९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

स्वाभिमानी सर्जक

स्मृति

रमेश विकलको नाम आउनेबित्तिकै दुई–तीनवटा ससाना घटनाको सम्झना आउँछ मलाई।

२०५५ साल, सम्भवतः कात्तिक–मङ्सिर महिना थियो। मैले मेरा भान्जा सुवर्ण कर्माचार्यसँगको सहकार्यमा ‘घुयेँत्रो’को प्रकाशन आरम्भ गर्न लागेको समय थियो त्यो। स्मरणीय छ, २०१७ सालको राजनैतिक परिवर्तनपश्चात् ‘घुयेँत्रो’ मेरो जन्मस्थान साँघुटार, रामेछापबाट हस्तलिखित रूपमा प्रकाशित हुन्थ्यो।

त्यही पत्रिकाको इतिहासलाई विलुप्त हुन नदिने सोचको प्रयोजनार्थ ‘परिवर्तनका लागि अन्तर्दृष्टि र संवाद’को नारा लिएर हामीले कार्य प्रारम्भ गरेका थियौं। त्यसैले पहिलो अङ्कमा अग्रज साहित्यकारहरूको लेखरचना जुटाउने सिलसिलामा म पुगेँ प्रज्ञाप्रतिष्ठानस्थित रमेश विकलको कार्यकक्षमा। त्यसबेला तत्कालीन राजकीय नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञसदस्य थिए रमेश विकल।

मेरो छनौटमा उनी किन पनि प्राथमिकतामा थिए भने उनका ‘लाहुरे भैंसी’, ‘नयाँसडकको गीत’, ‘मधुमालतीको कथा’, ‘मेरी सानी भतिजी प्रतिमा’, ‘एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा’, ‘बूढो बकैनाको रुख’लगायतका मैले सानै उमेरमा पढेको मात्रै होइन, अत्यन्तै रुचाएका कथा–उपन्यासहरू थिए। त्यस्ता मेरा प्रिय लेखकको रचना पहिलो अङ्कमै समावेश गराउने लोभ हुनु अस्वाभाविक थिएन।

‘नमस्कार !’ मैले आफ्नो परिचयका साथ अनौपचारिक कुरो अगाडि बढाएँ, ‘यो पहिलो अङ्क राजाको जन्मदिनको महिना पारेर प्रकाशित गर्न लागेको। मलाई तपाईंको एउटा कथाको आवश्यकता प¥यो।’

उनीसँग मेरो त्यो प्रथम प्रत्यक्ष भेट थियो। तर एक किसिमको नमिठो भेट !

मेरो पहिलो अनुरोधपूर्ण वाक्यले उनलाई भित्र कतै घोचे जस्तो, भने– ‘तपाईंले राम्रै काम गर्न लाग्नुभएछ, तर तपाईं गलत ठाउँमा आउनुभो।’

म पहराबाट चिप्लेँ जस्तो भएँ। मैले पहिल्याउनै सकिनँ उनको वाक्यको तात्पर्य ? कतै म रमेश विकल भनेर अर्कै मान्छेसामु अनुरोध गर्न त पुगिनँ ?

मेरो अन्यमनस्क भाव देखेर होला, उनले तत्काल आफ्नो वाक्यको क्रम जोडे, ‘यस्तो अङ्कमा म आफ्नो रचना छाप्दिनँ।’

‘कस्तो अङ्क ?’ मेरो बोली बल्ल फुट्यो।

‘अरू अङ्क भए हुन्थ्यो, दिने थिएँ। यस्तो, ...राजाको जन्मोत्सवमा म लेख्तिनँ।’ उनको स्वरमा गजबको दृढता थियो।

तर मभित्र एक युवाजोश खोई कसरी जुरमुरायो, मैले मेरो सामुको अग्रज लेखक रमेश विकलसँग बडो खरोसँग बहसमा उत्रिएँ, ‘सर, तपाईं अहिले कुन कुर्सीमा बस्नुभएको छ ?’ मेरो तात्पर्य थियो, उनी जुन प्रतिष्ठानको कोठाभित्र बसिरहेका थिए, त्यो प्रतिष्ठानको मूलढोकाभित्र प्रवेश गर्नेबित्तिकै दिवङ्गत राजा महेन्द्रको सालिक उभिएको थियो।

मलाई स्वयम् थाहा थिएन, मलाई त्यत्ति दुर्वचन बोल्नुरहेछ, बोलिहालेँ। त्यतिखेर कुनै पश्चात्ताप पनि लागेन। र, मैले उनीबाट बिदा लिने सुरमा फेरि भनेँ– ‘मलाई तपाईंको रचना चाहिन्न।’

म उनको कोठाबाट निस्कन के खोज्दैथेँ, उनले मलाई रोके– ‘पख्नुस् !’

म अडिएँ।

‘ठिक छ, म अहिले नै मेरो रचना दिन सक्तिनँ, तपाईंले पर्खनुपर्छ। कथा नै त भन्न सक्तिनँ, केही न केही रचना दिउँला ! आजको ठिक पन्ध्र दिनपछि आउनुहोला, पाउनुहुनेछ !’ उनको आवाजमा कुनै भिन्नता थिएन। तर मभित्र भने विजेताको अभिमान बोल्दै थियो, ‘बल्ल ठिकमा आए बुढा !’

आज सोच्छु, कहिलेकाहीं, मलाई उनीसामु दङ्ग्याउने अधिकार रहेछ क्यारे, र’त उनलाई मैले त्यतिसम्मको दुर्वचन बोल्दा पनि उनको अनुहारमा किञ्चित कुनै रिस–आवेग देखिनँ। उनी सम्यक ! पक्क परेर मलाई हेरिरहेका थिए। सम्भवतः महान् व्यक्तिमा हुनुपर्ने गुण नै यही नै त हो नि !

गनेरै पन्ध्र दिनपछि म उनको कार्यकक्षमा पुगेँ। उनी बस्ने कुर्सी रित्तो थियो। मनमनै फेरि मेरो उग्रता चिच्यायो– ‘झुक्याएछन् मलाई।

तर अर्को क्षणमा फुत्त टुप्लुकिए उनी र सरासर गएर, आफ्नो टेबलमा पेपरवेटले थिचेर राखेको हस्तलिखित एक पृष्ठ कागज मलाई दिँदै भने– ‘लौ लिनुस्, तपाईंका लागि !’

‘अनधिकृत वस्ती’ शीर्षकको त्यो एउटा लघुकथा थियो, जुन ‘घुयेँत्रो’को पहिलो अङ्क, २०५५ पुस–माघमै छापेँ।  ०००

अर्को प्रसङ्ग, २०६३ सालको। ‘शारदा’ मासिकको पुनप्र्रकाशनको सिलसिलामा उनले लेखेका नयाँ कथा मेरो हात पर्‍यो। ठुलाठुला अक्षरमा लेखिएकाले निकै पृष्ठ थिए त्यसमा। प्रस्टै हुन्थ्यो– काँपेका हातले लेख्दा अक्षरहरू बाङ्गाटिङ्गा मात्रै थिएनन्, तीमाथि टिपेक्स दलेर धेरै शब्द केरमेट गरिएका थिए। तर पनि गल्तीहरू धेरै नै थिए।

सद्दाम हुसेनको फाँसीको घटनाबाट प्रेरित निकै रोमाञ्चक कथा थियो त्यो ‘एउटा स्वाधीन राष्ट्रियताको हत्या’। तर मलाई यो शीर्षक अलिक लामो लागेकाले कथा पढिसकेपछि मैले उनलाई फोन गरेर आफ्नो असन्तोष जनाएँ, ‘सर, मलाई शीर्षक अलिक लामो लाग्यो। कुनै एउटा मात्रै शब्द राखे हुन्न ?’ मेरो कुराबाट त्यतिखेर भने उनी अलिक रिसाए कि झैं लाग्यो। किनकि उनले मेरो कुराको प्रतिकार गर्दै भने, ‘के तपाईंले मेरा कुनै पनि कथा पढ्नुभएको छैन ?’

मैले बुझिहालेँ उनको भनाइको तात्पर्य। तैपनि उनैले भने– ‘लामो शीर्षक मेरो कथाको विशेषता हो।’

मैले त्यसपछि आपत्ति जनाउनुको कुनै औचित्य थिएन। मैले चुपचाप स्विकारेँ। तर अर्को कुरा थपिहालेँ–‘कथामा धेरै ठाउँ शब्दहरू बिग्रिएका छन्, तिनलाई के गर्ने होला ?’

‘ए... त्यो तपाईंले सच्याउनुभए हुन्छ।’ मलाई त्यति मात्रै भनेनन् कि अझै अगाडि भने– ‘वाक्यमा कुनै अशुद्धता छ भने तिनलाई पनि मिलाउने सबै अधिकार तपाईंलाई दिएको छु।’

सम्भवतः उक्त कथा ‘एउटा स्वाधीन राष्ट्रियताको हत्या’ नै रमेश विकलको जीवनको अन्तिम प्रकाशित कथा बन्यो।

उही कथा समावेश ‘शारदा’को पहिलो अङ्कको विमोचन गरिने कार्यक्रममुताबिक त्यो अङ्कका सबै लेखकलाई नेपाल प्रज्ञाप्रतिष्ठानमा निम्तो गरिएको थियो। तर कार्यक्रम सुरु हुन लाग्दा पनि उनको उपस्थिति भएन। मलाई नमिठो लागिरहेको थियो, ठिक त्यहीबेला उनले मोबाइलमा खबर गरे– ‘मलाई लिन आउन सक्ने भए म आउँछु।’

तर कार्यक्रम सुरु हुनै लागिसकेको थियो। त्यसैले उनलाई लिन जान सक्ने कुरै भएन। पछि, आरुबारीस्थित उनको घरको पाहुना हुन पुगेँ म एक दिन। उनले बडो आत्मीय ढङ्गले मलाई आफ्नो जीवनका उतारचढावहरू सुनाए। मैले, पहिले कहिल्यै थाहा नपाएका उनको चित्रकारिता र बाँसुरीवादनको रोमाञ्चक शौख पनि बताए, जसको पुष्टि त्यहीँ कोठाको भित्तामा झुन्ड्याइएका पेन्टिङ र बाँसुरीले गरिरहेका थिए।

आज, जबजब विकललाई सम्झन्छु, भावविह्वल हुन्छु।  

प्रकाशित: १ मंसिर २०८१ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App