काठमाडौं– कलामा ‘स्वर्णकाल’का रुपमा लिइने लिच्छविकाल विशेषतः ढुंगाका मूर्तिका कारण चर्चित छ । प्राचीन नेपालको सम्पदा झल्काउने ती मूर्तिहरू कस्ता होलान् भन्ने कौतुहल आम मानिसमा छ।
यही कौतुहलता मेटाउन युवा कलाकार चन्द्रश्याम डंगोलले लिच्छविकालीन ढुंगे मूर्तिका प्रतिरुप बनाएका छन् । जसको प्रदर्शनी मंगलबारबाट राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको छ।
ललितपुरको खोकनामा जन्मिएका चन्द्र सानैदेखि मूर्तिकलामा आकर्षित थिए । उनले २५ वर्षे कलाकारितामा झन्डै हजार बढी ढुंगे मूर्ति तयार पारिसकेका छन् । ‘लिच्छिविकालीन मूर्ति बनाउने मेरो सानैदेखिको सोख हो । त्यही कारणले झन्डै आधा दशक बढी समयमा साथीहरुको सहयोगमार्फत प्रदर्शनीका मूर्ति तयार पारेको हुँ,’ चन्द्रले भने, ‘लिच्छिविकालीन समय आफैंमा कलाका लागि स्वर्ण युग हो । राम्रो शिल्पी र राम्रो सोच भएका मूर्ति यो समयमा निर्माण भएको पाइन्छ । त्यसकारण मैले पनि सकारात्मक सोच राखेरै लामो मेहनतका साथ मूर्ति तयार पारेको हुँ । मैले बनाएको मूर्ति हेरेर अहिलेको पुस्ताले पनि हौसला पाओस् भन्ने हो।’
‘इनहेरिटेन्सः दी ट्रेडिसनल स्टोन स्कल्पचर’ शीर्षकको उनको सोलो प्रदर्शनीमा १९ मूर्ति राखिएका छन् । प्रदर्शनीमा सिंह, सुकुण्डा, गणेश, छोर्तेन २, मञ्जुश्री, गरुणदर्शन विष्णु, लक्ष्मी, लोकेश्वर, कुवेर, बुद्ध जीवनी, स्तुपा ३, छोर्तेन १, पानस, छोर्तेन २, स्तुपा ५, बौद्ध, स्तुपा १, स्तुपा ४ र स्तुपा ३ मूर्ति छन् ।कलाकार चन्द्रका अनुसार तिब्बती शैलीको स्तुपा ‘छोर्तेन’ बनाउन उनलाई झन्डै वर्ष दिन लागेको थियो । उनलाई एउटा मूर्ति बनाउन अधिकतम १ वर्ष लाग्दा सबैभन्दा कम चाहिँ डेढ महिना लागेको रहेछ।
पहिला–पहिला ढुंगा खोजेर ल्याउँदा केही समस्या नभए पनि अहिले भने सरकारी अवरोध हुने गरेको खुलाए । ‘गिटी बनाउन ढुंगा ल्याउँदा सरकारले केही भन्दैन । तर मूर्ति बनाउन ढुंगा ल्याउँछुभन्दा चाहिँ त्यसमा रोकावट गर्छ,’ उनले गुनासो गरे, ‘त्यही ढुंगाको गिटी बनाउन कसैले केही नगर्ने तर मूर्ति बनाउँछुभन्दा चाहिँ अवरोध गर्छन् ।’चन्द्रले बनाएको १८ फिट लम्बाइको मैत्रेय बुद्धको मूर्ति बारामा प्रतिस्थापन गरिएको छ । उनकै सिर्जनाका रुपमा चोभारमा ३३ फूटको मञ्जुश्रीको मूर्ति राख्ने तयारी भइरहेको छ।
चन्द्रको प्रदर्शनीको शुभारम्भ गर्दै चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यिन मुन सङले चन्द्रको कलाले पुराना कुरा स्मरण गराएको बताए । ‘उहाँको कला हेर्दा मैले चीन सम्झिएँ । किनकि लिच्छिविकालदेखि नेपाल र चीनको सम्बन्ध राम्रो हुनुमा कलाको पनि महत्वपूर्ण हात छ,’ उनले भने, ‘उहाँका कला हेर्दा मैले त्यही लिच्छिविकालीन समयको स्मरण गरें ।’कलाकार तथा कला समीक्षक मदन चित्रकारले ढुंगाको मूर्ति बनाएर एकल प्रदर्शनी गर्नु निकै चुनौतीपूर्ण काम रहेको बताए । ‘यो सोच्नै नसकिने काम चन्द्रले एक्लै गरेका छन् ।
आम मान्छेले हेर्दा ढुंगामा बनाइएका मूर्ति सामान्य लागे पनि त्यसमा पर्ने अथाह मेहनत हुन्छ,’ चित्रकारले भने, ‘उनका कला हेर्दा लिच्छिविकालीन मूर्ति प्रत्यक्ष हेर्न नपाएका दर्शकका लागि त्यो बेलाको स्मरण गराइदिन्छ ।’ प्रदर्शनी असार १४ गतेसम्म चल्नेछ ।
ब्रेकर ः चन्द्रले सोच्नै नसकिने काम एक्लै गरेका छन् । आम मान्छेले हेर्दा ढुंगामा बनाइएका मूर्ति सामान्य लागे पनि त्यसमा पर्ने अथाह मेहनत हुन्छ । उनका मूर्ति हेर्दा लिच्छिविकालीन मूर्तिको झझल्को मेटिन्छ ।
...
प्रकाशित: ६ असार २०७५ ०२:११ बुधबार