बलिउडसँग नेपाली फिल्मको नाजायज प्रेम बसेको धेरै पहिल्यैदेखि हो । बेलाबखत यो सम्बन्ध तोड्ने प्रयास गर्छन्, नव प्रवेशीले । तर पुनः त्यो ‘नाजायज’ प्रेम बल्झिरहन्छ । हलमा चलिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बलिउडसँगको यस्तै बल्झिएको प्रेमको प्रतिफल हो।
फिल्मले राम्रो प्रतिक्रिया नपाउँदा–नपाउँदै फिल्म हेर्न आइतबार बिहान काठमाडौंस्थित कमलपोखेरीको बिग मुभिज सिनेमा हलमा पुगियो । हलमा आफूसँगै दर्शकको संख्या जम्माजम्मी १३ थियो।
फिल्म सुरु हुनुअघिसम्म आशा थियो– बौद्धिक छवि बनाएकी केकी अधिकारीद्वारा निर्मित यो पहिलो फिल्म भएकाले पक्कै बाहिर हल्ला भएजस्तो निराशाजनक त नहोला ! तर, हल्ला सत्य रहेछ । कोहलपुर एक्सप्रेस ‘नेपाली मुम्बई एक्सप्रेस’ नै रहेछ, तमिल र हिन्दी भाषामा बनेको फिल्म ‘मुम्बई एक्सप्रेस’को नेपालीकरण।
दुवै फिल्म लगभग उस्तै छन् तर निर्देशकले केही पात्र, दृश्य र क्लाइमेक्समा नयाँपन छर्दै ‘मुम्बई एक्सप्रेसबाट इन्स्पायर्ड’ भनेर उम्कने प्रयास गरेका छन्।
फरक यत्ति हो, उताको ‘मुम्बई एक्सप्रेस’लाई सन् २००५ मा कमल हसनले धान्ने असफल प्रयास गरेका थिए, अहिले नेपालमा बनेको ‘कोहलपुर एक्सप्रेस’लाई केकी अधिकारीले धान्ने प्रयास गरिन्।
कमलले मोटरसाइकलको भरमा फिल्म गुडाउने प्रयास गरेका थिए । केकीले स्कुटीको सहारा लिइन् । उता ‘मुम्बई एक्सप्रेस’को टायर पञ्चर भयो यता आइरहेको बिजनेस रिपोर्टले केकीको ‘कोहलपुर एक्सप्रेस’को स्कुटी पञ्चर हुने संकेत देखाइसक्यो।
उसो भए फिल्म कस्तो छ त, त्यसको कथासारभित्र प्रवेश गरौं है त !
‘मुम्बई एक्सप्रेस’जस्तै ‘कोहलपुर एक्सप्रेस’ को सुरुवात तीन सौखिन चोरले एक व्यवसायीको बच्चा अपहरण गर्ने योजनाबाट सुरु हुन्छ तर योजना सफल नहुँदै विविध द्वन्द्व सिर्जना हुन्छन्।
योजनाकारमध्ये एकको भूमिका निर्वाह गरेका बुद्धि तामाङ पेट दुखेपछि अस्पताल भर्ना हुन्छन् । बुद्धिकी गर्भवती श्रीमती चम्पा (प्रियंका कार्की) अपहरणको योजना जसरी पनि सफल पार्न अडिग हुन्छिन् । भकभके (विनोद न्यौपाने) र चम्पाका भाइको काँधमा जिम्मेवारी आइपुग्छ।
चालकको अभाव कोहलपुर एक्सप्रेसको भूमिकामा रहेकी केकीले पूरा गर्छिन् । त्यसपछि बच्चा अपहरणको योजना अघि बढ्छ ? फत्ते हुन्छ कि हुँदैन ? फिल्म यही परिस्थिति वरिपरि घुमेको छ । सायद यति भनिसकेपछि ‘मुम्बई एक्सप्रेस’ हेरिसकेकाको दिमागमा फिल्मको प्लट पक्का घुमिसक्यो।
जसरी कमल हसन ‘मुम्बई एक्सप्रेस’मा निर्दोष र सोझो टाइपको चरित्रमा देखिएका छन्, यता केकी उस्तै छिन् । दुवै बाध्यतावश अपहरणको योजनामा सहभागी हुन तयार हुन्छन् । उता ‘मुम्बई एक्सप्रेस’मा मनीषा कोइरालाले निर्वाह गरेको बार गर्लको भूमिका यता ‘कोहलपुर एक्सप्रेस’मा ऋचा शर्माले निर्वाह गरेकी छन्।
व्यवसायीको चरित्रमा रवीन्द्र झा छन् । उनको चरित्रले हिन्दी ‘मुम्बई एक्स्प्रेस’मा व्यवसायीको भूमिका निभाएका सौरभ शुक्लाको झल्को दिन्छ । कमल हसनको दिदीजस्तै छुच्ची आइमाईको भूमिकामा प्रियंका ‘पर्फेक्ट’ देखिएकी छन्।
पात्र मात्र होइन, फिल्मको बगाई पनि ‘मुम्बई एक्सप्रेस’ जस्तै छ । बच्चा अपहरण गर्ने शैली, अपहरणकारी बिरामी हुनेदेखि अस्पतालसम्मका दृश्य, विद्यालयको दृश्य, फिरौती रकम माग्ने शैली सबै उस्तै–उस्तै । कथा र पटकथाका लागि शान बस्न्यातलाई जस दिने कुनै ठाउँ छैन। ‘ओरिजिनल’ बाट थोरै प्रतिशत मात्र फरक छ ‘कोहलपुर एक्सप्रेस’।
फिल्म ‘सिन बाइ सिन’ कपी छ। यदि यी दुइ फिल्मलाई एकपछि अर्को गर्दै हेर्ने हो भने कथा र दृश्यमा कुन हदसम्म चोरी गरिएको छ भन्ने प्रस्टै हुन्छ। ‘कोहलपुर एक्सप्रेस’ हिन्दी र तमिल भाषाको ‘मुम्बई एक्सप्रेस’को फोटोकपी मात्र रहेको भन्दै चर्को आलोचना भएपछि यसकी निर्मात्रीसमेत रहेकी केकीले कपी गरेको हैन, प्रभावित मात्र भएको हो भनेर सामसुम पार्ने प्रयास गरिन्।
तर यो कुतर्कबाहेक केही थिएन । दर्शकलाई मुर्ख बनाउने उनको प्रयास सफल नभएको फिल्मको बिजनेसले नै देखाइसकेको छ।
रोचक के भने ‘मुम्बई एक्सप्रेस’ आफैँमा उत्कृष्ट फिल्म मानिँदैन र बक्सअफिसमा यो ‘फ्लप’ भएको थियो । फ्लप फिल्मको कपी गरिएको कोहलपुर एक्सप्रेसको बाटो पनि उस्तै छ।
कथालाई थोरै फरक बनाउने निहुँमा परिवर्तन गरिएका केही दृश्य झन् विश्वसनीय देखिएका छैनन्। कमेडी शैलीमा निर्माण भएका फिल्मका कथा जति खँदिलो भयोे, दर्शकले त्यति नै रमाइलो लिन सक्छन् तर यसमा स्क्रिप्ट राइटर र निर्देशक मज्जैले चुकेका छन् । पहिलो हाफमा थोरै हाँस्ने दर्शक दोस्रो हाफमा हाई काढ्न बाध्य हुन्छन्।
अभिनयका हिसाबले कान नसुन्ने युवतीका रुपमा केकी स्वभाविक नै देखिएकी छन् तर यो फिल्म हेरिसकेपछि दर्शक सबैभन्दा बढी निराश उनीसँगै हुन्छन् । कारण– उनको दृढ, फरक र बौद्धिक छवि नै हो ।
फिल्म क्षेत्रमा केकी बौद्धिक अभिनेत्रीका रुपमा चिनिन्छिन् । महिलावादी छवि भएकी उनी महिलासँग जोडिएका मुद्दामा कडासँग आवाज उठाइरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा बहस पैरवीमा उत्तिकै डट्छिन्।
फिल्ममा अभिनय गर्दा त जस्तोसुकै विषय रोजे पनि ‘व्यावसायिक’ आवरणमा चलेकै थियो तर आफैँले फिल्म निर्माण गर्दा उनले गरेको खेलाँचीले ‘कोहलपुर एक्सप्रेस’बाट उनी बोल्ने तर बोलेको व्यवहारमा उतार्न नसक्ने पात्रको सूचीमा दरिइन्।
‘मुम्बई एक्सप्रेस’बाट फरक देखाउनलाई यो फिल्ममा ऋचा शर्माले निर्वाह गरेको बार गर्लको क्यारेक्टरमा थोरै ट्विस्ट गरिएको छ । मनीषा कोइरालाले निर्वाह गरेको ‘बारगर्ल’ले त एउटै पुरुषसँग सम्बन्ध राखेको देखाइएको थियो तर यहाँ त ऋचाले पैसाका लागि तीनजना पुरुषलाई एउटै आरोपमा फँसाउन खोजेकी छन्।
कथालाई ट्विस्ट गर्ने निहुँमा महिलाको चरित्रलाई झन् कमजोर रुपमा प्रस्तुत गरिएको छ। महिलावादी केकीले कम्तीमा महिलाको चरित्र चित्रणमा यत्ति नगरिदिएको भए उनको बहस पैरवीको लाज जोगिन्थ्यो।
उता ‘६क्कापञ्जा’ फिल्ममा महिलाको चरित्रलाई लिएर बलियो आवाज उठाएकी अर्की बौद्धिक अभिनेत्री ऋचा स्वयं यो फिल्ममा चुकिन् । एक त अरुको कन्टेन्ट, त्यसमाथि त्यस्तो भूमिका पाउँदा उनी उत्साहित देखिइन्। यसले एकै विषयमा उनको दोहोरो चरित्र देखियो।
एकछिन ‘मुम्बई एक्सप्रेस’लाई बिर्सिएर ‘कोहलपुर एक्सप्रेस’लाई मात्रै हेर्ने हो भने पनि यो फिल्म उत्कृष्ट दरिदैन। न कथा, न प्रस्तुति न त रचनात्मक छ। फिल्ममा बुद्धि तामाङ र विनोद न्यौपानेको अभिनय तारिफयोग्य भने छ। दुवैले बेलाबेला हाई काढेर बसेका दर्शकलाई हँसाउँछन्।
बाल कलाकारका रुपमा कुशाग्र भट्टराई ठीकै छन् । फिल्मको प्रशंसनीय पक्ष कथाको गतिअनुसार बजिरहने कालीप्रसाद बाँस्कोटाको शीर्ष गीत मात्र हो । खिचाई र सम्पादन ठीकै छ । थुप्रै म्युजिक भिडियो निर्देशन गरेर पहिलोपल्ट यो फिल्म निर्देशन गरेका विशाल भण्डारीले वाह भन्ने ठाउँ नै राखेनन् फिल्मभरि।
पुरापुर अरुको सिर्जनाको बलमा आफ्नो करिअर उकास्न खोज्नु केकी र विशालको मुर्खता मात्र हो । तत्काल केकी फोटोकपी हैन, प्रभावित हो भनिरहलिन् । कुनै समय आउने छ, जब उनी आफैँ भन्नेछिन्, ‘यो गलत अभ्यास हो।’
शुक्रवार साप्ताहिकबाट
प्रकाशित: २० वैशाख २०७५ ०६:५१ बिहीबार