११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

गण्डकी प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल : अभावका बिच जग बसाउन सफल भएको दाबी

गण्डकी प्रज्ञा प्रतिष्ठानले अभावैअभावमा कार्यकाल गुजारेको छ। अभावका बीच बलियो फाउन्डेसन (जग) बसाउन भने सफल भएको छ। प्रदेश सरकारको आफ्नै सन्तानका रूपमा स्थापित प्रतिष्ठानले आफ्नै खुट्टामा उभिएर भाषा, साहित्य, लोकसाहित्य, कला, संगीत र संस्कृतिका क्षेत्रमा बलियो जग बसाएको हो।

पूर्वाधारबिना नै गठित प्रतिष्ठानले पृथ्वीनारायण क्याम्पस हाताभित्र रहेको भवनमा कार्यालय स्थापना गरेको थियो। कुलपति सूर्यबहादुर खड्का बिखर्ची र उपकुलपति गोरे गुरुङको योजना र सदस्य–सचिव मनकुमार श्रेष्ठको जुझारूपनको तादात्म्यले कार्यालयले छुट्टै रौनक पायो। त्यति मात्र होइन, प्रतिष्ठानले नजिकैको सभाहललाई रङरोगन गरेर चिटिक्क पार्नुका साथै प्रविधिमैत्री र पूर्वाधारयुक्त बनाउन सफल भयो। यसले गर्दा प्रतिष्ठानमार्फत हुने अधिकांश कार्यक्रम सोही सभाहलमा आयोजना गर्न सम्भव हुन थालेको छ।

प्रदेश सरकारले गठन गरेका यस्ता धेरै संस्थामध्ये कुनै खारेज भइसकेका छन् भने कुनै काम गर्न नसकी धिकिर–धिकिर चलिरहँदा प्रतिष्ठानले भने पहिलो कार्यकालमै पूर्वाधारसँगै अनुसन्धान र कला, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिन सफल भएको छ। प्रतिष्ठानले गण्डकी प्रदेशमा बसोवास गर्ने गुरुङ, मगर, नेवार, थारू, मगर, ब्राह्मण, दरै, दूरा, तामाङ, माझी, पुन, तामाङ, गन्धर्व, कुमाल, छन्त्याल, थकाली, बराम, जलारी, इसाई, बुद्धिस्टलगायतका जात, जाति, भाषा, धर्म, कला र संस्कृतिहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले तिनीहरूको अध्ययन–अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेको प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

त्यसबाहेक गण्डकी प्रदेशका काव्यिक धरोहरहरू तीर्थ श्रेष्ठ, प्रकाश घिमिरे, प्रजापति पराजुली, प्रा.डा. रविलाल अधिकारी, बुद्धिप्रसाद गुरुङ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल (वात्स्यायन), डा. जगमान गुरुङ, हरिदेवी कोइराला, श्यामसुङ तामाङ, माधव वियोगी, अनुप बराललगायतको स्रष्टा बायोग्राफीसमेत तयार गरी सार्वजनिक गरिएको उनले बताए।

प्रतिष्ठानले परम्परागत गीत–संगीत संरक्षणका लागि रेकर्डिङ गर्ने, बाजा संरक्षणका लागि प्रशिक्षण दिने, भाषा संरक्षणका लागि मातृ भाषा प्रशिक्षण आयोजना गर्ने, विभिन्न जात–जातिविशेषको कार्यशाला गर्ने कार्य पनि गरेको उनको भनाइ छ। त्यस्तै, प्रादेशिक ललितकला प्रदर्शनी, प्रज्ञा प्रतिष्ठानहरूको अवलोकन भ्रमण गरेर उनीहरूसँग अन्तरक्रिया गर्नेदेखि गण्डकी प्रदेशका विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्य पनि गरेको उनले बताए। प्रतिष्ठानले स्रष्टाहरूको हितलाई सर्वोपरि ठानेर उनीहरूको सामूहिक बिमा गरिदिएको सदस्य–सचिव श्रेष्ठले जानकारी दिए। ‘त्यस्तै विभिन्न जाति, समुदायको डकुमेन्ट्री बनाउने, छायांकन गर्ने कार्य पनि गरेका छौं’, उनले भने।

प्रतिष्ठानले साहित्यप्रति रुचि जगाउन साहित्यिक महोत्सव, लोकदोहोरीतर्फ आकर्षित गर्न लोकदोहोरी गीत प्रतियोगिता, चित्रकलातर्फ ध्यानाकर्षण गर्न पाँचदिने अन्तर्राष्ट्रिय आर्ट कार्यशाला, नाटकतर्फ रुचि जगाउन नाटक महोत्सव, फोटो प्रदर्शनीलगायतका कार्य पनि गरेको छ। प्रतिष्ठानले यसबीचमा पुस्तकालय स्थापना गरेर एक हजार तीन सय स्रष्टाका आठ हजार पुस्तक खरिद गरेर पुस्तकालयमा व्यवस्थापन गरिएको सदस्य–सचिव श्रेष्ठले जानकारी दिए।

पहिलो कार्यकालमै खरो उत्रिएको प्रतिष्ठानले बजेट अभाव भने झेलेको छ। स्थापनाको पहिलो वर्ष छुट्याएको बजेट त्यसपछिको वर्ष भने निरन्तर घट्दै जाँदा काम गर्न कठिनाइ भएको सदस्य–सचिव श्रेष्ठले बताए। उनका अनुसार पहिलो वर्षभन्दा दोस्रो वर्ष र दोस्रोभन्दा तेस्रो वर्ष २०/२० प्रतिशत बजेट कटौती भयो भने चालु आर्थिक वर्षको अन्तिमतिर आउँदा राजस्व संकलनमा कमी आएपछि थप २५ प्रतिशत कटौती हुँदा प्रभावकारी उपस्थिति देखाउन चुनौति थपिएको छ। 

उनले भने, ‘दिनप्रतिदिन जिम्मेवारी बढ्दो छ तर बजेट भने घट्दो छ। यसले पक्कै पनि प्रभावकारी उपस्थिति जनाउन चुनौति थपिएको छ।’ उनले बजेट अभावका बीच सोचेजति नसके पनि सकेजति राम्रो काम गर्न सफल भएको बताए। ‘हामीले सकेको जति गरेका छौं’, उनले थपे, ‘बजेट मागेजति दिने हो भने हामी देशकै नमुना प्रतिष्ठान बनाउन सक्छौं भन्ने विश्वास जागेको छ।’

प्रकाशित: १६ वैशाख २०८२ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App