मृगस्थली मन्दिरमय छ, महिमामय छ। विभिन्न शैलीका मन्दिर मनग्यै छन्-डाँडैभरि। प्राकृतिक वातावरणको रमणीयता जुनसुकै बेला अनुभव गर्न सकिन्छ। पशुपति र गुह्येश्वरीबीचको केही अग्लो डाँडालाई अतीतदेखि नै मृगस्थलीका नामबाट चिनिँदै आएको बुझिन्छ। अतीतदेखि नै मृगको वासस्थान हो मृगस्थली।
डाँडामा पूर्व–पश्चिम लम्बिएको साँघुरो गल्ली छ। गल्लीको उत्तरपट्टि एउटा मध्यम आकारको सत्तल रहेको छ। बुइगलसहितको सत्तल पनि पूर्व–पश्चिम लम्बाइ भएको छ। त्यसको बीचको तलाका झ्यालहरूबाट गल्लीतिरका मठमन्दिरहरू देखिन्छन्। सत्तलको आँगनमा लहरै ६ वटा शिवालय छन्। तिनले सत्तललाई शोभायमान बनाएका छन्।
प्रत्येक शिवालयमा ठुलाठुला घन्ट स्थापित छन्। पदयात्रीहरू सत्तलका आँगनमा पुगे भने कसैकसैले घन्ट बजाउँछन्। त्यसबेला घन्टको ध्वनि मृगस्थली डाँडाभरि फैलिन्छ। रुखरुखका बालक बाँदरहरू घन्ट बजेको बेला निकै चनाखा देखिन्छन् र आमा भएतिर दौडिन्छन्।
घन्टको लामो ध्वनि बन्द भएपछि पहिलेकै जस्तो चराचुरुंगीको मधुरो कलरवले सत्तलको परिवेशलाई संगीतमय बनाइरहन्छ। त्यस शान्तस्थललाई सहरिया ध्वनि प्रदूषणको कोलाहलले हत्तपत्त खण्डित गर्न सक्दैन। रुखका चेपहरूबाट मात्र पश्चिमतिरको सहरिया परिवेशलाई चियाउन सकिन्छ। बिहानबिहान त्यहाँ आइपुगेका मानिसबाट द्वेष र तनावको प्रतिच्छाया प्रकट हुँदैन। तीमध्ये कोही सत्तलको आँगनमा आउँछन् र शिवालयको परिक्रमा गरेर बाहिरिन्छन्। उनीहरूको गन्तव्य गुह्येश्वरी वा पशुपतिनाथको दर्शन गर्नु रहन्छ। समयले भ्याएसम्म उनीहरू बाटामा पर्ने मठमन्दिरलाई अनदेखा भने गर्दैनन्। दिउँसो आउनेहरूको उद्देश्य भने केहीबेरका लागि भए पनि सहरिया कर्कश ध्वनि, प्रदूषण र धुलोधुवाँबाट मुक्त भएर सुरम्य प्राकृतिक रमणीयतामा आफूलाई भुलाउनु रहन्छ ।
मृगस्थली क्षेत्रमा हरिण, मृग र बानरको चहलपहल राम्रै नियाल्न पाइन्छ। पक्षीहरूको सांगीतिक कोरसको मनमोहकताले लट्ठ भएर जंगलका एकान्त छहारीमा घण्टौं बिताउनेहरू हुन्छन्। डाँडामा बिहानै घाम झुल्केको बेला पात वा हाँगामा लुक्दै घामका थोपाहरू त्यहाँका मन्दिर, शिवालयहरूमा चुहिन्छन्। हिउँदका बेला त्यही तेर्सो गल्लीबाट निलो आकाशमा उडिरहेका चराका प्वाँखहरू टल्केका देखिन्छन्। त्यस ठाउँप्रति बानर र मृगको आत्मीयता बढी नै छ। ती निर्बोध प्राणीको पुख्र्यौली वासस्थान त्यही त हो नि।
१८/२० मिटरजति लम्बाइ भएको सत्तलको छाना टिनको छ। त्यसको निर्माण १९६३ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा भएको भन्ने थाहा हुन्छ। सत्तलको पूर्वपट्टिको चिलाउनेको बुढो रुखबाट बानरहरू सत्तलको छानामा फाल हान्छन्। त्यसबाट सत्तलभित्रको चकमन्नता केही खल्बलिएजस्तो हुन्छ। त्यसो त नजिकैका लप्सी र खरीका रुखहरूले पनि तिनीहरूलाई आश्रय दिइरहेकै हुन्छन्। मृग र बानरहरूको स्वभावजन्य चञ्चलताले मृगस्थलीलाई जाग्रत राखेका छन्।
सत्तलनजिकै पूर्वपट्टि गोरक्षपीठ छ। दक्षिणपट्टि अलिपर विश्वरूप मन्दिर छ। कैयौं मठ, शिवालय, मन्दिरहरू छन्। तिनको संरक्षण व्यवस्थापन अपेक्षित तवरमा भएको देखिँदैन तर प्राकृतिक र सांस्कृतिक तवरले मृगस्थली हरियालीयुक्त र सम्पदायुक्त छ।
मृगस्थलीको यही परिवेश र प्रकृतिसँग सन्निकट रहँदै सांस्कृतिक, धार्मिक गतिविधिले अतीतदेखि नै निरन्तरता पाइरहेका छन्। उल्लिखित चन्द्रशमशेरकालीन सत्तलमा नेपाल तथा भारतमा प्रसिद्धि प्राप्त गर्नुभएका एकजना विद्वान् बस्नुहुँदो रहेछ– स्वामी प्रपन्नाचार्य। उहाँलाई नेपाल टेलिभिजनका पर्दामा कहिलेकहीं देख्ने गरेको थिएँ।
पहेँलो धोतीमा बेरिएर कुनै औपचारिक धार्मिक–आध्यात्मिक कार्यक्रममा उहाँ देखिनु, सुनिनुहुन्थ्यो। ती गेरु वस्त्रधारी विद्वान्लाई भेट्न म उत्सुक थिएँ। उहाँबारे प्रकाशित समाचार र अन्य केही सामग्री पढ्दै आएको थिएँ। उहाँको ‘वेदमा के छ ?’ नामक कृति प्रकाशित भइसकेको थियो। त्यसले राम्रै चर्चा पनि पाएको थियो। म पहिलेदेखि नै नियमित रूपमा व्यक्तित्वमूलक कार्यक्रम उत्पादन गर्दै आएको थिएँ। त्यस कार्यक्रमले दर्शकहरूबाट लोकप्रियता पनि प्राप्त गरेको थियो। एकदिन विचार गरेँ, अब उनै स्वामीजीको व्यक्तित्वसम्बन्धि कार्यक्रम किन नबनाउने ?
मोबाइलको चलन थिएन। फोन नम्बर पत्ता लगाएर उनका सहयोगीसित समय मिलाई २०५५ सालको साउनको कुनै दिन स्वामीजीलाई भेट्न म मृगस्थली पुगेँ। त्यसताका म ‘समर्पण’ शीर्षकमा पाक्षिक कार्यक्रम सञ्चालन गर्थें। मैले स्वामीजीसँग उहाँलाई भेट्न आउनुको प्रयोजन बताएँ।
नेपाल टेलिभिजनले पहिलोपटक आफूलाई कार्यक्रमका लागि सम्झेकोमा उहाँ प्रसन्न हुनुभयो। स्वामीजीसँग सल्लाह गरी समय मिलाएर म भोलिपल्ट नै छायाङ्कन टोली (क्रयु) सहित छायाङ्कन गर्न जाने भएँ। उहाँको बिहानको दैनिकी एकघण्टा जति पाशुपत क्षेत्रको परिक्रमा गर्ने रहेछ। त्यसलाई पनि छायाङ्कन गराउने हेतु म भोलिपल्ट बिहान ७ बजे नै छायाकार सुरेशराज मानन्धर र ध्वनि रेकर्डिस्ट मधुर श्रेष्ठसहित स्वामीजीको निवासस्थल पुगेँ। उहाँ पाशुपत क्षेत्र परिक्रमा गर्न हिँड्न आँट्नुभएको रहेछ। उहाँ एकजना सहयोगी (वासुदेव) लाई साथमा लिएर गुह्येश्वरीतिरबाट गौरीघाट हुँदै पशुपतिनाथ उत्तरपट्टिको डाँडामा उक्लेर पशुपतिको दर्शन गरी, बिसाउँदै सत्तलको प्राङ्गणमा पुग्नुभयो।
सुरेशराजजीले बीचबीचमा उहाँको पदयात्राका दृश्यहरू खिच्नुभयो। म साथैमा थिएँ। स्वामीजी बस्ने सत्तलको बीचको तलामा छायाङ्कन गरियो। दोस्रो दिनको छायाङ्कन पनि उहाँको अध्ययन तथा शयन कक्षमा भयो। छायाङ्कन बाँकी नै रह्यो। अन्तर्वार्ता लिने सल्लाह भएअनुसार हामी तेस्रो दिन पनि पुग्यौं। स्वामीजीले त्यस दिन सँगै खाना खाने गरी आउनुहोला है भन्नुभएको थियो। हामीले तेस्रो दिन छायाङ्कनका क्रममा स्वामीजीकै साथमा बसेर खाना खायौं। उहाँका साथमा बस्ने, अध्ययन गर्ने ५/६ जना शिष्य थिए। छायाङ्कनका बाँकी काम सकेर हामी फक्र्यौं।
छायाङ्कन सकिएपछि आलेख परिमार्जन, स्टुडियोको काम, श्रव्यदृश्य सम्पादनलगायत काम सकेपछि अर्को हप्तातिर कार्यक्रम प्रसारण भयो। सनातन हिन्दु धर्म संस्कृतिका एक मूर्धन्य विद्वान्, आध्यात्मिक निष्ठाका सुप्रसिद्ध व्यक्तित्व स्वामी प्रपन्नाचार्यको व्यक्तित्व, कीर्तित्व र कृतित्वमा आधारित आधा घण्टा समयावधिको वृत्तचित्रात्मक कार्यक्रम प्रस्तुत गर्न पाएकोमा मलाई सन्तोष लाग्नु स्वाभाविकै थियो ।
१९८० साल असोजमा पूर्वी नेपालको पाँचथरमा जन्मनुभएका स्वामी प्रपन्नाचार्यले पारिवारिक एवं तत्कालीन सामाजिक आर्थिक अवस्थाका कारण युवा उमेरमा पुगेर मात्र अक्षरारम्भ गरी आफूलाई सनातन हिन्दु धर्मशास्त्रको अध्ययनमा पारङ्गत गराउनुभयो। उहाँले वाराणसी संस्कृत विश्वविद्यालयअन्तर्गतका गुरुकुल एवं संस्कृत कलेजहरूमा अध्ययन गर्दै राष्ट्रिय संस्थान दिल्लीबाट २०२७ सालसम्ममा वेदान्तमा विद्यावारिधि गर्नुभयो।
२०३७ सालमा काठमाडौं आउनुभएका स्वामीलाई २०४५ सालदेखि पशुपति क्षेत्र विकास कोषले मृगस्थलीस्थित सत्तलमा बस्ने व्यवस्था गरिदियो र आजीवन त्यहीं बसेर आफ्ना विद्वत् कर्मलाई निरन्तरता दिनुभयो। उहाँको वेदमा के छ?, प्राचीन हिन्दु विज्ञान, प्राचीन किराँत इतिहास एवं सयौं धार्मिक, आध्यात्मिक, सांस्कृतिक लेखरचना आदि प्रकाशित भएका छन्। हिन्दी, संस्कृत भाषामा पनि उहाँका कृति प्रकाशित छन्।
सयौं राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका संघसंस्थाबाट पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएका आध्यात्मिक पुरुष स्वामी प्रपन्नाचार्यसँग छोटो समयकै निम्ति भए पनि नजिकबाट प्रत्यक्ष चिन्ने अवसर पाउनु र कार्यक्रम निर्माणको अवसर पनि पाउनु मेरा निम्ति सुखद स्मृतिको विषय बनेको छ।
२०७२ साल भदौ ४ गते स्वामी प्रपन्नाचार्यको देहावसानको समाचार सञ्चार माध्यमबाट प्रसारण हुन थालेपछि म मृगस्थली पुगेँ। उहाँको प्रार्थिव शरीरलाई सत्तलका आँगनको पश्चिमपट्टि नसुताईकन खुट्टा पसारेर बसेझैं गरी राखिएको थियो। फूलमालाले शरीर छोपिएको थियो। अनुहार खुलै थियो। उहाँ निदाउनु मात्र भएको जस्तो लाग्थ्यो। असंख्य मानिस लामबद्ध भई शोकाकुल मुद्रामा श्रद्धाञ्जली अर्पण गरिरहेका थिए। मैले पनि श्रद्धापुष्प अर्पण गरेँ। उहाँको व्यक्तित्व र कृतित्वबारे चिन्तामणि योगीलगायतका विद्वान्हरू बोलिरहनुभएको थियो। साँझतिर स्वामीजीको प्रार्थिव शरीरलाई सत्तलकै उत्तरतिर मृगस्थलीमै समाधिस्थ गरिने कुरा श्रद्धाञ्जलीकै क्रममा सुनेथेँ।
सामान्य राई परिवारमा जन्मेर सीमान्त संघर्ष गर्दै बौद्धिकता, आध्यात्मिकता र उच्च चैतन्यले स्वयंलाई आलोकित पार्दै समस्त नेपाली समाजलाई नै उज्यालो बाँड्न सफल हुनुभयो स्वामी प्रपन्नाचार्य।
वास्तवमा स्वामीजी सामाजिक परिवर्तनका विशिष्ट कर्मवीर हुनुहुन्थ्यो, कान्तिपुरुष हुनुहुन्थ्यो। उहाँले ‘बाहुनले मात्र वेद पढ्नुपर्छ’ भन्ने अन्ध विश्वासयुक्त बाहुन परम्पराविरुद्ध पहिले आफैं उठेर अरूलाई पनि उठ्ने प्रेरणा दिनुभयो। उहाँलाई नेपाली समाजले यस मननीय सुचिन्तन र सुकर्मका लागि सदा स्मरण गरिरहनेछ। मैले यसै आशयका केही शब्दहरू श्रद्धाञ्जली पुस्तिकामा लेखेँ। उहाँको संघर्षशील जीवन ज्ञानको भोक मेट्न र ज्ञान प्राप्तिपछि त्यसलाई अरूको चैतन्यवृद्धि गर्न समर्पित रह्यो। ब्रम्हाचार्य जीवन व्यतित गर्नुभएका स्वामीजीले स्वयं उज्यालो स्तम्भ बनेर अरूलाई उज्यालो बाँड्नुभयो। उहाँको सदाचारयुक्त जीवन सबैका लागि प्रेरणादायी रहिरहेको छ। नेपालका यी महान् सत्पुरुष सदा अमर रहनेछन्।
मानिस कर्मले नै महान् हुँदो रहेछ, यो शास्वत् कुरालाई स्वामी प्रपन्नाचार्यले प्रमाणित गर्नुभयो। मानिसले अविश्रामरूपमा निष्ठायुक्त जीवन व्यतीत गर्दै लक्ष्य प्राप्तिखातिर समर्पित रहन सकेमा अमरत्वसहित कीर्तित्वको शिखरमा पदार्पण गर्न सक्छ भन्ने दृष्टान्त स्वामीजीले प्रस्तुत गर्नुभयो।
आडम्बरयुक्त आध्यात्मिक जीवनको कुपमण्डुकतामा रमाउँदै सतही आदर्शमा आत्मरति बखान्दै बाँच्ने मानिस नेपालमा धेरै छन्। स्वामी प्रपन्नाचार्यले आध्यात्मिक चैतन्यका सूत्रलाई जीवनसूत्रका रूपमा आत्मसात गर्दै आडम्बरहीन अध्यात्म कर्मलाई पछ्याउनुभयो र अध्यात्मको मण्डपमा बसेर जीवनको खोजी गर्नुभयो। यसैले उहाँलाई अमरत्व पनि प्रदान गर्यो। यी यशस्वी महामनाको कीर्तित्वको सम्मान गर्दै दिउँसो तीन बजेतिर म मृगस्थलीबाट ओरालो लागेँ। मृगस्थली डाँडो मानिसहरूले खचाखच थियो तर त्यहाँ अब कोही तपस्वी थिएन। म आफैले कार्यक्रम निर्माण गर्दाका पल सम्झिँदै ओर्लें।
प्रकाशित: २४ कार्तिक २०८१ ०६:४२ शनिबार