भारतको चर्चित शो ‘इन्डियाज गट लेटेन्ट’ मा युट्युबर रणवीर इलाहाबादियाको विवादास्पद बयानपछि विवाद बढेको छ। यसको परिणामस्वरूप, युट्युबले विवादास्पद एपिसोड हटाएको छ।
मुद्दा दर्ता भएपछि, मुम्बई प्रहरीले प्रस्तोता एवं कमेडियन समय रैना र अतिथि रणवीरलाई खाेज्दैछ। प्रहरीले दुवैलाई अनुसन्धानमा सहयोग गर्न र पक्ष राख्न भनेको छ।
भारतको राष्ट्रिय मानव अधिकार आयोगले त्यो एपिसोड हटाउन युट्युबलाई पत्र पठाएको थियो। रणवीरले आफ्नो बयानका लागि माफी मागिसकेका छन्। कार्यक्रमले अभिव्यक्ति स्वतन्त्रताको नाममा अश्लील सामग्री फैलाएर समाजमा गलत मानसिकतालाई बढावा दिएको आरोप लगाइएको छ।
स्ट्यान्ड-अप कमेडियन समय रैनाको यो शाे यसअघि पनि विवादमा परेकाे थियाे। हालै युट्युबमा प्रशारण भएको साे एपिसोडमा बोल्ड कमेडीका नाममा अश्लील सामग्री समावेश गरिएको थियो। शोमा आमाबाबु र महिलाहरूमाथि गरिएको टिप्पणी विवादमा परेको हो। रणवीरले एक जना सहभागीलाई 'के तिमी आफ्ना आमाबाबुबीचको सम्बन्ध प्रत्यक्ष हेर्न सक्छौँ?' भन्नेजस्ता भद्दा प्रश्न गरेका छन्।
अधिवक्ता आशिष राईको उजुरीपछि, रणवीर, समय, अपूर्व मखिजा र कार्यक्रमका आयोजकहरूविरुद्ध मुम्बईको खार प्रहरी चौकीमा एफआईआर दर्ता भएको छ। आसाममा पनि मुद्दा दायर भएको छ। केही हिन्दू संगठनहरूले विवादास्पद भिडियोको विरोध गरेका छन्।
रणवीरलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुरस्कार दिएका थिए। यस्तो व्यक्तित्वलाई देशका प्रधानमन्त्रीले सम्मान दिनु कति उचित हो भनेर थप विरोध भइरहेको छ। त्यस्तै, समय रैना पनि हालै 'कौन बनेगा करोडपति' शोमा अमिताभ बच्चनसँग देखिएका थिए।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुनुहुँदैन भन्दै यस्तो बयान दिएकोमा रणवीर इलाहाबादिया विरुद्ध कडा कारबाही गरिने बताएका छन्।
अर्कोतर्फ, शिव सेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले पनि यो मुद्दालाई संसदको स्थायी समितिमा लैजाने वाचा गरेकी छिन्। भारतमा कमेडीको नाममा हुने यस्ता अश्लीलतामाथि लगाम लगाएर सीमा तोक्नुपर्ने बहस सुरू हुँदैछ।
प्रकाशित: २९ माघ २०८१ १४:०४ मंगलबार





