पूर्व सहायक रथी डा. केशरबहादुर भण्डारीको ‘संस्था र व्यवस्था: असमञ्जसमा नेपाल’ बिहीबार सार्वजनिक गरिएको छ। दरबार हत्याकाण्डसँग सम्बन्धित रहेर प्रस्तुत गरिएको पुस्तक नेपालको राजसंस्था, वर्तमान व्यवस्था र भावी परिदृश्यलाई मुख्य विषयवस्तुमा केन्द्रित रहेर लेखिएको छ।
सांग्रिला बुक्सले प्रकाशन गरेको यस पुस्तकको पहिलो भागमा दरबार हत्याकाण्ड; दोस्रो भागमा संस्था, व्यवस्था र सेना अनि तेस्रो भागमा सम्भाव्य परिदृश्यबारे चर्चा गरिएको छ। डा. गौरीशंकरलाल दासको सभापतित्वमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, सुरक्षाविज्ञ डा. इन्द्र अधिकारी, पूर्व प्रशासक तथा लेखक डा. द्वारिकानाथ ढुंगेलले समीक्षा गरेका थिए।
समीक्षा क्रममा पत्रकार अधिकारीले दुनैमा माओवादीले आक्रमण गरिरहेका बेला डेढ घन्टा पर्तिर रहेको सेना आदेश पर्खिएर बसेको प्रसंग उक्काउँदै सेनाले राजनीति गर्न नहुने तर बुझेर काम गर्न छाड्न नहुने बताए। कम्तीमा आगो लागेपछि निभाउन जानुलाई कर्तव्य नै मान्नुपर्ने बताए।
त्यसैगरी सुरक्षाविज्ञ डा. इन्द्र अधिकारीले पुस्तकमा महिला पात्र अरूभन्दा बढी दोषी देखिएको बताइन्। सेनाभित्रका बेथिति र पक्षपातको चर्चा गरिएको बताइन्। यस्तै डा. द्वारिकानाथ ढुंगेलले लेखकले सीमित व्यक्ति अनि बेथिति र विकृतिको वृत्तमा देशलाई घुमाएर देश अघि बढ्न नसक्ने प्रस्ट भाषा लेखेको बताए।
राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा विषयमा कलम चलाउने डा. केशरबहादुर भण्डारी पूर्व सहायक रथी हुन्। संयुक्त राष्ट्रसंघअन्तर्गत पाकिस्तान र अफगानिस्तानमा सैनिक सल्लाहकार भई काम गरेका भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा अनुसन्धानमूलक लेख रचना प्रकाशित गरेका छन्।
प्राज्ञ डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रम पत्रकार जीवराम भण्डारीले सञ्चालन गरेका थिए।
प्रकाशित: १८ माघ २०८१ ०८:२३ शुक्रबार