२६ असार २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

अभिव्यक्ति दिँदा असुरक्षित सुरक्षा!

केही दिनदेखि नायिका सुरक्षा पन्तमाथि सामाजिक सञ्जालमा गालीगलौजसहित अभद्र आक्रमण भइरहेको छ। टेलिभिजनको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिका कारण राजावादीको एउटा समूह उनीमाथि खनिएको छ।

सुरक्षालाई सहानुभूति दिन पनि केही सुभेच्छुकहरू सक्रिय छन्। जसले सुरक्षाले ठूलै अपराध गरे जसरी उनीमाथि खनिएको उग्र राजावादी समूह र उनका सुभेच्छुकहरूबिचको विवादले अहिले सामाजिक सञ्जाल गर्माएको छ।

एउटा अभिव्यक्तिकै कारण नायिकाले यसरी मानिसक रूपमा यातना भोग्नु अति नै लज्जास्पद विषय हो। संविधानले नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक प्राप्त एक नागरिकले आफ्ना विचार व्यक्त गर्दा यसरी यातना भोग्नुपर्ने अवस्था आउनु कहालीलाग्दो अवस्था हो। उनमाथि सामाजिक सञ्जालमा भइरहेका प्रहारले उनको निजी जीवनमा समेत नराम्रो प्रभाव पारेको देखिन्छ।  

सुरक्षालाई मात्र होइन, उनलाई समर्थन गरेकै भरमा अर्की नायिका ऋचा शर्मामाथि पनि राजावादी समूह खनिएको थियो।  

‘हिजोआज केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैं उनीहरूको पक्षमा हुनुपर्छ,’ ऋचाले लेखेकी थिइन, ‘तर म तिमीलाई सम्झाउन चाहन्छु तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठीक कुरा हो। तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौँ।’  

कसैलाई मन नपर्ने कुरा भन्नु सर्वथा गलत नहुने उनले उल्लेख गरेकी छन्। ‘जो तिमीलाई सधैं आफू अनुकूल बोलोस भन्ने सोच्छन्, उनीहरूलाई बुझ्न जरुरी छ विचार राख्नु अभिमान होइन, चेतनाको संकेत हो। साँचो बोल्न गाह्रो हुन्छ। किनकि साँचोले ढोंगलाई नङ्ग्याउँछ, आडम्बरलाई तोड्छ र ‘सब ठीक छ’ भन्ने भ्रमलाई चर्काउँछ,’ ऋचाले अगाडि लेखेकी छन्।  

‘तिमीले त्यसरी साँचो बोल्दा कतिलाई रिस उठ्छ, कतिलाई अप्ठ्यारो लाग्छ। तर त्यो रिस र त्यो अप्ठ्यारो उनीहरूको कमजोरी हो, तिम्रो हैन,’ भन्दै ऋचाले सुरक्षालाई सन्त्वना दिएकी छन्।

ऋचाले यत्ति लेखेपछि उनीमाथि पनि सामाजिक सञ्जाल र व्यक्तिगत रूपमै अभद्र तथा अश्लील टिप्पणी गरिरहेको छ। गाली गर्ने धेरै मध्ये केहीले मात्र माफी मागेका छन्। आफूले प्रयोग गरेका तुच्क्ष शब्दलाई फिर्ता लिँदै केहीले माफी मागेको रिचाले सामाजिक सञ्जालमार्फत बताएकी हुन्।  

सुरक्षाले के भनेकी थिइन् ?

झण्डै एक साताअघि रजतपट अनलाइट टिभी नामक युट्युब च्यानलमा प्रसारित हुने ‘द प्रकाश सुवेदी शो’मा कार्यक्रम प्रस्तोताले सुरक्षालाई पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै ‘भविष्यमा उहाँलाई कुन रूपमा हेर्न चाहनुहुन्छ?’ भन्दै प्रश्न सोधेका थिए।  

सुरक्षाले प्रश्नको जवाफ दिँदै ‘लुक्स राम्रो छ। अभिनय पनि सक्नुहुन्छ होला। कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ। सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई’ भनेकी थिइन्।  

प्रश्नकर्ता सुवेदीले थप्दै भने, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु।’

जवाफमा सुरक्षाले ‘राजा बनाउने भन्ने कुरा कहाँ, हामीले स्वीकारेकै छैनौं। त्यो त भन्न सकिन्नँ’ भनेकी थिइन्।

सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर पनि देखाएका थिए। सुरक्षाले पनि शाहको तस्बिर हेर्दै सरल तरिकाले आफ्नो विचार व्यक्त गरेकी थिइन्। विचार राख्दै गर्दा सुरक्षाले पूर्वराजा शाह देशको सामान्य नागरिक भएको बताएकी थिइन् भने जनतालाई सचेत भनेकी थिइन्।

प्रश्नकर्ताले फेरि ‘राजा कि गणतन्त्र?’ भनेर सोधेका थिए। उक्त प्रश्नमा सुरक्षाले गणतन्त्रमा भइरहेको प्रणालीलाई नै अझ राम्रो बनाउनुपर्ने बताएकी थिइन्। यही अभिव्यक्तिलाई लिएर अहिले सुरक्षामाथि सामाजिक सञ्जालमा राजावादीहरूले असभ्य र निकृष्ट शब्द प्रयोग गरेर आक्रमण गरिरहेका हुन्।

सुरक्षालाई गालीगलौज गरिरहँदा राजावादीहरूको समूहले गत शुक्रबारबाट प्रदर्शनमा आएको उनी अभिनित चलचित्र ‘खेल’लाई समेत बहिष्कार गरेका छन्। यो समूहले चलचित्र प्रदर्शनमा आउनु अघि नै चलचित्रलाई बहिष्कार गर्नुपर्छ भन्ने अराजक अभियान सामाजिक सञ्जालमा चलाएका स्पष्ट रूपमा देख्न सकिन्छ। उनीसहित चलचित्रका अन्य टीम पनि यसको असरबाट अछुतो हुन सकेका छैनन्।

अभिव्यक्ति दिएकै कारण एउटा अराजक समूहबाट आलोचना र घृणाको सिकार हुनेमा सुरक्षा र रिचा मात्र होइनन् यसअघि राजनीतिक विचार राखेकै कारण प्रकाश सपुतदेखि मह जोडीका रूपमा प्रख्यात हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि यस्तै आलोचना र घृणाको सिकार भइसकेका छन्।

यी घटनाले नेपाल समाज कतिसम्म अराजक र घृणीत मानसिकताबाट ग्रसित छन् भनेर बुझ्न धेरै समय लाग्दैन।

लोकतन्त्रको यो व्यवस्थामा एउटा स्वतन्त्र व्यक्तिले आफ्नो विचार स्वतन्त्र रूपमा राख्दा यस्ता दूषित मानसिकता भएका झुण्डहरूको नजरमा तारो कहिलेसम्म बनिरहने? सामाजिक सञ्जालबाट प्रहार हुने घृणीत र अश्लील शब्दले मानसिक यातना भोग्नुपर्ने अवस्था कहिलेसम्म? 

प्रकाशित: १५ वैशाख २०८२ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App