१२ असार २०८१ बुधबार
image/svg+xml
कला

ट्रेलरमा कविर र सलोनको ‘लम्फू’

काठमाडौं – पाँच वर्ष अघि फिल्म ‘लम्फू’ बन्ने समाचार सार्वजनिक हुँदा फिल्मको शीर्ष चरित्रमा निर्देशक सुदर्शन थापाले अभिनय गर्ने चर्चा चल्यो। तर फिल्म निर्माण पक्ष र सुदर्शनबीच तालमेल नमिल्दा लामो समयपछि नयाँ कलाकार लिएर फिल्म निर्माणको घोषणा भयो। राजधानीमा बिहीबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा यही विषयमा पत्रकारले जिज्ञाषा राख्दा निर्देशक गोपालचन्द्र लामिछानेले यो विषयमा दुवै पक्षको ‘गल्ती’ भएको स्वीकारे।

‘यसमा सुदर्शन र हाम्रो पनि गल्ती भएको छ। त्यो गल्ती के कारणले भयो भन्ने हामीले समीक्षा गरिसकेका छौं,’उनले भने,‘हामी फिल्म प्रदर्शनको अवस्थामा आइसकेका छौं। अब विगतलाई कोट्याएर अघि बढ्नु भन्दा विगत बिर्सेर अहिले फिल्मलाई कसरी राम्रोसँग प्रमोसन गर्नेमा ध्यान दिइरहेका छौं।’

निर्देशक लामिछानेले आफूले अहिलेसम्म निर्देशन गरेका सबै फिल्मबाट राम्रो प्रतिक्रिया पाइरहेको जनाउँदै ‘लम्फू’लाई प्राप्त हुने सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आफ्ना लागि स्वीकार्य हुने बताए। ‘फिल्मको समिक्षा जस्तो सुकै आए पनि हामी स्वीकार्छौ। तर हालसम्म मैले बनाएका फिल्मको समीक्षा सकारात्मक आएकाले यो फिल्मले पनि नकारात्मक प्रतिक्रिया नपाउनेमा हामी ढुक्क छौं।’ उनले भने।

फिल्ममा नवनायक कविर खड्का शीर्ष भूमिकामा छन्। उनले फिल्ममा आफूले गरेको मेहनत खेर नजानेमा ढुक्क रहेको बताए। ‘मैले कलेजबाट फिल्मी अभिनयको शिक्षा लिएको छु। त्यो शिक्षालाई फिल्ममा शतप्रतिशत कार्यान्वयन गरेको छु। त्यसकारण पनि दर्शकले मेरो अभिनयलाई नराम्रो भन्नुहुन्न,’ खड्काले भने। खड्काले अस्कर कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरेका हुन्।

फिल्मका अर्का कलाकार सलोन बस्नेतले यसअघिका फिल्ममा भन्दा ‘लम्फू’मा आफू फरक चरित्रमा रहेको दाबी गरे। ‘ऐ मेरो हजुर २’, ‘गाजलु’, ‘होस्टेल’ जस्ता फिल्ममा दर्शकले देख्नु भएको सलोनलाई यो फिल्ममा फरक भूमिकामा देख्नुहुनेछ। ती फिल्मसँग यो फिल्ममा मेरो अभिनयको तालमेल मिल्दैन ’सलोनले भने।

फिल्ममा सामाजिक सञ्जालमा ‘तरकारीवाली’का रुपमा भाइरल भएकी कुसुम श्रेष्ठको पनि अभिनय छ। उनले पहिलोपटक फिल्ममा काम गर्दा धेरै कुरा सिक्न पाएको बताउँदै यो फिल्म चलेपछि मात्र अरु फिल्म गर्ने वा नगर्ने निर्णय गर्ने खुलाइन्।

वैशाख २८ गते रिलिज हुने फिल्ममा कमेडी, सस्पेन्स, पीडा, विछोडलगायतका विषय समेटिएका छन्। पपुलर मिडियाको व्यानरमा शक्तिवल्दव घोरासैनीले निर्माण गरेको फिल्ममा कविर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोखरेल, कुसुम श्रेष्ठ र कुसाग्र भट्टराईको अभिनय छ। फिल्ममा भूपतिको कथा, पटकथा तथा संवाद, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र अर्जुन पोखरेलको संगीत छ।

प्रकाशित: ३० चैत्र २०७४ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App