१) मुक्तक
मेरा आँखालाई छलेर किन बाहिर आउँछन् आसुँ
यो मुटुलाई दुखाएर किन बाहिर धाउँछन् आँसु
मोतीझैं टल्किदै बगिरहन्छ यी मेरा गालामा
हातले छाम्दा हातैमा माया किन लाउँछन् आँसु।
२) मुक्तक
वर्षातमा जोगिनलाई आफ्नो न्यानो घर चाहिन्छ
हामी बीच साझा रहने सबको प्यारो थर चाहिन्छ
असमानताका खाडल पुरेर अघि बढ्नलाई
एक अर्का मा सद्भाव राख्ने विश्वासिलो भर चाहिन्छ।
३) मुक्तक
साथी सफलता र असफलता दुवैमा छुटे
अनि सपना र विपना दुवैले मेरा खुसी लुटे
मिठो सपना, सुन्दर र सुखद् पलहरूले
अनायासै मनसँग सम्बन्धै नराखी त्यसै टुटे।
४) मुक्तक
आकाशमा रवि उदाउनु त ताराहरू बिलाउनु
तिमी योग्य भएर आउनु दिलमा दिल मिलाउनु
मिठो मुस्कानसहित उज्यालो मुहार बनाउँदै
मलाई अजम्बरी सञ्जीवनीको अमृत पिलाउनु।
५) मुक्तक
टलक्क ऐना टल्किंदा आफैंले आफैंलाई हेरें मैले
झलक्क मुहार ऐनामा देखिंदा मायाले बेरें मैले
आफ्नो मुहार अति सुन्दर भएको देख्नलाई
जादुमय ऐनाको खोजीमा धेरै नै ऐना फेरें मैंले।
प्रकाशित: १ फाल्गुन २०८१ १२:०४ बिहीबार





-600x400.jpg)