदा लिन सकुन् भनेर शिक्षकहरूले उनीहरुलाई पढ्न प्रोत्साहित गर्नु पर्छ।’ उनले पुस्तकालयको संस्थागत रुपमा विकास गर्नु पर्नेमा जोड दिए। 

पुस्तकालयले विद्यार्थीलाई पाठ्य पुस्तक सहित बाहिरी ज्ञान लिन सजिलो हुने प्रधानाध्यापक अमृत कुमार राई बताउँछन्। उनले समयसँगै नयाँ नयाँ पुस्तक थप्दै जाने जानकारी दिए। 

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार चौधरीले पुस्तकालयलाई अपग्रेट गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

पुस्तकालय उद्घाटन सँगै विद्यालयमा मिक्लाजुङ गाउँपालिकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरिएको थियो भने कवि मनु मन्जिलले पठन संस्कृतिको महत्वको बारेमा प्रवचन दिएका थिए। 

‘जति धेरै किताब पढ्यो त्यति धेरै जीवनलाई परिमार्जन गर्न सकिन्छ’, मन्जिलले सुनाए, ‘मनको ढोका खोल्न पनि दिनदिनै पुस्तक पढ्नु पर्छ।’ 

कार्यक्रमका संयोजक पर्वत राईका अनुसार कविता प्रतियोगितामा अनुरा पौडेल पहिलो, सुबासना राई दोस्रो र सुस्मिता राई तेस्रो भएको थिए। उनीहरूले क्रमशः ५ हजार, ३ हजार र १५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी नलिना बास्तोलाले शान्त्वनास्वरुप पाँच सय रुपैयाँ प्राप्त गरिन्।

कार्यक्रममा स्थापित कविहरू प्रकाश थाम्सुहाङ, सन्जिब राई, सुन्दर कुरूप र देवान किराँतीले कविता सुनाएका थिए। त्यस्तै स्थानीय गायक नितेश राईले गीत गाएर माहौल तताएका थिए। 

प्रकाशित: २७ मंसिर २०७५ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App