काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन्, पूर्णमाया देउला । ६५ वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ।काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन्। उनले यो काम गर्न थालेको ४० वर्ष भयो।
अघिल्लो साता नागरिककर्मीले भेट्दा घाउ भएको दाहिने हातको बूढीऔँलामा पट्टी बाँधेर ट्रमा सेन्टरअगाडि सडक बढार्दै थिइन् उनी।‘खोइ कसरी सिन्का पसेर घाउ भएको छ । दुखिरहेको पनि छ,’ औँला देखाउँदै उनले भनिन् । दिनको ६ घन्टा काम गर्दा महिनामा उनले (बिहानदेखि दिउँसोसम्म विभिन्न रुटमा बढार्न जान्छन् ) ३० हजार पाउँछिन् । त्यो कमाइ घर खर्चमा सकिने उनी बताउँछिन्।
सडक सफा गर्न थालेपछि देउलाको जीवन भने चिटिक्क छैन । उनका दुई छोरा र बुहारी त छन् । तर, घरको पूरै जिम्मेवारी भने उनको काँधमा छ । उनीहरू पहिले–पहिले केही सानातिना काम गर्दै गुजारा चलाउँथे । तर, अहिले परिवार पाल्ने काम उनी गर्छिन् ।
तीन वर्षअघि आएको भूकम्पबाट उनका श्रीमान्ले खुट्टा गुमाए भने उनीहरू सबैले आफ्नो घर । अहिले उनीहरू साँखुमा टहरा बनाएर बसेका छन् । ‘हामीलाई धेरै गाह्रो छ, छोराहरूको पनि कमाइ छैन । त्यसैले, कान्छी बुहारी माइतीमै गएर बसेकी छ,’ उनले भनिन्।
काठमाडौंलाई सफा गर्न ४० वर्षअघि जस्तो सजिलो पनि छैन । पछिल्लो ४० वर्षमा काठमाडौंमा बस्ती बढेसँगै फोहोरको डंगुर पनि प्रशस्तै बढेको उनको अनुभव छ । फोहोर र धुलोसँग आफ्नो आधा जिन्दगी बिताएकी उनलाई अहिले छातीको समस्या छ । ‘औषधि खाइरहेकी छु, ठीक हुँदै छु । काम त गर्न परिहाल्यो,’ यति कुरा गर्दागर्दै उनलाई सडक सफा गर्न हतारो र उनको नाइके कराउने डरले कुराकानी टुंग्याइन्।
काठमाडौं सहर मस्त निदाइरहेका बेला सहर सफा गर्नका लागि पूर्णमायाजस्तै अरु महिला पनि हातमा कुचो बोकेर बिहानै निस्किन्छन् । यो उनीहरूको दैनिकी हो।स्वयम्भू बस्ने फूलमाया पोडिनी २५ वर्षदेखि सहर सफा पार्दै आएकी छन् । अहिले उनी दिनहुँ भोटाहिटीदेखि भद्रकालीसम्म सडक बढार्दै गरेकी भेटिन्छिन् । सडक सफा गर्ने अरुहरूको जस्तै उनको पनि काम बिहानको ५ बजेदेखि सुरु हुन्छ । उनी दिनको सात घन्टा काम गर्छिन्।
श्रीमान्, छोराछोरीसँग बस्ने उनले पनि पछिल्लो २५ वर्षमा काठमाडौंमा धेरै परिवर्तन देखेकी छन् । महिनाको एक हजार तीन सय रूपैयाँ तलबबाट काम गर्न सुरु गरेकी उनले अहिले महिनाको २२ हजार कमाउँछिन् । तर, पहिलेभन्दा काम पनि बढेको छ।‘सहर र सडक पहिलेभन्दा धेरै फोहोर छ । मान्छेहरू फोहोर पनि गर्छन् । जताततै दिसापिसाव पनि गरिदिन्छन्,’ उनी थप्छिन्, ‘मानिसहरूले फोहोर कम गरिदिए हुनेजस्तो लाग्छ । तर, मानिसहरू फोहोर फाल्ने भाँडो नजिकै भए पनि फोहोर सडकमै फालिदिन्छन्।
’ कसैलाई फोहोर भाँडामा राख्न भनेर सल्लाह दिँदा ‘यिनीहरूको काम के हो र ? सफा पार्ने काम यिनीहरूको त हो नि’ भन्ने जवाफ पाएको धेरै अनुभव पनि छ उनीसँग छन् । त्यसलाई आफ्नो कामसँग जोडेर समेत टिप्पणी गरेको सुनाउँदै उनी थप्छिन्, ‘हामीले यसरी फोहोर नगरे यिनीहरूले के काम गरेर खान्छन् ? भनेको धेरै सुनेकी छुु ।’ आफूहरूको दैनिक काम फोहोर उठाउने र सहर सफा पार्ने भए पनि अरुहरूले अलि थोरै फोहोर पारिदिए सहर र सडक झन् सफा हुने र आफूहरूलाई पनि सजिलो हुने उनी बताउँछिन्।
सहर र सडक सफा गर्ने काम सजिलो भने छैन । जाडो होस् वा गर्मी होस्, बिहानको मीठा निद्रा छोडेर काममा निस्किनु त छँदैछ, अरु घरायसी व्यस्ततामा पनि सितिमिति बिदा बस्न पाइँदैन । ‘छोराछोरी बिरामी भए भन्न पाइँदैन । कहिलेकाहीँ त छोडेर आउन कहिलेकाँही मन लाग्छ । तर, के गर्नु ? काम हो गर्नै पर्छ,’ उनी भन्छिन् ।दैनिक सडक बढार्दा आफूलाई केही रोग भए- नभएको पनि उनलाई थाहा छैन । उनी थाहा पाउनलाई अहिलेसम्म जचाउन पनि गएकी छैनन् ।काठमाडौं महानगरपालिकासँगै ललितपुर महानगरपालिकामा बिहान सडक सफा गर्न निस्कने धेरै महिलाहरू छन्।
पाटनकी ५१ वर्षीया मीना देउला पनि झिसमिसेमै ललितपुरको सडक सफा गर्न निस्किन्छिन् । घरमा छोराबुहारी, नातिनातिनासँग बस्दै आएकी उनले सडक बढारेबापत महिनामा २५ हजार कमाउँछिन् ।‘तर पनि पैसाले पुग्दैन,’ उनी भन्छिन् । परिवारमा धेरै जना भएकाले पनि मीनालाई सीमित आम्दानीले घरखर्च चलाउन समस्या परिरहेको छ । यसका बापजुत पनि घरखर्च चलाएर बाँकी रहेको केही रकम उनले बचत पनि गर्छिन्।
बिहानको समयमा जावलाखेलमा सडक बढार्दै गर्दा भेटिएकी उनलाई तुलनात्मक रूपमा काठमाडौंभन्दा ललितपुरलाई सफा सहर भने पनि ललितपुरमा अहिले फोहोर निकै बढेको जस्तो लाग्छ ।रत्नदेवी देउलाका तीन वटा छोराबुहारी आफ्नै व्यवसायमा व्यस्त छन् । तर, उनी बिहान ५ बजे नै सडक सफा गर्न सडकमा हाजिर हुन्छिन् ।
बिहान ५ बजे काममा पुग्नका लागि चार बजे त उठ्नैपर्यो । चार बजे उठेपछि उनले पूजा गर्छिन्, चिया पिउँछिन्, बुहारीहरूलाई थर्मसमा चिया राखिदिन्छिन् अनि ५ नबज्दै ललितपुर महानगरपालिकाको कार्यालयमा हाजिर हुन पुग्छिन् ।
४५ वर्षकी उनी हरेक बिहान ५ देखि १० बजेसम्म धुलो, धुवाँ र फोहोरको गन्ध वरपर बिताउँछिन् । यसले गर्दा उनको स्वास्थ्यमा समस्या देखिन थालिसकेको छ । उनलाई छातीको रोग, थाइराइड र उच्च रक्तचापको समस्या देखिन थालिसकेको छ ।
परिवारमा सबैको आ–आफ्नो व्यवसाय भएर पनि उनलाई अरुलाई भन्दा केही सजिलो भने भएको छ ।पछिल्लो समयमा ललितपुरमा पनि फोहोर बढेको र त्यसले गर्दा काम अझ बोझिलो भएको उनको अनुभव छ । नाकाबन्दीपछि झन् कामको बोझ थपिएको उनी बताउँछिन्।
त्यसमाथि, सहर बढार्दै बूढा भएका र मरिसकेका मानिसहरूको ठाउँमा नयाँ मान्छेहरू नथप्दा आफूहरूलाई कामको बोझ थपिएको पनि उनको गुनासो छ । त्यससँगै, सहरका मानिसहरूको व्यवहार देख्दा उनलाई दिक्क लाग्छ ।‘हामीले बिहानै सफा पारेका हुन्छौं । दिउँसो पसल अगाडिको मान्छेले डस्टबिन नराखी जहाँतहीँ फोहोर गर्छन् । यस्तो देख्दा दिक्क लाग्दैन ?’, उनले व्यंग्यात्मक शैलीमा हाँस्दै सुनाइन्, ‘अब हाम्रो काम नै यही हो कसरी दिक्क लाग्छ त ?
फोहोर नै नभए हामीले के गर्ने नि ?’ तर, अहिले र अझ नयाँ पुस्ताका मान्छेमा सफा गर्नुपर्छ भन्ने सोचको विकास भएको रत्नले अनुभव गरेकी छन् । तर, बिहानको निद्रा छोडी अरु उठ्दासम्म सहरलाई सफा गरिसक्ने मानिसलाई सम्मान नगरेको देख्दा भने उनलाई चित्त दुख्छ।‘अब यत्रो वर्षसम्म हामीले यहीँ यस्तै गरेर फोहोर बढार्दै आएका छौँ । तर, हामीलाई पशुजस्तो पो व्यवहार हुन्छ’, उनी दुखेसो पोख्छिन् ।
प्रकाशित: १५ वैशाख २०७५ ०२:३६ शनिबार