१२ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

राजनीति अमर्यादित खेल कहाँ हो र साथी!

मुक्तक

१) मुक्तक

प्रसाद मानेर अभक्ष वस्तु खाँदै खाइँदैन

कागजको फूलमा अत्तर छरेर लाइँदैन

मन्दिरभित्र जाँदा मनै झुकाउनुपर्छ मित्र

मात्र शिर झुकाउँदैमा वरदान पाइँदैन।

२) मुक्तक

प्रेम मोह र प्रणय बिचको चासो हो

सौन्दर्य र आकर्षणको पासो हो

प्रेम दिमागको उपज होइन साथी

यो त स्वार्थरहित दिलको नासो हो।

३) मुक्तक

कुनै बन्द छन कुनै ढोका खुलेका छन्

कुनैबाट आफ्नालाई भित्र हुलेका छन्

क्या मस्ती छ जनआवाज पुग्दैन त्यहाँ

कुनै निदाएका छन कुनै झुलेका छन्।

४) मुक्तक

सौम्य छ, धेरै नचाहिँदा कुरा काट्दैन

अरूको प्रगति देखेर र्‍याल चाट्दैन

तब न रचयिता भनेर चिनिन्छ ऊ

मनमा नानाथरीको लठारो बाट्दैन।

५) मुक्तक

सत्य र असत्य के हो दुविधा भयो भने

गन्तव्य मार्गसित अनभिज्ञ रह्यो भने

पुगिएला हामी सोच त मित्र वर

पैतालो जता जान्छ आफू उतै गयो भने।

६) मुक्तक

उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ

कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ

राजनीति अमर्यादित खेल कहाँ हो र साथी?

यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।

७) मुक्तक

ध्यान, प्रणायम र योग त एक साधन रहेछ

जीवन र मरणको अन्तिम समाधान रहेछ

मूलभूत विषय त आन्तरिक चेतना हो मित्र,

अध्यात्मको प्रमुख सार तत्त्व आत्मज्ञान रहेछ।

८) मुक्तक

कसैको आँखामा छारो हाले

कसैको बाटोमा तगारो हाले

कति स्वार्थी रहेछन् ती नेता हेर,

आफ्नो थर्मोमिटरमा पारो हाले।

९) मुक्तक

कि मेरो दिमागभरि हिलो छ

कि यो भूतल नै गिलो छ

किन त जहाँ टेके पनि पैह्रो जाने,

कि मेरो पदचाप नै दम्किलो छ।

१०) मुक्तक

बदलिन्छ दाउ सधैं चौका हुँदैन

पानीमा उत्रिने मात्र नौका हुँदैन

हरसमय पश्चिम फर्कियो भने

उदाउँदो सूर्य हेर्ने मौका हुँदैन।

प्रकाशित: १८ मंसिर २०८१ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App