११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

सुदूरमा पुतला नाचको रौनक

अछाम-नयाँ बर्षको दिनदेखी बैशाख पहिलो हप्ता सम्म मनाईने बीसु पर्वको अवसरमा खेलिने पुलता नाचले यती बेला सुदूरपश्चिममा रौनकता छाएको छ। बीसु तिहारमा महिलाहरुले खेल्ने पुतला नाँचले केहि दिन पहिले देखि नै अछाम बाजुरा लगायतका जिल्लाका गाउँ गाउँमा रौनकता छाएको छ।

पश्चिम पहाडका गाउँमा गाउँदै खेल्दै नारीप्रधान लोकनाच समेत हो पुतला। नारीका मार्मिक पिरव्यथा झल्काउने यो नाच पछिल्लो समय भने संकटमा पर्न थालेको छ । गाउँघरमा नारीले छिटो फरिया, रातो चौबन्दी र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पंक्तिबद्ध बिरहका गीत गाउँदै नाच्दा सुदूरपहाडका बस्तीमा बेग्लै रौनकता आउँछ। पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन सकेको छैन। पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुखय कारण हो भन्छन् मेल्लेखका काशीराम रोकाया। ‘यही कारणले पुतला संकटको अवस्थामा पुगेको छ, लोकसंस्कृति प्रेमीले यसलाई जोगाउन लाग्नुपर्ने अवस्था आईसकेको छ’उनले चिन्ता व्यक्त गरे।

अछाम र बाजुराको संगममा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा परेका बेला पुतला नाच सुरु गराएको भन्ने भनाइ छ। मधेसमा विवाह गरी गएकी छोरीको मृत्यु शोकमा रहेका राजाले उनको सम्झना गर्दै पुतला खेल खेल्न लगाएपछि यो परम्परा बसेको नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका संगीत विभाग पूर्वप्रमुख यज्ञराज उपाध्यायले बताए। ‘राजा घ्याम्पोकी छोरी रनमैयाको विवाह मधेसमा गर्दा सर्पको टोकाइबाट मृत्यु भएको थियो,’ रनपुतलाको इतिहासबारे उपाध्यायले भने, ‘इच्छा विपरीत विवाह गराइएकी छोरीले मृत्युपूर्व मधेसमा हुने गर्मी, त्यहाँका सर्प–बिच्छीको डरबारे दुखेसो पोख्दै बुवालाई खबर पठाएकी थिइन। पछि त्यही कारणले मृत्यु भएको खबरले पुत्री शोकमा परेका राजाले छोरीको सम्झना स्वरूप पुतला खेल लगाएका थिए। कालान्तरमा उनै छोरीको नामबाट पुतला संस्कृतिको नाम रहन गयो।’

पुतला बझाङ, बाजुरा र अछाममा विशेष रूपमा मनाइन्छ भने अछाम सीमाना जोडिएका डोटीका क्षेत्रमा पनि यो खेल्ने चलन छ। परम्परागत रूपमा चल्दै आएको पुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ। पुतला नाच खेल्दै छोरीहरूले पोइली घरमा भोगेका पीडाहरू र माइती घरमा विवाह नभएका युवतीहरूका नभोगेका बारेमा बनाइएका गीत गाइने गरिन्छ। पुरानो पुस्तासँगै यो नाच समेत हराउने चिन्ता बढेको छ । पछिल्लो सयम निकै कम गाउँमा मात्र यसलाई खेल्ने गरिन्छ। मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको छ।

प्रकाशित: ४ वैशाख २०७५ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App