काठमाडौं - बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।
बाल्यकालमा यसरी कोरिएका धर्सा भविष्यमा उम्दा कलाकृति बन्न सक्छन्। तर नेपाली समाजमा बालबालिकाका अबोध कृतिका बारेमा कसैले सोच्दैनन्। बालबालिकालाई किताबी किरा बनाइन्छ।
अर्को कोठामा तिनै मेसिन बनेका बालबालिकाले परिक्षा दिएका उत्तरपत्र भित्ता भरी सजिएका थिए। कतै ठिक त कतै बेठिकको चिन्हले उनीहरूको भविष्य निर्धारण गरिदै थियो। पढ्ने मेसिन बनेका किशोरहरू अब कता जाने मेसो नपाउँदा मनमा उठेका भावना कापी किताब जेमा भेटिन्छ त्यसैमा पोख्छन् । त्यही झल्को तेस्रो कोठाका चित्रले दिन्थे।
जे पोखेको छु त्यो म भित्रको अंग हो। शब्दले व्यक्त गर्न नसकेको भावना रंगले छताछुल्ल पार्न सकिनेरहेछ भन्ने बुझेको छु।
चौथो कोठमा पुग्दा त्यो बालक बयस्क भएर समाजमा अर्काको सिको गर्ने भैसकेको हुन्छ । अरुको सिको गर्दै उसले चुरोट पिउने, जस्ता अनेक लत अँगाली सक्छ। त्यसमा पनि सही गलत ठम्याउन नपाउँदै एक दिन उ मृत्युको शरणमा पुगिसकेको हुन्छ।
पाँचौ कोठा त्यही मृत्युको कोठामा त्यो बालबालिकाको सपना अध्याँरोमा जुनकिरी झैं धिपधिप बलिरहेको हुन्छ। उसलाई केही गर्ने चाहना र बहाना दुवैको खोजी गर्ने मन हुन्छ । तर मृत्यु त्यहाँ उसको तगारो बनेर आइदिन्छ। जीवनभरी रोबोट जस्तै यताउता गर्दा गर्दै थाकेको मान्छेले समयमै जीवन बुझ्न पायो भने के गर्ला ? यि सबै कोठाको अवलोकन गरेपछि हरेकको मनमा यही प्रश्न सिर्जना हुन्छ । यसको जवाफ भने अघिल्ला कोठमा जीवनको भाव भर्ने आनन्द शुभम्का चित्रले दिन्छन्। मृत्युको कोठापछिको फराकिलो अन्तिम कोठामा उनले जीवन बुझेपछिको सत्यलाई रंगाएका छन्।
‘बाल्यकालमा गरिने रोकतोकले उसको मन मस्तिष्कलाई सीमित पारिदिन्छ,’ उनले पहिलो कोठाका बालबालिकालाई देखाउँदै भने, ‘यहाँ हेर्नुस् त ती बालबालिका कसरी निस्फिक्री मनका कुरा पोखिरहेका छन्। तर जब उनीहरूलाई रोबोट बनाइन्छ त्यसपछि उनीहरूको क्षमता ह्रास हुँदै जान्छ।
उनले आफ्नै जीवनको भोगाइलाई पुनर्जन्मका रुपमा ‘उठान’मा सँगालेका छन्। मृत्युको कोठापछि जुन कलात्मताको प्रदर्शनी उनले गरेका छन्। त्यो उनको नयाँ जीवन यात्राको पहिलो पाइला बनेको बताए । सानैमा सैनिक विद्यालयमा पढेका उनले परिवारबाट एक्लै बसेर कठोरता बेहोरे। पछि माध्यमिक तहमा रातो बंगला स्कुलबाट एसएलसी पास गरेपछि अमेरिका पढ्न गए। तर त्यहाँ पनि उनी टिकेनन्। एउटा थिएटर कार्यक्रममा सहभागी भएपछि उनलाई लाग्यो पढिरहेका कुरा मिथ्या हुन् । सिर्जना त अन्तै छ। फर्केर नेपाल आएपछि उनी सन २००३ देखि १४ वर्ष तपोवनमा तपस्यामा बसे। त्यतिखेरको किशोर वयका उनी ३० वर्ष उमेर पुगेपछि बाहिरी संसारमा फर्किएका छन्। कलाको नयाँ आयाम बोकेका उनले कन्टेम्पोरेरी धारमा १४ वर्षभरी संकलन गरेका भाव पोखेका छन्। एक्रेलिक रंगमा उनले भर्खर चित्र कोर्ने थालेदेखि राम्रो गर्न खोज्दासम्मका शृंखला जोडेका छन्।
‘जे पोखेको छु त्यो म भित्रको अंग हो,’ उनले बताए, ‘शब्दले व्यक्त गर्न नसकेको भावना रंगले छताछुल्ल पार्न सकिनेरहेछ भन्ने बुझेको छु।’
उनका कलात्मक यात्रामा भूषिता वशिष्ठ, मिलन न्यौपाने, प्रसोंग रुप्चा, प्रशन्न शाह, रुबिना के.सी., निश्चल प्रधान, मिनुसा महर्जन, अकृत श्रेष्ट, सुगम सुवेदीले साथ दिएका छन्। उनीहरूले भित्तामा बनेका कलालाई नाटकीय रुपमा प्रस्तुत गरेका थिए।
तपोवनमा १३ वर्ष विताएकी भूषिता वशिष्ठ आत्मिक कलाको पक्षमा आनन्दको साथमा उभिएको उल्लेख गर्छिन्। ‘हामीले गाउँघरमा बनाएका कला कसैले सिकाएर बनेका होइनन्,’ उनले भनिन्, ‘देउसीभैलो र रत्यौलीमा गाएका गीत र बजाएका संगीत पनि कसैले सिकाएका हैनन् तर अहिले अरुले सिकाएका कला विकाउ बनेको छ जहाँ भाव हुन्न्।’ त्यस्तो पश्चिमा पूँजीवादी शैलीको कला हैन मानिसलाई मानिस बनाउने कलाको आवश्यकता रहेको उनको ठम्याइ छ। ‘हरेक मानिसले व्यक्त गर्ने फरक अभिव्यक्ति कला हो,’ उनले भनिन् ‘खरिद बिक्रि गर्ने कला हैन त्यो कलाको आवरणमा वस्तु हो जुन पैसासँग साटिन्छ।’ असोज २६ गते शुक्रबारसम्म चल्ने कला प्रदर्शनीमा एकसय बढी कलाकृति रहेका छन्।
प्रकाशित: २५ आश्विन २०७५ ०५:४७ बिहीबार