३ असार २०८१ सोमबार
image/svg+xml
कला

‘हिरो’को सट्टा ‘फाइटर’

काठमाडौं – विद्यालय पढ्दाताका नै उनलाई फिल्मको ‘हिरो’ बन्ने भूत चढेको थियो । विद्यालयको पढाइपछि गाउँमा नै भिडियो फिल्म हेर्ने बानीले उनमा हिरो बन्ने रस पसिसकेको थियो । तर उनी फिल्ममा ‘हिरो’ बनेनन्, बरु फिल्मका ‘हिरो’ले ‘भिलेन’लाई र ‘भिलेन’ले ‘हिरो’लाई कसरी कुट्ने भनेर ‘टेक्निक’ सिकाउने फाइटर बने।

उनी अर्थात हिमाल केसी, अहिलेका व्यस्त द्वन्द्व निर्देशक । हिमालको पहिचान यतिमा मात्र सीमित छैनन् । उनी फिल्म निर्देशक पनि हुन् । पछिल्लो पटक रिलिज निखिल उप्रेती अभिनित फिल्म ‘पिँजडा ब्याक अगेन’को एक्सनकट हिमालले नै गरेका हुन् । ‘सानैदेखि भिडियो फिल्म हेर्ने बानीले ठूलो भएर हिरो बन्छु भन्ने सपना देख्थें । तर हिरो नभई हिरोलाई कुट्ने भिलेन बनें । भिलेन र हिरोलाई फाइट कसरी खेल्ने भनेर सिकाउने गुरु पनि भएँ,’हालैको भेटमा ४३ वर्षे हिमालले भने ,‘अहिले द्वन्द्व निर्देशक छु । जुन काममा आफू अब्बल भइन्छ । त्यही कामलाई नै निरन्तरता दिनुपर्ने रहेछ।’

द्वन्द्व निर्देशनमा झण्डै १५ वर्ष बिताइसकेका हिमालले भिडियो फिल्म ‘प्रेमदीप’बाट फाइटरका रुपमा ‘डेब्यु’ गरेका हुन् । भिडियो फिल्मबाट फाइटरका रुपमा आए पनि हिमाल २०५० सालमा फिल्म ‘प्रेमपूजा’बाट मुलधारको फिल्ममा  प्रवेश गरे । द्वन्द्व निर्देशक एनबी महर्जनसँगको भेटपछि भने हिमालको फाइटर करियरले टर्निङ प्वाइन्ट पायो । एनबीसँग लामो समय केयर टेकरसँगै फाइटरका रुपमा काम गरिसकेका हिमाललाई त्यही संगतले फिल्म क्षेत्रमा स्थापित गरायो । ‘मैले एनबी गुरुसँग झण्डै १४ वर्ष सहायक र फाइटरका रुपमा काम गरें,’हिमालले भने,‘उहाँको काम गर्ने तरिकाले मलाई धेरै ज्ञान दियो।’

फिल्म ‘नुमाफुङ’बाट द्वन्द्व निर्देशकको करियर सुरु गरे पनि आफूलाई फिल्म ‘मर्यादा’ले  व्यावसायिक फिल्मका द्वन्द्व निर्देशकका रुपमा दर्शक र फिल्मकर्मीमाझ चिनाएको उनको ठम्याइ छ।

हिमालले आफ्नो फिल्मी करियरमा झण्डै १ सय ९० नेपाली र ४० बढी भोजपुरी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् । ‘मैले फिल्ममा फाइटरका रुपमा काम गर्दा त्यो समयमा एक्सन फ्लेबरका फिल्ममा दर्शकको रुचि धेरै थियो । दर्शक धेरै फाइट भएका फिल्म हेर्न रुचाउँथे,’हिमालले विगत सुनाए,‘तर अहिले दर्शक फेरिएका छन् । उनीहरूको ध्यान फिल्मको फाइटभन्दा पनि अग्र्यानिक कथामा जान थालेको छ।’

उद्योगका लगभग सबै हिरोसँग काम गरेका हिमाललाई फाइटको ट्युनिङ मिल्ने अभिनेता भने निखिल उप्रेती लाग्छ । ‘किनकि उनी आफैंमा कुशल मार्सल आर्टस् खेलाडी हुन् । फाइटको सिक्वेन्स र ट्युनिङको विषयमा उनी जानकार छन्,’हिमालको बुझाइ छ,‘अन्य नायकमा फाइटको ज्ञान कमै  छ।’

२०३२ सालमा ललितपुरमा जन्मिएका हिमालको हजुरबुवा आर्मीका मेजर थिए भने बुवा विद्यालयका शिक्षक थिए । हजुरबुवा मेजर भएपछि नातिलाई पनि आर्मी नै बनाउन चाहन्थे । तर हिमालले फाइटरका गुरु बन्ने बाटो रोजे।

हिमालले ‘छविलाल कन्जुस छैन’, ‘नाइँ नभन्नू ल’, ‘बाजी’लगायतका फिल्ममा अभिनय कला देखाइसकेका छन् । निर्देशक शिव रेग्मीका १२ फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका हिमाल निर्देशक प्रदिप श्रेष्ठ, ज्ञानेन्द्र देउजा, दिनेश राउतसँग काम गर्न मन पराउँछन । उनले फिल्म ‘भैरव’, ‘के म तिम्रो होइन र’ र ‘रुद्र’बाट ‘उत्कृष्ट द्वन्द्व निर्देशक’को अवार्ड जितिसकेका छन् । ‘अवार्डले काममा नयाँ उत्साह थप्दो रहेछ । प्रत्येक वर्ष भइरहने अवार्डमा कुनै न कुनै फिल्मबाट अवार्ड पाइरहेको हुन्छु,’उनले भने,‘हाम्रा लागि यो अवार्ड मात्र होइन, एउटा सम्मान पनि हो।’

आफू द्वन्द्व निर्देशक भएकै कारण उनी फिल्ममा द्वन्द्व शिक्षाको आवश्यकता महसुस गर्छन् । त्यही कारण निखिलसँग मिलेर उनी एक्सन स्कुल खोल्ने योजना बनाइरहेका छन् । उनी तिहारपछि योजनालाई मूर्त रुप दिने तयारीमा छन्।

प्रकाशित: २९ कार्तिक २०७५ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App