२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

विद्यार्थीको कला प्रदर्शनी


काठमाडौं – सिर्जना कलेज अफ फाइन आर्टमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले सिर्जना गरेका कलाको प्रदर्शनी नेपाल कला परिषदमा आइतबार सुरु भएको छ आइतबार सुरु भएको छ । कलाको सैद्धान्तिक ज्ञानसहितको पेन्टिङ तथा अन्य विविध विधाका संयुक्त स्वरुपको एप्लाइ आर्ट शीर्षकमा उनीहरूले कला प्रदर्शनी गरेका हुन्।

पेन्टिङ शीर्षकको कला प्रदर्शनीमा कक्षा १२ मा कला अध्ययन गर्दाको सैद्धान्तिक सिकाइको चरणगत प्रक्रियासमेत उनीहरूले चित्रमा उतारेका छन् । साथै कलाका विविध पाटोका रुपमा स्टिल लाइफ, पुराना चित्रको नक्कल तथा कम्पोजिसनसमेत यो शीर्षकमा अटाएका छन् ।पुराना कलाकारको नक्कल गर्ने क्रममा शैली मल्लले विदेशी चित्रकारको नक्कल गरेको युवतीको चित्र बनाएकी थिइन् जुन आइतबार नै बिक्रि भएको थियो ।

‘कक्षामा सरले कुन बनाउने भनेर छान्न दिनु भएको थियो,’ उनले भनिन्, ‘मलाई यही चित्र मन परेर बनाए एक महिना नै लाग्यो ।’ उनको चित्रमा पारदर्शी कपडा लाएकी युवतीको मदमत्त भाव देखिन्छ । त्यो चित्र बनाउन उनले अपनाएको पहिलो चरणको प्रकृयागत चित्रसहित दशहजारमा विक्रि भएको थियो । भविष्यमा कला सिर्जनासँगै सामाजिक कार्यमा लाग्ने सोच बनाएकी उनलाई जलरंग र पेन इंक रंगमा खेल्न मन पर्छ । उनका सातवटा चित्र कला प्रदर्शनीमा रहेका छन्।

त्यस्तै एप्लाई आर्टतिर पोस्टर डिजाइन्, पुराना कलाकारको नक्कल, पेन इंक, लेआउट कलाको जमघट हेर्न पाइन्छ । साना विद्यार्थीले बनाएका भए पनि केही चित्रहरू निकै अब्बल लाग्छन् । ‘हामीले पढाइको बेला सिकेका र अभ्यास गर्दा तयार गरेका चित्रहरु हुन्,’ सौरभ श्रेष्ठले भने । उनको दुवै थरी शीर्षकमा गरेर १३ वटा चित्र तथा कलाकृति छन्।

‘के के पढ्यौ कसरी पढ्यौ भनेर यही प्रदर्शनीमा हेर्न र महसुस गर्न सकिन्छ,’ रोजिना रन्जितकारले सुनाइन्, ‘टिमवर्कमा गरेका अनि एक्लै गरेका चित्र दुवै थरी छन् ।’ उनका अनुसार बाह्र कक्षाका करिब २० जना विद्यार्थीको कला प्रदर्शनीमा रहेको छ । कला प्रदर्शनीमा कुल १८१ चित्रहरू प्रदर्शनीमा रहेका छन् । कला प्रदर्शनी मंगलबारसम्म चल्नेछ ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App