६ चैत्र २०८१ बुधबार
image/svg+xml १५:५३ अपराह्न
कला/संस्कृति

चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै

तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा चितवनमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ ।

नाट्य विधामार्फत विश्वलाई चिनाउने उद्देश्यले चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागिएको हो । तीन दिनसम्म सञ्चालन हुने महोत्सव चैत्र १० देखि १२ गतेसम्म नारायणगढको नारायणी कला मन्दिरमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

नाट्य महोत्सवका निर्देशक अञ्जान प्रदीपले विविध सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाले भरिएको जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र सम्वद्र्वन गर्नका लागि महोत्सवले विशेष भूमिका खेल्ने बताए । चितवनले नाटकको विधाबाट पनि केही नयाँ दिन खोजेको छ भन्ने सन्देश दिन पनि यो महोत्सव फलदायी हुने निर्देशक प्रदीपको भनाई छ ।

महोत्सवमा नेपालसहित जापान, इरान, स्पेन, लिथुवानिया र भारतका पाँच वटा नाटक मञ्चन हुने छन् । तीन दिनसम्म चल्ने महोत्सवमा देशी तथा विदेशी गरी करिब ४० जना रङ्गकर्मी चितवनमा हुने कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए । 

उनले चैत ६ गतेदेखि १२ गतेसम्म मण्डला थिएटर नेपालको आयोजनामा काठमाडौंमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर जिल्लामा पनि नाट्य कलाको उत्थान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव बताए । 

महोत्सवको नारायणी कला मन्दिरतर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रवर्द्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरूलाई अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ । नारायणी कला मन्दिरका सदस्य निरञ्जन प्रधानका अनुसार नाटक प्रदर्शनी हरेक दिन दिउँसो ३ बजे र ५ बजेसम्म हुनेछ ।

प्रकाशित: ५ चैत्र २०८१ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App