१३ फाल्गुन २०८१ मंगलबार
image/svg+xml २:२७ पूर्वाह्न
कला

इथर नाकमा लगाएर मुर्छा हुँदाखेरि,मात्र पैसा सुँघाएको जुरुक्कै उठेछ!

मुक्तक

१) मुक्तक

माथि पुग्यो चङ्गा, देख्छु भिरमाथि छाँगो,

कसको कसको हातमा छ लट्टाइको फ्याँगो।

छिनाल्ने वा माथि लग्ने हावाले हो चिन्छु,

खिरिलो छ चङ्गारूपी यो जिन्दगीको धागो।

२) मुक्तक

अन्तर तिर्थाटनको बेला निकै दुःख खपियो,

आफ्नै प्रभु मानी उनको किर्तन जपियो।

यहाँ धर्म जस्तो राजनीति पनि उस्तै हुने,

फलस्वरूप ओहदामा बसिरहने आयु थपियो।

३) मुक्तक

संगत हो, धनको फाइदा मात्रै सुनेछ,

मोह जागेर पैसा लुट्नसम्म लुटेछ।

इथर नाकमा लगाएर मुर्छा हुँदाखेरि,

मात्र पैसा सुँघाएको जुरुक्कै उठेछ।

४) मुक्तक

उसैले बिगारी उसैले समाली,

थिई सिपालु लिई र–थ–काली।

को सक्छ र आउन? झोलामा,

कागज–का–चो–ला–हा–ली!

५) मुक्तक

जीवन–फूलवारी, फूल, काँडा र पातमा,

कोपिला फक्रिन्छ जवानी र–ज–मातमा।

हल्केका विरुवा मुना हेर्दै टहटह हतारमा,

एउटी फूल, फूल मुसार्छिन् सहज हातमा।

६) मुक्तक

पसिना त बिर्सिएँ हुँला, तर बारी सम्झिएको छु,

नयाँ रूख बढे, तर फँडानी घारी सम्झिएको छु।

यो स्मृति र विस्मृतिले नयाँनयाँ मोड लिँदै गर्दा,

त्यो रुख बिर्सिएँ हुँला तर छहारी सम्झिएको छु।

७) मुक्तक

डाल जेहोस्, डल्ले, जिरे क्या पिरो थियो,

एउटा–दुईटा होइन, सबको मनमा हिरो थियो।

रातभरमा अग्राखको टुसा पलाएझैँ, मुडोमा,

विहान हेर्दा घिनलाग्दो ऊ झुसिल्किरो थियो।

८) मुक्तक

खेर गए सबै यत्न, खटपट पनि झन् भयो,

मेरा मनका इच्छाहरू उसैबाट दहन् भयो।

ग्रहदसा भन्छन् मान्छे बिग्रन्छ कि कसो हो यो!

हृदयमा राख्दाराख्दै आफ्नै मान्छे दुष्मन् भयो।

९) मुक्तक

इसारामा नबुझिए फेरि कुरा कोडमा,

एकैछिनमा पुगिहाल्छ कुरा निचोडमा।

आनीबानी स्वभाव जम्मै मन परेर होला,

हजारमा बोली बिक्दा हाँसो करोडमा।

१०) मुक्तक  

सानो घटना, बढ्तै हुन्छ गनगन् यहाँ,

झुण्डभित्र वितण्डा प्रष्ट हुन्छ झन् यहाँ।

जसलाई महान् मान्छे मानिदिन्छौँ हामी,

उनै मान्छे महँगोमा बिक्री हुन्छन् यहाँ।

- बाबुराम पोखरेल    

प्रकाशित: १८ माघ २०८१ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App