३ चैत्र २०८१ आइतबार
image/svg+xml १:३३ पूर्वाह्न
कला/संस्कृति

वर्ग विभेद

लघुकथा

“दिग्विजयजी, तपाई किन आज उत्साहित देखिनुहुन्छ? तपाईको लक्ष्य प्राप्ति भयो त?” अजयले प्रश्न गर्‍यो।

“हजुर एक हदसम्म लक्ष्य प्राप्ति भयो नै भनूँ न। सङ्गठन निर्माण गर्नु चुनौतिकै विषय रहेछ। तथापि काम सम्पन्न गर्न सकेँ। म खुशी छु।” दिग्विजयले जवाफ फर्कायो।

दिग्विजय कम्युनिष्ट कार्यकर्ता हो। अजय पनि कम्युनिष्ट पार्टीकै शुभेच्छुक हो। दिग्विजय पूर्णकालीन छ। अजय शिक्षण पेसामा आबद्ध छ। ऊ पार्टीलाई नियमित आर्थिक सहयोग गर्छ। दुइटैको वर्गीय चरित्रले मेल खान्छ। दुइटै निम्न मध्यम वर्गीय परिवारका सदस्य हुन्।

दिग्विजय कलेज पढ्दा ताका नै कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेको हो। ऊ साम्यवादी दर्शनबाट प्रभावित छ। हुने खाने र हुँदा खाने, मालिक र मजदुर, शोषक र शोषित विचको संघर्षबारे ऊ प्रशिक्षित छ। सामन्तवाद र साम्राज्यवादबारे पनि जानकार छ।

उसलाई पार्टीले दर्नाल गाउँका दलितहरूलाई सङ्गठित गरी प्रशिक्षित गर्ने जिम्मेवारी दिएको छ। दलित बस्ती जहाँ गरिवी र अभाव व्याप्त छ। अशिक्षाका कारण भाग्यको खेल ठानी दलितहरू कर्मै खोटो भनी बस्ने गर्छन्। भाग्यवादमा विश्वास गर्दै पूर्वजन्मको कमाइ यस्तै रहेछ भनी अन्ध र रुढीवादमा चुर्लुम्मै डुबेका छन्।

यस्तो बस्तीमा सङ्गठन निर्माण गर्नु कुनै ख्यालठट्टा थिएन। यो जटिल कामको जिम्मेवारी दिग्विजयले प्राप्त गरेको थियो। वर्ग विभेदले थिचिएको, जातीय रूपमा उँचोनिचो बनाइएको, पानी चल्ने र नचल्ने भनी बनाइएको जात व्यवस्थामा जकडिएका दलितहरूलाई प्रशिक्षित गरी सङ्गठन निर्माण गर्नु फलामको चिउरा चपाउनु सरह थियो।

तथापि दिग्विजयले ती सबै अवस्था चिर्ने हिम्मतका साथ दलित बस्तीमै शेल्टर बनाई काम अगाडि बढायो। एक महिनाको अथक प्रयत्नमा उसले सङ्गठन निर्माण गर्न सक्यो। दलितहरू सङगठित भई आफ्नो अधिकार खोज्ने हैसियतमा पुगे। वर्ग विभेद वास्तवमै सामन्तहरूले गरिवहरूलाई थिचोमिचो गर्न बनाइएको कथित नियम रहेछ भन्ने कुरामा पनि उनीहरू प्रस्ट भए।                                                                                    

प्रकाशित: २१ फाल्गुन २०८१ १२:३५ बुधबार

# Nagarik ko 'Akshaar' # Nagarik # Goal achievement # regular financial support