१४ पुस २०८१ आइतबार
image/svg+xml
कला

सम्झनामा आमा अर्थात् पञ्चायतकी ‘बाहिरिया’

स्मृति

सन् १९८६ मा भएको ‘राष्ट्रिय पञ्चायत’ चुनावमा मेरी आमा झिनो मतान्तरले पराजित हुनुभयो। त्यो चुनाव सक्रिय राजतन्त्रअन्तर्गतको प्रतिनिधिसभाको अन्तिम चुनाव थियो। पञ्चायती व्यवस्थापछि नेपालमा सक्रिय राजतन्त्रको अन्त्य भयो। त्यसको तीन दशकपछि त्यतिखेरको चुनावी धाँधलीमा संलग्न व्यक्तिले मेरी आमासँग खुलासा गरे– उहाँले सजिलै जित्ने देखिएपछि मतपेटिका रातारात बदलिएको थियो। स्पष्टै थियो– त्यतिखेरका सत्तासीनहरूले यस्ता हेरफेर र चुनावी धाँधली सजिलै गर्न सक्थे।

मेरी आमा दलकुमारी सुनुवार तत्कालीन सत्तावृत्तभन्दा बाहिरकी अर्थात् ‘बाहिरिया’ हुनुहुन्थ्यो। उहाँलाई चुनावमा हराइयो तर चुनावी परिणामले रामेछापका मतदातामा राजनीतिक चेतना जगायो। धेरै पुरुष–महिलालाई राजनीतिमा आउन प्रेरित ग¥यो, उनीहरूलाई राजनीतिमा प्रवेश गर्ने ढोका खोल्यो।

सन् २००८ मा उहाँ संविधानसभामा चुनिनुभयो, त्यो सभासँग व्यवस्थापिका–संसद्को कार्यभारसमेत थियो। सांसद हुँदा उहाँले महिला र आदिवासी जनजातिको अधिकारलाई सम्बोधन गर्न नेपालको संविधान–मस्यौदामा महत्त्वपूर्ण योगदान दिनुभएको थियो। गत वर्ष निधन हुनुअघि उहाँ चार दशकभन्दा बढी समयदेखि सार्वजनिक सेवामा हुनुहुन्थ्यो।

सेप्टेम्बर २०२३ मा उहाँलाई थाइरोइड क्यान्सर भएको हामीले थाहा पायौं। रोग निदान भएको ९० दिनपछि डिसेम्बर, २०२३ मा उहाँको निधन भयो। परिवारमा यस्तो आकस्मिक विपत्ति आइलाग्छ भन्ने हामीलाई अनुमान नै थिएन। भारतको दिल्लीमा उपचार भइरहेका बेला नोभेम्बर २६, २०२३ मा मैले उहाँलाई अन्तिम पटक भेटेको थिएँ। उहाँ असाध्यै हिम्मतिली, लडाकु हुनुहुन्थ्यो। जीवनका अन्तिम क्षणहरूमा समेत हार मान्ने कुनै संकेत देखाउनुभएन।

राजनीति र जनसेवाको उहाँको यात्रा सहज थिएन। औपचारिक शिक्षामा नगन्य पहुँच भएको तत्कालीन रामेछापको एउटा दुर्गम गाउँमा उहाँ जन्मिनुभयो। जताततै चुनौती नै चुनौती थिए, सबै झेल्नुभयो। ८२ वर्षअघिको नेपालको राजनीतिक, शैक्षिक परिदृश्य त्यस्तै थियो। गाउँमा विद्यालयहरूको लगभग अस्तित्व नै थिएन। त्यस्तो पृष्ठभूमिबाट उठेर राष्ट्रिय स्तरमा आफ्नो समुदायको प्रतिनिधित्व गर्ने स्तरको उहाँको उदय साँच्चै उल्लेखनीय र प्रेरणादायी थियो।

पूर्वी नेपालमा सन् १९५० मा राणाशासनविरुद्ध सशस्त्र क्रान्तिमा भाग लिनुभएका उहाँका बुबा (हाम्रा हजुरबुबा) कांग्रेस मुक्तिसेनाको सदस्य हुनहुन्थ्यो। आमा नौ वर्षकै हुँदा हजुरबुबा बित्नुभयो। त्यसैले उहाँले छोरीको उडान र सफलतालाई देख्न पाउनुभएन। यद्यपि, उहाँले हजुरआमालाई लेकबेँसीका प्रशस्त जमिन र गाईवस्तु छोडेर जानुभएको थियो।

बेँसीको न्यानो जमिनमा हिउँदमा गाईवस्तु पाल्ने गरिन्थ्यो र गर्मी समयमा तिनै गाईवस्तु लेकको चिसोतिर उकालिन्थ्यो। मेरी आमा र हजुरआमालाई सबै जमिन र गाईवस्तुको हेरचाह गर्न गाह्रो थियो। आमालाई कलिलो उमेरमै आफ्ना चार बहिनी, एक भाइको हेरचाह गर्नुपर्ने थप जिम्मेवारी आइलागेको थियो। त्यतिखेर हजुरआमाले पनि धेरै उमेर खानुभएको थिएन। र, हजुरआमालाई सघाउँदै भाइबहिनीलाई हुर्काउने जिम्मेवारीले सानैमा आमालाई परिपक्व बनाएको थियो।

आमाको मावली हजुरबुबा त्यतिबेला गाउँमा धनीमानी मानिनुहुन्थ्यो। उहाँसँग धेरै जग्गा थियो। पूर्वी नेपालमा खिजी, ओखलढुंगा भनेर चिनिने ठुलो पशुफार्म थियो उहाँसँग। त्यहाँ पालिएका गाईभैंसीको दुध लिखु खोलामा खन्याउने हो भने खोला पूरै सेतो हुन्छ भन्ने आहानै चलेको थियो रे। तर पनि हजुरआमाले उहाँका बुबासँग सहयोग माग्नुभएन, बरु आमाछोरी मिलेर संघर्ष गर्दै परिवारलाई स्वतन्त्र रूपले हुर्काउनुभयो। त्यति सानै उमेरमा त्यो स्तरको चुनौतीको सामना र अनुभवले मेरी आमालाई बलियो बनायो। जनताको सेवा र राजनीतिमा लाग्ने प्रेरणाको स्रोत त्यही हुनुपर्छ भन्ने मेरो ठम्याइ छ।

मेरा बुबा, लेफ्टिनेन्ट मानबहादुर सुनुवार एक सेवानिवृत्त ब्रिटिस गोर्खा अफिसर हुनुहुन्थ्यो, जसले मेरी आमाको राजनीतिक यात्रालाई आर्थिक र नैतिक रूपले सधैं सघाउनुभयो। बुबाले सन् १९७३ मा ब्रिटिस गोर्खा रेजिमेन्टबाट अवकाश लिएपछि उहाँहरूको समाज–समर्पित सार्वजनिक जीवन सुरु भएको थियो।

चाहेको भए उहाँहरूले आफ्नो सेवानिवृत्त जीवन गाउँमै वा सहरतिर आराम गरेर बिताउन सक्नुहुन्थ्यो तर उहाँहरू दुवैले जीवनका पछिल्ला वर्षहरू सार्वजनिक सेवामा समर्पित गर्ने अठोट गर्नुभयो। विपन्नलाई सहयोग गर्ने र राष्ट्रिय स्तरको राजनीतिमा उठ्ने उहाँहरूको लक्ष्य थियो।

मेरी आमाले रामेछापको आफ्नो निर्वाचन क्षेत्रमा सीमान्तकृत महिलाहरूका लागि सिलाइ, उन्नत खेती, गलैंचा बुनाइ, साक्षरता अभियानसँगै अन्य सिपमूलक, व्यावसायिक कार्यक्रमहरू चलाउनुभयो। उहाँको मुख्य लक्ष्य महिलाहरूलाई आत्मनिर्भर बनाउने र गरिबीबाट मुक्त गर्न मद्दत गर्ने थियो। उहाँलाई थाहा थियो– जनसंख्याको आधा भाग महिला हुन् र महिलाको उत्थान गर्नु समग्र समाजको उत्थानकै अर्को रूप हो। उहाँले ‘नारी शिल्पकला केन्द्र’ नामको गैरनाफामूलक संस्थामार्फत् यस्तो काम गर्नुभयो। सन् १९८४ मा स्थापना भएको यो संस्था पछि नेपाल सरकारलाई हस्तान्तरण गरियो।

‘नारी शिल्पकला केन्द्र’ महिलाका लागि व्यावसायिक तालिम केन्द्र थियो। पछि उहाँले हुपिङ महिला जागरण नामको यस्तै अर्को अभियान पनि चलाउनुभयो। त्यो अभियान अहिले पनि चलिरहेको छ। यी संस्था र तिनले चलाउने कार्यक्रमबाट हजारौं महिला लाभान्वित भएका छन्। वास्तवमै आमा महिला उत्थानकी एक सफल अभियन्ता हुनुहुन्थ्यो। उहाँ सन् २००४ मा नेपाल सरकारले प्रदान गर्ने उच्च नागरिक सम्मान सुप्रबल गोर्खा दक्षिण बाहुबाट समेत सम्मानित हुनभएको थियो।

आमा र बुबाले विभिन्न परोपकारी प्रयासका लागि प्रशस्तै जग्गा दान गर्नुभयो– गाउँको विद्यालयका लागि कोष र जग्गा दान, गाउँको अस्पताल निर्माणका लागि जग्गा दान, स्थानीय सरकारको कार्यालय निर्माणका लागि जग्गा दान तीमध्ये केही हुन्।

किराँत संस्कृति सम्वर्धन, प्रवर्धनमा पनि उहाँ समर्पित हुनुहुन्थ्यो। उहाँले सुनुवार जातिको भाषा, परम्परागत पहिरन, गहना, सांस्कृतिक सम्पदा जोगाउन महत्त्वपूर्ण प्रयास गर्नुभयो। सुनुवार समुदाय राई र लिम्बुसँगै किराँतहरूको अभिन्न अंग हो।

आमाबुबाले काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा रहेको नेपाल राष्ट्रिय एथ्नोग्राफिक सङ्ग्रहालयको निर्माणमा पनि सहयोग गर्नुभयो। आमाले राजधानी काठमाडौंमा रहेको सुनुवार वेलफेयर सोसाइटीको कार्यालय भवन निर्माणमा समेत सहयोग गर्नुभयो।

आफ्नो सार्वजनिक जीवनमा उहाँले विभिन्न सामाजिक, सार्वजनिक पदहरूमा रहेर काम गर्नुभयो। संसद्का विभिन्न समितिहरूमा उहाँले आफ्नो सक्रियता देखाउनुभयो। उहाँ केही समय तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको राजपरिषद् स्थायी समितिको सदस्य पनि हुनुहुन्थ्यो।

उहाँका दूरदर्शी मानसिकता, निर्णायक र निर्भीक स्वभाव र सामाजिक बौद्धिकता अनुकरण गर्नलायक गुणहरू हुन्। उहाँ आफ्नो बाटोमा अटल र स्पष्ट हुनुहुन्थ्यो, दृढ संकल्पका साथ चुनौतीहरूको सामना गर्न रुचाउनुहुन्थ्यो र अरूलाई सहयोग गर्न सधैं इच्छुक। उहाँको बल नै उहाँको साहसमा थियो– असमानताविरुद्ध लड्ने साहस, भेदभावका विरुद्ध बोल्ने र चुनौतीहरूको सामना गर्ने साहस।

आफ्नो राजनीतिक यात्रामा अनवरत हिँड्दाहिँड्दै पनि उहाँ र बुबाले हामी तीन भाइ (माहिलो दाइको सानैमा मृत्यु भएको थियो) छोराहरूलाई हुर्काउनुभयो। हामीलाई मार्गदर्शन दिनुभयो। नैतिक मूल्य, मेहनतको मूल्य, सामाजिक सेवाको महत्त्व बुझाउँदै सफलताका लागि कुनै छोटो बाटो छैन भनेर सिकाउनुभयो। ती मूल्यमान्यताले हामीलाई सदासर्वदा अभिप्रेरित गरिरहेका छन्।

मेरो ठुलो दाजुले ब्रिटिस सेनामा सेवा गर्नुभयो र अहिले मेरा बुबाको हेरचाह गर्नुहुन्छ। साँहिलो दाजुले नेपाली सेनाबाट ब्रिगेडियर जनरलको हैसियतमा अवकाश लिनुभयो। नेपाल प्रहरीमा ‘कमिसन्ड’ प्रहरी अधिकृतका रूपमा पाँच वर्ष सेवा गरेपछि म सन् २००४ मा अमेरिका आएँ।

मेरा आमाबुबाले हामीलाई मात्र हुर्काउनुभएन। उहाँहरूले मद्धत खोजिरहेका अरू धेरै बच्चाहरूलाई पनि हुर्काउनुभयो। हामी सबै सँगै हुर्कियौं। हामी सँगै बस्थ्यौं, खेल्थ्यौं, पढ्थ्यौं र काम गथ्र्यौं। आमाबुबाले घरका सबै बच्चालाई समान व्यवहार गर्नुहुन्थ्यो। हामीलाई हाम्रो घरमा हुर्किएका, पालिएका अरू केटाकेटीभन्दा अलग व्यवहार हुँदैनथ्यो। हामी दाजुभाइले आमा र बुबाबाट सबै मानिसलाई समान व्यवहार गर्ने शिक्षा र मार्गदर्शन पायौं।

मेरी आमा एक निडर र प्रतिभाशाली योद्धा हुनुहुन्थ्यो। उहाँले जीवनमा धेरै खालका लडाइँ जित्नुभयो तर क्यान्सरविरुद्धको अन्तिम लडाइँ जित्न सक्नुभएन। तर, उहाँको विरासतले कहिल्यै हार्ने छैन, हारेको छैन। कठिनाइ, संकटका क्षणमा म उहाँलाई सम्झन्छु र बल जुटाउँछु। अहिले उहाँ स्वर्गमा हुनुहुन्छ, भगवानसँग बस्नुहुन्छ। मलाई थाहा छ– उहाँले हाम्रो रक्षा गरिरहनुभएको छ।

प्रकाशित: १३ पुस २०८१ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App