‘कविता भावनाको बौद्धिक कोमलता हो’– बालकृष्ण सम। कवि मञ्जुल भन्छन्, ‘कविता लेख्ने मान्छे प्रथमतः कवि हुनैपर्छ। त्यसपछि मात्र उसले आफ्नो कविता लेख्ने प्रतिभाद्वारा विचारलाई व्यक्त गरेको सुहाउँछ ।’ यस्तै लाग्छ ‘रातो नदी’ तर्दा। भावनाका सुन्दर थुँगाजस्ता, वैचारिक छानोमुनि ओतिएका जस्ता आम भुइँमान्छेका समस्याका खातहरूमाथि विद्रोहको राँको झोसेजस्ता, कल्पनाको उडानभन्दा कोसौं दूर देखिएका बलशाली कविताहरूको चाङ छ यहाँ। कविताहरूको अभिव्यक्तिमा विद्रोहको उच्च चेत भरिएको छ।
युगीन पीडा, व्यथा र दर्दहरू पाल्ने मन कसलाई पो हुन्छ र ? जीवनका विभिन्न उच्छवास र विभीषिकाको अभिव्यक्त गर्ने रहर सबैलाई हुन्छ। यसलाई कसैले लेखेर अभिव्यक्त गर्छन्, कसैले बोलेर। अनि लेख्दा पनि कसैले कुन विधामा लेख्छन् त कसैले कुन विधामा।
यसैगरी जुनू राना पनि ‘रातो नदी’मार्फत महिलाका अस्मिताका कुरा लेख्छिन्। समाजमा यत्रतत्र सर्वत्र फैलिएका बेथिति, विकृतिविरुद्ध आन्दोलन गर्छिन्। कवि मन सधैं कहाँ भावुक हुन्छ र ? विकृत पक्षविरुद्ध विद्रोहको राँको बाल्छ नि। यस्तै झलकहरू यत्रतत्र परेका देखिन्छन् जुनू रानामा। उत्पीडनलाई केन्द्रमा राखेर केन्द्रीय भाव वा विचार परिवर्तनसँग जोडिएका कविताहरू छन्। परिवर्तनका पृष्ठपोषक लाग्छन्। यसैले जुनू परिवर्तनकी हिमायती हुन् भन्नेमा भ्रम दिँदैनन् कविताहरूले। कविचेत सकारात्मक परिवर्तनप्रति लक्षित देखिन्छ। समय र समाज सन्दर्भसँग जोडिएर कविता लेख्न माहिर देखिएकी छन् राना। नकारात्मकता विरुद्धको विद्रोहको युगीन चेतले भरिएका कविताहरू यहाँ परेका छन्। समाजका विकृत पक्षहरूको दर्विलो आलोचनात्मक दृष्टिचेतले कविता लेख्नु सह्रानीय पक्ष हो।
शीर्षक ‘रातो नदी’ले पाठकको मन झस्काउँछ। तरङ्ग भाव पैदा गर्छ। महिलाको प्राकृतिक मासिक श्रावलाई रातो नदीको बिम्बमा शक्तिशाली कविता बनेको छ ‘रातो नदी–१’, ‘रातो नदी–२’ कवितासङ्ग्रहको शीर्ष कविता ।
रातो नदी बनेर म बगिरहेकै छु
जहाँ म हुनुको अर्थ अलग छ
जुन नदीले सृष्टिको अस्तित्व बोक्छ।
(रातो नदी –१)
नारी उत्पीडनका पीडाहरू कवितामा उधिनिएका छन्। उनी महिलाका समस्याको पक्षमा कवितामा सशक्त ढंगले उभिएकी छन्। आफ्ना सन्तानको सुखलाई सोचेर र सन्तानलाई हेरेर रमाइरहेकी नारी र छोरी भएर आमाबारे कल्पना गरिरहेकी नारी। दुवै प्रकृतिका नारीका अनुभूति कवितामा आएका छन्।
नारी सिर्जनाशक्ति हुन्, नारी ममताकी प्रतिमूर्ति हुन्, नारी सृष्टिकी सुन्दर केन्द्र हुन्। तर, यिनै नारीमाथि हुने विभेद, अन्याय, अनादर, पुरुषकेन्द्रित संस्कार र संस्कृतिप्रति कविको तीव्र असहमति छ। यस्ता कविता भावनाइतर बगे पनि यथार्थवादी दृष्टिचेत बोकेका देखिन्छन्। कविताले मातृत्वबोधलाई शक्तिशाली ढंगले अभिव्यञ्जित गरेका छन्।
यस्ता कवितामा ‘मातृ अस्तित्व’, ‘धर्ती’, ‘मातृत्व’, ‘घोषणा’, ‘म पृथ्वी’, ‘तिम्री आमा’, ‘छहारी’जस्ता कविताहरू यसतर्फ लक्षित देखिएका छन्। ‘मगज सौन्दर्य’ कवितामा पनि नारी विरोधीप्रतिको कटाक्ष पढ्न सकिन्छ। देहावसनाको कुत्सित मनसायग्रस्त पुरुषहरूलाई कडा प्रहार गर्छ ‘तिम्रो अंश’ कविताले। यति मात्र होइन, पितृत्वको सम्मानमा पनि उनको कलम मजैले चलेको छ। आफ्ना बाबाको स्नेह पोखिएको ‘बाबा’ कविता बलशाली लाग्छ। विवाहपछि माइती चेलीका निम्ति पराइ हुने नेपाली संस्कारप्रतिको रोष पोखेको कविता हो ‘पराइ’।
रगत एकै
गर्भ एकै
छोरा घरको
छोरी परको
किन यस्तो विभेद! (पराइ)
कविताहरूमा प्रभावको आभा मजैले देख्न सकिन्छ। कवितामा उस्तै जीवनदृष्टि छ, उस्तै विश्वदृष्टि छ र छ उनको आफ्नै आत्मदृष्टि। अनि, कलात्मक संयोजनको मिसावट उस्तै सुन्दर। भन्न सक्छु, कवि स्वयंले देखेभोगेका आफ्ना वरपरका सन्दर्भहरूले कवितामा स्थान बनाएका छन्। उनी प्रवासी जीवन बिताउँदै देश सम्झेर नोस्टाल्जिक बनेकी छन् र त फुर्छन् ‘लाहुरे’, ‘कानमा देश गुन्जिरहेछ’, ‘समुन्द्रपारि’, ‘जग’, ‘गाउँ कागज’, ‘माटो र म’जस्ता देशप्रेम र प्रवासीका पीडामिश्रित कविताहरू।
समाज आदर्श हुनुपर्छ भन्ने भावका कविताले धनी र गरिबबिचको खाडल दिन प्रतिदिन बढिरहेको सन्दर्भमा कवि मन दुख्छ र आक्रोशको ज्वारभाटा छुट्छ। वर्तमान विषम परिस्थितिले जन्माएका कवि हुन् उनी। यसैले वर्तमान बेथितिविरुद्धका भाव र यस्तै प्रवृत्ति कवितामा भेट्न सकिन्छ।
यसरी नै वर्तमान समाजले महिलालाई हेर्ने हेय दृष्टिकोणप्रतिको कटाक्ष ‘सीताहरू’ कवितामा अभिव्यक्त भएको छ। ‘जातको ब्रह्माण्ड’, ‘मान्छे’जस्ता कविताले जातीय विभेदविरुद्ध जेहाद छेडेको छ। भ्रष्टाचारजस्ता मौलाउँदा विकृतिप्रति उनले आक्रोश पोखेकी छन् ‘बाढीपहिरो बिम्बमा’ कविता लेखेर।
मानवताविरोधी वर्तमान दुरवस्थाको सटिक चित्रण गर्छ ‘भेरी साक्षी छ’ कविताले। समाजका अययवहरूको टपक्क टिपनले कविताहरू यथार्थवादी पानीमा मज्जैले घोलिएका छन्। उनका कविता सामाजिक धरातलमा अडिएकाझैं प्रतीत हुन्छ। यस्तै परिवेशले लेखनीमा कविलाई घचघच्याएको हुनुपर्छ।
मान्छे र प्रेम एकापसमा अन्तरसम्बन्धित हुन्छन्। मन न हो प्रेमको सुवासना बुझिहाल्छ। ‘चिठी’, ‘प्रेमको चिनो’, ‘कोइली’, ‘पर्खिरहने मान्छे’, ‘शीत’, ‘तिम्रो नाम’, ‘प्रेमकै याद र जून’, ‘पछ््यौरी’, ‘रगत’ आदि कविताले प्रेमका कुरा गरेका छन्। तर घृणाभाव र धोका होइन, मिलनका आशावादी दिनको कुरा गरेका छन्।
उनका कविता एकातिर सामाजिक चेतनाले ओतप्रोत छन् भने अर्कातिर विद्रोहको ज्वाला दन्काउने पनि। हामीले भोगेका यही समाजका बिम्बहरू कविले टपक्क टिपेर सुन्दर कविता बुनेकी छन्। वर्तमान समाजको यथार्थलाई उनका कविताले चित्रण गरेका छन्। कवितामा आफ्ना मनका प्रखर अभिव्यक्ति दिन सक्नु कविको विशेषता हो। पाठकलाई कविताहरूले सचेतना जगाउन योगदान गरेका छन्।
किनारीकृत पारिएका नारीका संवेदनाको पोकोलाई कविले उदाङ्गो पारेकी छन्। चेतनाको सम्प्रेषणका दृष्टिले पीडाहरूलाई अनुभूतिमय बनाएर आफैं भोक्ता बनेर कवितामा उन्न सफल हुनु जुनू रानाको कवित्वचेत प्रस्ट हुन्छ। त्यसैले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने चेतनाको सम्प्रेषणका दृष्टिले पनि कविताहरू प्रभावकारी लाग्छन्। विषयवस्तु, शिल्प र सन्देश प्रदायक कथानकले गर्दा कविता सशक्त बनेका छन्। कविको विचारधारा कवितामार्फत सरल ढंगले आएको छ। उनको चेतना उच्च देखिन्छ। त्यही उच्चताले भरिएका कविताहरूले रातो नदी बगेको छ।
विचार अभिव्यञ्जनाले भरिएका कविताहरू शब्द चयन, कविताको अभिव्यक्ति, बिम्बविधान, प्रतीक र अलङ्कारको प्रयुक्तिमा कविताको कथ्य सुललित छ। कृत्रिम र बोझयुक्त भाषाको अभावमा कविता सरल देखिन्छन्। कतै कुनै पनि कवितामा जटिलताको गन्ध छैन। फारु शब्द, सरलता र सहजता, शैली र शिल्पमा निखारपन र परिष्करण ल्याउन सक्ने सम्भावना बोकेकी कवि लाग्छिन्।
प्रकाशित: २४ कार्तिक २०८१ ०६:२८ शनिबार