दास प्रथाको अन्त्य भएको शताब्दी वर्ष मनाइँदै थियो। शताब्दी घोषणापत्र जारी हुने कार्यक्रम थियो।
कार्यक्रममा घोषणापत्रमाथि सुझाव दिँदै सहभागीमध्येको एकले भन्यो, “दास प्रथाको अन्त्य कागजमा भयो, कानूनमा भयो तर व्यवहारमा भएन। त्यसैले दास प्रथाको अन्त्यका लागि हाम्रा व्यवहारमा परिवर्तन आउनुपर्छ।“
व्यवहार परिवर्तनका लागि मानसिकतामा परिवर्तन आउनुपर्छ। मानसिकता एकदुई जनाको परिवर्तन भएर हुँदैन, सबैको परिवर्तन हुनुपर्छ।“ दोस्रोले थप्यो।
तेस्रोले प्रश्न गर्याे, “सबैको मानसिकता परिवर्तनका लागि चेतना जगाउन हामी टोलटोल, गाउँगाउँ, जिल्लाजिल्ला पुग्नुपर्छ। यसरी सबै ठाउँ पुग्न खर्च लाग्छ, खर्च कहाँबाट आउँछ?“
घोषणापत्रको मस्यैदा लेख्नेमध्ये एकले भन्यो, “पैसाका लागि दाता चाहिन्छ। दातालाई प्रस्ताव पेश गर्नुपर्छ। परियोजना प्रस्ताव पेश गर्दैमा कसैले लगानी गर्दैन, यसका लागि दातालाइ खुसी पार्नुपर्छ। दाता खुसी पार्न सक्ने मान्छे चाहिन्छ।”
अर्कोले थप्यो, “दाता त्यति सजिलै खुसी हुन्नन् तर खुसी पार्न नसकिने पनि होइन। दाता खुसी हुन उनीहरूले जेजे भन्छन् त्यहीत्यही गर्नुपर्छ। उनीहरूले भने बमोजिम प्रतिवेदन तयार पार्नुपर्छ। उनीहरुले जे भन्छन्‚ हस् हजुर भन्नुपर्छ। उनीहरू जेजे गर्दा खुसी हुन्छन्‚ त्यहीत्यही गर्नुपर्छ। यति गर्न सक्यो भने परियोजनाका लागि अनुदान मिल्छ। अनुदान आयो भने हाम्रो मानिसकता परिवर्तन हुन्छ। मानसिकता परिवर्तन हुनासाथ दासप्रथा व्यवहारमा अन्त्य हुन्छ।”
अनुदान ल्याएर मानिसकता परिवर्तन गर्ने प्रस्तावमा सबै सहमत भए। यो प्रस्तावलाई घोषणापत्रको १ नं. मा राखियो।
दास मानसिकता अन्त्य गर्न दास नै बन्ने प्रस्ताव सर्वसम्मत पारित भो।
प्रकाशित: २० माघ २०८१ ११:३३ आइतबार





