२७ चैत्र २०८१ बुधबार
image/svg+xml ७:४७ पूर्वाह्न
कला/संस्कृति

घरकी ज्योति हुन् आमा

चिन्तन

आमा नउठेसम्म सबै घरहरू अँध्यारा हुन्छन्– दार्शनिक खलिल जिब्रान एउटा पुस्तक पढ्दै थिएँ। त्यसैसँग सम्बन्धित दार्शनिक खलिल जिब्रानको एक प्रतिबिम्ब याद आयो, जहाँ उनले गहन रूपमा मातृत्वको सारलाई आफ्ना शब्दमा सुन्दर तरिकाले व्याख्या गरेका छन्। जीवनको दैनिकी बिहानबाट सुरु हुन्छ। जब परिवारका सबै सदस्य उठ्छन् र आफ्नो दिनचर्या सुरु गर्छन्, तब सबैभन्दा पहिलो खोजी आमाको हुन्छ। किनकि आमा नब्युँझिएसम्म घर अँध्यारो हुन्छ।

बिहान उठेर सुरु हुने दैनिकी होस् वा जीवनमा खुसी, रमाइलो र सुख, आमाको न्यानोपन, प्रज्वलित मुहार, मातृत्वले भरिएको भावना, प्रेम र साथले निर्धारण गर्छ। प्रत्येक व्यक्तिको जीवन र घरमा जीवन्तता ल्याउन आमाको अपरिहार्य भूमिका रहन्छ। यो हामी सबैले अनुभूत गरेको कुरा हो। त्यसैले त भनिन्छ– भाग्यमानी ती हुन्, जसको साथमा आजसम्म आमा छिन्। घर कस्तो र कत्रो छ, त्यसको बनोट, आकार, सानो, ठुलो, बंगला, कुटीले होइन, आमाको प्रेम, हेरचाह र उपस्थितिले निर्भर गर्छ। आमाबिनाको घर एक खाली संरचनाका रूपमा मात्र रहन्छ।

आमाको प्रेम र उपस्थिति नै घरको उज्यालो हो। पृथ्वीलाई उज्यालो दिने सूर्यको प्रकाशजस्तै घरलाई घरमय उज्यालो बनाउने मध्यम आमा हुन्। बिहानैदेखि आमाले घरको लय सेट गर्छिन् र हरेक सदस्यलाई आफ्नो दिनको सुरुवात प्रेम, पोषण र उद्देश्यको भावनाले गर्न प्रेरित गर्छिन्।

आफ्ना छोराछोरीलाई नरम स्पर्शले ब्युँझाउने, खाना पकाउने वा प्रोत्साहनका शब्दहरू दिने कुरा होस्, तिनको उपस्थितिले घरलाई प्रेम, हेरचाह र सान्त्वनाले भरिएको घरका रूपमा रूपान्तरण गर्छ। विश्वका धेरै संस्कृतिमा आमालाई घरको अभिभावकका रूपमा लिइन्छ। तिनको ऊर्जा भित्ताहरूबाट बग्छ, सुरक्षा र अपनत्वको भावना सिर्जना गर्छ। आमाको उपस्थितिबिना, सबैभन्दा सुन्दर सजाइएको घर पनि निर्जीव र चिसो महसुस हुन थाल्छ। आमा केवल हेरचाह गर्ने हेरचाहकर्ता मात्र होइनन्, भावनात्मक प्रस्तोता पनि हुन्, जसले परिवारलाई एकसाथ जोड्न, पालनपोषण गर्न, एकअर्कालाई समर्थन गर्न र प्रेम बाड्न सुनिश्चित गर्छिन्।

आमाको अदृश्य कार्य

अक्सर, एउटी आमाको योगदानलाई ध्यान दिइँदैन, किनकि आमाले गर्ने हरेक काम पृष्ठभूमिमा हुन्छन्। आमा थाहै नदिई आफ्ना छोराछोरी र परिवारको भावनात्मक आवश्यकतालाई सम्बोधन गर्नेदेखि लिएर घरायसी कामका अनगिन्ती जिम्मेवारीहरू सम्हाल्छिन्। आमा थकित हुँदा पनि ऊर्जावान्, प्रेम र प्रेरणाको स्रोत बनिरहन्छिन्।

आमाका बलिदानहरू प्रायःजसो अव्यक्त नै हुन्छन्, तैपनि ती बलिदान र भावनाले घरको जगलाई नै आकार दिन्छन्। परिवारका हरेक सदस्यले आफूलाई मूल्यवान् र हेरचाह गरेको महसुस गरोस् भनेर तिनले कुनै आशा नराखी आफ्नो समय, ऊर्जा, प्रेम, व्यवस्थापन र सम्पूर्ण शक्ति घरलाई र परिवारलाई दिन्छिन्।

यो उनको उपस्थिति हो, जसले नियमित कार्यहरूलाई प्रेमको अभिव्यक्तिमा रूपान्तरण गर्छ, सानोभन्दा सानो हाउभाउलाई पनि अर्थपूर्ण बनाउँछ। जीवनमा आउने अन्धकार र प्रकाशको प्रतीकलाई हेर्दा आमाबिनाका सबै चिज अन्धकारमय हुन्। अन्धकारले शून्यता, मौनता र निर्जीवतालाई बुझाउँछ भने आमाको उपस्थितिले आशा, प्रेम र न्यानोपनको अनुभूति दिलाउँछ। जसरी सूर्य उदाउँछ र पृथ्वीमा जीवन ल्याउँछ, त्यसरी नै आमाको उपस्थितिले घरमा जीवनको सास फेर्छ।

यो रूपक भौतिक घरभन्दा बाहिर फैलिएको छ– यसले आमाको भावनात्मक र आध्यात्मिक प्रभावलाई प्रतिबिम्बित गर्छ। कठिन परिस्थितिमा पनि आमाको अटुट साथ र भरोसाले आफूवरपरका मानिसलाई ज्योति प्रदान गर्छ। आमाका शब्द, कार्य र मौन प्रार्थनाले सबै परिवारलाई जीवनका चुनौतीहरूको सामना गर्न मद्दत गर्छ, जसरी बत्तीको उज्यालोले हराएका चिजहरूलाई खोज्न मद्दत गर्छ।

आमा एक सार्वभौमिक सत्य हुन्

आमा जुनसुकै भूगोल र जुनसुकै सन्तान एवम् परिवारका लागि एक सार्वभौमिक सत्य हुन्। संसारको हरेक कुनामा आमाहरूले गरेका त्याग, करुणा र निःशर्त प्रेमजस्ता समान गुणहरूलाई मूर्त रूप दिन्छन्। आमाहरू पर्दा पछाडिका नायक हुन्, जीवनरूपी सिनेमाका निर्देशक हुन्, जसले प्रत्येक सन्तान र भविष्यका पुस्ताहरूलाई जीवनको महत्त्व सिकाउँछन्।

जीवनको मूल्य जगाउँछन् र एउटा विश्वव्यापी सत्य स्थापित गर्छन्। एक सृष्टिले आफ्नो प्रेमले यो संसारलाई भरोसा दिइरहेकी हुन्छिन्। जीवनभर आमाको न्यानो काख र आमाको अनुपस्थितिमा पनि आमाको प्रभाव, प्रेम, आशिष, निर्देशन र भरोसा गहिरो सिकाइका रूपमा महसुस हुन्छ।

अशिक्षित भएर पनि आमाले दिएका शिक्षा, सम्झना र आमाले छोडेका परम्पराहरूद्वारा प्रत्येक सन्तानको जीवनलाई उज्यालो बनाइरहेको छ, जीवन बाँचौं बाँचौं बनाएको छ। त्यसैले घर होस् या जीवनरूपी घर इँटा, माटो र भित्ताले मात्र बनेको छैन, सफलता र स्नेहले मात्र बनेको छैन, आमाको प्रेम, ऊर्जा, न्यानोपन, भावनात्मक र आध्यात्मिक ज्ञान अनि जीवन लक्ष्यसँग जोडेर आमाले दिएका शिक्षा, संस्कार र अदृश्य शक्तिले बनेको छ।

अनन्त मार्गदर्शक

आमाको प्रेम भक्तिको सबैभन्दा शुद्ध र निःस्वार्थ रूप हो। उनी आफ्ना सन्तानको जीवनमा पहिलो शिक्षक, संरक्षक र मार्गदर्शक हुन्, जसले बिनासर्त र बिनास्वार्थ हेरचाह गर्दै अन्तहीन बलिदानको माध्यमबाट उनीहरूको भविष्यलाई सुन्दर बनाउने प्रयत्न गरिरहेकी हुन्छिन्। उनको भूमिका केवल भातभान्छा मात्र होइन, उनले जीवनका प्रत्येक मूल्यहरूलाई जगाउँछिन्, आत्मविश्वास बढाउँछिन् र भावनात्मक सुरक्षा प्रदान गर्छिन्। जसले गर्दा उनका सन्तानलाई जीवनको सबैभन्दा प्रभावशाली व्यक्ति बन्ने अवसर र प्रेरणा मिल्छ। आमा आफ्ना सन्तानकी पहिलो पाठशाला हुन्।

औपचारिक शिक्षा सुरु हुनुभन्दा धेरै अघि नै आमाले आफ्ना छोराछोरीलाई संसारसित परिचय गराउँछिन् र तिनीहरूलाई जीवनको आधारभूत तर सबैभन्दा महत्त्वपूर्ण पाठ अर्थात् प्रेम, दया, इमानदारी र विश्वसनीय हुन सिकाउँछिन्। आफ्नो बोली र कार्यहरूमार्फत् आफ्ना सन्तानको नैतिक कम्पासलाई आकार दिन मद्दत गर्छिन् र सन्तानहरूलाई जिम्मेवार र दयालु व्यक्तिमा परिणत हुन मिहिनेत गर्छिन्। आफ्ना छोराछोरीलाई धैर्य, सहानुभूति र कडा परिश्रमको महत्त्व सिकाउँदै अघि बढ्न प्रेरित गर्छिन्।

प्रत्येक आमाहरूले अक्सर विभिन्न उदाहरणमार्फत सिकाउँछन्। सुत्ने बेलामा कथाहरू पढेर होस्, स्कुलको काममा मद्दत गरेर होस् वा तिनीहरूका अन्तहीन प्रश्नहरूको प्रेम र धैर्यसाथ जवाफ दिएर होस्, आमाले आफ्ना सन्तानहरूको जिज्ञासा र ज्ञानको प्यास बढाउँछिन्।

मातृ देवो भवः

तैत्तिरीय उपनिषद् (१.११.२) मा आमालाई ईश्वरीय स्वरूपमा सम्मान गरिएको छ। जीवनमा ज्ञान र मूल्यहरू प्रदान गर्न आमाको भूमिका ईश्वरीय हुन्छ, जसले आफ्ना सन्तानको मन र आत्मालाई आत्मीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छिन्। आमा भावनात्मक प्रस्तोता हुन्। आफ्ना सन्तानलाई प्रेम र सुरक्षा प्रदान गर्न हरेक परिस्थितिसँग जुध्ने आमाको भावनात्मक समर्थनको स्तम्भ हो।

आमाको उपस्थितिले मात्र डर वा विपत्तिको समयमा सुरक्षा, सान्त्वना र आश्वासन मिल्छ। आफ्ना सन्तानले जुनसुकै क्षेत्रमा र जोसँग चुनौतीहरूको सामना गरिरहेको होस्, मित्रताको सामना गरिरहेको होस् वा असफलताको सामना गरिरहेको होस्, आमाको एक अँगालो र साथले सन्तानलाई शक्ति र उपचार मिल्छ। सन्तानलाई लगनशीलता, आत्मसम्मान, आत्मविश्वास र सहजताको गुणमा जीवन बाँच्ने प्रेरणाकी प्रतिमूर्ति आमा नै हुन्।

क्षणिक सुख र सफलताका लागि नकारात्मक कार्य र खराब संगतमा अग्रसर हुन दिन्नन् आमाले आफ्ना सन्तानलाई। कुशलता, सही संस्कार, इमान्दारी र सर्वे भवन्तु सुखिनःको शिक्षा आमाले नै दिन्छिन्। आमालाई त्यतिबेला पीडा महसुस हुन्छ, जब आफ्ना सन्तानले कुलत, नकारात्मक कार्य र खराब संगतले जीवनशैली बर्बाद गरेका हुन्छन्। अन्यथा, सधैं सन्तानको मुहारमा हाँसो, जीवनमा सुख, शान्ति र प्रगति देख्न चाहने एक मात्र पात्र हुन् आमा जो भगवान्सरह छिन्। भगवान् जहाँतहीं पुग्न सक्दैनन्, त्यसैले उनले आमा बनाए। 

प्रकाशित: २३ चैत्र २०८१ ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App