२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
कला

थाम्सुहाङको ‘शब्दथुम’ लाई विमल गुरुङ कृति पुरस्कार

इलामका साहित्यकार प्रकाश थाम्सुहाङको कृति ‘शब्दथुम’ले दुई लाख रुपैयाँ पुरस्कार राशिको विमल गुरुङ कृति पुरस्कार प्राप्त गरेको छ। कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्यकार थाम्सुहाङको निबन्ध ‘शब्दथुम’लाई पुरस्कृत गरेको हो।

धरानमा शनिबार आयोजित समारोहमा साहित्यकार थाम्सुहाङलाई नगद, ताम्रपत्र र दोसल्लासहित पुरस्कृत गरियो। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीम खतिवडाले उनलाई पुरस्कार र ताम्रपत्र अर्पण गरे। त्यस अवसरमा ३३औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको५३ औं जन्मजयन्तीसमेतको विशेष कार्यक्रम सम्पन्न गरियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै विमल कृति पुरस्कार प्राप्त गर्ने कृतिको नाम घोषणा गरेको थियो। पुरस्कारका लागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका एक सय दुई पुस्तक दर्ता थिए। तीमध्ये उत्कृष्ट १० बाट ‘शब्दथुम’ छानिएको थियो।

निर्णायक समितिले ‘शब्दथुम’ निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृतिभित्र रैथाने चेतदेखि बैश्विक चिन्तन र मीमांसा पाएको उल्लेख गरेको छ। थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामूलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गरेको उल्लेख गरिएको छ।

‘शब्दथुम’ याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्लिमको कुरान र बौद्धको त्रिपिटकले भन्ने गरेको शब्दशक्तिलाई विश्वास गरेको कृति भएको ठहर छनोट समितिले गरेको छ। ‘शब्दथुम’मा पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिनरूपमा उतारिएको छ। र, तिनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निबन्धले गरेको छ।

निबन्ध संग्रहभित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सीमान्तकृत चेतलाई उजागर गर्दै सशक्त विचारप्रवाह पनि गरिएको छ। शब्दथुममा माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चचकता भर्दै आफ्नो समुदाय र परम्परामाथि शालीन विमर्श गरिएको छ।

याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्षसमेत रहेका थाम्सुहाङले १७ वर्षअघि ‘पालामको मुच्र्छन्ना’ कविता संग्रह निकालेका थिए।

प्रकाशित: २५ कार्तिक २०८१ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App