टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ काे ‘काव्य कलश’ टुक्का कवितासङ्ग्रहकाे लोकार्पण भएकाे छ।
कविताको लघुत्तम रूपमध्ये टुक्का कविता पनि एक हो। कवि ताराप्रसाद चापागाईंले २०७७ साउन २५ गते टुक्का कविताकाे प्रवर्तन गरेका थिए। टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो। भरतपुर–२ चितवनका टुक्काकार रसाइलीले यस सिद्धान्तकाे आत्मसात् गर्दै ‘काव्य कलश’ लेखका हुन्।
प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी लगायतले काव्य कलश को संयुक्त रूपमा लोकार्पण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुन सक्छ। यसैले प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको उत्थानमा योगदान गर्नुपर्ने समय आएको बताए।
दुई हरफभित्र पूर्ण सन्देश दिन सक्ने लघुत्तम काव्यिक संरचना टुक्का कविता आजको नेपाली साहित्यमा लोकप्रिय विधाको रूपमा स्थापित हुँदै गएको चर्चा गरे। उनले टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईं र काव्य कलशकी सर्जक अमृता रामदामबारे धारणा राखेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषामा प्रचलित साहित्यिक विधाहरूमा टुक्का कविता छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको माध्यम भएको हुँदा यो आजको आवश्यकता अनुसारको मौलिक विधा हो भन्दै यसको सैद्धान्तिक पक्ष र व्यापकताबारे धारणा राखेका थिए।
विशिष्ट अतिथि तथा महाकाव्यकार कलानिधि दाहालले टुक्का कविता छोटो समयमै सिर्जनात्मक अभिव्यक्तिको राम्रो माध्यम भएको बताउँदै नियमित लेखन मार्फत यसको विकास र विस्तार आवश्यक रहेको उल्लेख गरेका थिए।
अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएकाे कार्यक्रममा अर्का विशिष्ट अतिथि राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली भाषामा प्रयोग भएका विधामध्ये उत्कृष्ट र लोकप्रिय विधा मान्दै नेपाल प्रज्ञाप्रतिष्ठान जस्ता संस्थाले यस्ता विधाको संरक्षण र प्रवर्द्धनमा अग्रसर हुनुपर्ने धारणा राखेका थिए।
टुक्का साहित्य समाजका सल्लाहकार रामशरण न्यौपानेले ‘काव्य कलश’ को समीक्षात्मक टिप्पणी गरेका थिए।
मुक्तक अभियन्ता सुनिल अधिकारीले काव्य कलशका सर्जक रामदामको चर्चा गर्दै टुक्का कविता मुक्तक जस्तै शैलीमा लेखिने तर विधागत नियम फरक भएको टुक्का कविताले नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै गएको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए।
यसैगरी कार्यक्रममा कवि जनार्दन अधिकारी धड्कन तथा समीक्षक अरुणबहादुर खत्री नदी लगायतका अतिथिको उपस्थित रहेकाे थियाे।
कार्यक्रमको स्वागत मन्तव्य समाजका कोषाध्यक्ष होमप्रसाद नेउपानेले र सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा र टुक्का साहित्य समाजको गतिविधिबारे सङ्क्षिप्त जानकारी दिएका थिए।
टुक्का साहित्य समाजका सदस्य रामप्रसाद पुरीले सञ्चालन गरेकाे कार्यक्रममा ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, हरिगोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, राजेशराज गडतौला, रचना मोक्तान ‘यात्री’, पवनकुमार बुढाथोकी, प्रमोद नेपाल, इन्दु श्रेष्ठ, तिलक गाउँले, सङ्गी काली, शोभा आचार्य गौतम, रामप्रसाद पुरी, दीपा गुरुङ ‘समभाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, रुविना कट्टेल, कृष्ण घिमिरे लगायतका सर्जकहरूले टुक्का कविता वाचन गरेका थिए।
टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले टुक्का उत्कृष्ट काव्य बन्न आवश्यक सैद्धान्तिक तत्वहरूकाे ध्यान दिइ यसको लेखन शील्पबारे चर्चा गर्दै छोटो अवधिमै टुक्का कविताले व्यापकता पाउनुमा सबै सर्जकको योगदान रहेको बताए।
प्रकाशित: २२ असार २०८२ ०८:५५ आइतबार