३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

एन्थ्रोपोसिन अभिलेखीकरणमा ‘फिल्म साउथएसिया’

बलिउड निर्देशक कविर खान।

सर्ट फिल्म र डकुमेन्ट्रीहरूको दक्षिण एसियाली मेला ‘फिल्म साउथ एसिया’ सुरू भएको छ। ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा बिहीबारदेखि फिल्म साउथ एसियाको १४औं संस्करण सुरु भएको हो।

फिल्म साउथएसियाको पहिलो सत्रमा डकुमेन्ट्रीबाट फिल्म यात्रा सुरु गरेका बलिउडका फिल्म निर्देशक कबिर खानले डकुमेन्ट्रीबाट मानवीय भावना बुझ्न पाएको बताए। ‘मैले डकुमेन्ट्री बनाउँदा वास्तविकता र मानवीय भावना बुझ्ने अवसर पाएको थिएँ,’ उनले भने, ‘यसले गहिरो अध्ययन तथा अनुसन्धान गर्न सिकायो। जसले फिल्म निर्माणमा ठुलो मद्दत पु¥याएको छ।’

उनले फिल्म निर्माणमा स्क्रिप्ट लेखन, कलाकार छनोट, प्रोडक्सन, पोस्ट–प्रोडक्सनलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

आइतबारसम्म चल्ने महोत्सवमा दक्षिण एसियाका ४७ फिल्मको प्रदर्शन गरिनेछ। ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा सुरू भएको महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत नौ देशका फिल्म प्रदर्शन गरिने जानकारी आयोजक पक्षले दिएको छ। महोत्सवमा भारतका २९, नेपालका पाँच, पाकिस्तानका चार, अफगानिस्तान, बंगलादेश, म्यानमार र श्रीलंकाका दुईदुई र भुटानको एउटा डकुमेन्ट्री प्रदर्शन गरिनेछ।

साउथएसिया गुठीले आयोजना गरेको महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट डकुमेन्ट्री र सर्ट फिल्मले विभिन्न पुरस्कार पाउनेछन्। महोत्सवमा पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित १० वर्षे सशस्त्र द्वन्द्वमा माओवादी पक्षबाट खटिएकी देवी खड्काको भोगाइमा आधारित ‘देवी’ डकुमेन्ट्रीको विशेष प्रदर्शनी हुनेछ। यसले द्वन्द्वकालमा महिलाले भोगेको बलात्कार र यातनाको कथा समेटेको छ। त्यस्तै ढोरपाटन बस्दै आएका दुई वयोवृद्धको एक्लोपनको कथामा आधारित राजन कठेत र सुनील पाण्डेको ‘नो विन्टर होलिडेज’ पनि महोत्सवका प्रदर्शन गरिने छ।

पुरस्कृत र अन्य डकुमेन्ट्रीलाई ‘ट्राभलिङ फिल्म साउथएसिया’ को नामबाट दक्षिण एसियासहित विभिन्न सहरमा प्रदर्शन गरिनेछ। ‘दक्षिण एसियामा जलवायु मुख्य संकटका रूपमा देखिएको हुँदा सोही विषयमा आधारित डकुमेन्ट्री र सर्ट फिल्महरू महोत्सवमा हेर्न सकिनेछ,’ गुठीका कार्यक्रम व्यवस्थापक पावोस मानन्धरले भने, ‘यसपटक दुई हजारभन्दा बढी आवेदन परेकोमा चार सय ८७ वटा मात्र मापदण्डभित्र परेका छन्।’

उनले अगाडि थपे, ‘छनोटका लागि साउथएसियामा बनेको, जलवायुका मुद्दा उठाएको र १० मिनेटभन्दा बढीको हुनुपर्ने मापदण्ड बनाएर डकुमेन्ट्री र सर्ट फिल्म छनोट गरिएको हो।’

 महोत्सवमा देखाइएका डकुमेन्ट्री र सर्ट फिल्मलाई विभिन्न पाँच विधामा अवार्ड दिइने छ। उत्कृष्ट डकुमेन्ट्रीले रामबहादुर ट्रफी पाउने छ। त्यस्तै, जुरी, बेस्ट फिल्म अन एन्थ्रोपोसन र बेस्ट स्टुडेन्ट फिल्म लगायत अवार्ड पनि छन्। फिल्म साउथएसिया महोत्सव सन् १९९७ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ।  

प्रकाशित: ७ मंसिर २०८१ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App