२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

यात्रा वर्णनमा यथार्थ अनुभूति

पुस्तक

नेपाली साहित्य क्षेत्रमा ज्ञानेन्द्र विवश परिचित नाम हो। निबन्ध र नियात्रा लेखनमा सक्रिय रहँदै आएका विवशले ललितकला तथा संस्कृतिविषयक थुप्रै लेखरचनाहरू प्रकाशित गरेका छन्। एक दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका विवश आत्मपरक निबन्ध–प्रबन्धका साथै कला तथा जात्रा–संस्कृतिका चिन्तक एवं लेखक हुन्।

विवशको ‘अर्धकदको अवसान’ नामक निबन्धसङ्ग्रह भर्खरै प्रकाशनमा आएको छ। यस सङ्ग्रहमा तीन दर्जन निबन्धहरू समाविष्ट छन्। विषयवस्तुका रूपमा हेर्ने हो भने उनका निबन्धमा कि त जीवन अभिव्यक्त छ कि त जगत। आफ्ना भोगाइ र अनुभूतिलाई समेटेर उनले जीवनका विविध समयलाई कोमलताबाटै प्रस्तुत गरेका छन् भने सुन्दर प्रकृति र यात्रालाई समेटेर जगतलाई चित्रण गरेको पाइन्छ।

प्रकृति र जीवनलाई विषयवस्तु बनाएका उनका निबन्धमा समाजका विकृति, विसङ्गतिप्रतिको चोटिलो व्यङ्ग्य तथा सुधारको आग्रह छ। प्रत्येक निबन्धमा उनले मूलतः प्रकृति र जीवनका जीवन्त अनुभूतिलाई आकार दिएका छन्। उनका प्रायशः निबन्धका अभिव्यक्ति र तिनमा प्रतिबिम्बित भावनामा नेपाली पहिचानका अनगिन्ती सुवासहरू पाइन्छन्। यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू समेटिएका छन्।

हाम्रै पाखापखेराका सुसाइरहेका आभास हुन्छ भने हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू प्रस्तुत भएका छन्। सामाजिक विषवस्तुका निबन्धमा हाम्रै जीवन, समाज र समयका तस्बिरहरू समेटिएका छन्। वास्तवमा यस निबन्धसङ्ग्रहमा समाविष्ट निबन्धहरूले समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूपलाई प्रदर्शन गरेको छ भन्न सकिन्छ।

यस निबन्धसङ्ग्रहको शीर्ष निबन्ध ‘अर्धकदको अवसान’ले समेटेका विचार–भावनाहरू निकै गम्भीर र गहन प्रकृतिका छन्। बिम्बमा प्रस्तुत भएका सम्पूर्ण वर्णन–विवरण नेपाली समाजका दस्तावेज हुन्, घटनाका इतिहास हुन्, जसले आउने पुस्तालाई विगतको ज्ञान दिलाउन सक्षम हुनेछन्। देश र जनतामा आएका प्राकृतिक घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेदले आफैले भोगेको अनुभूतिलाई निबन्धले प्रस्तुत गर्न सफल छ।

निबन्धमा अभिव्यक्त संवेदनाले मनलाई स्पर्श गर्न आउँछ। केही निबन्ध तथ्यपूर्ण शब्द–तथ्याङ्कहरू छन्। सुन्दर प्राकृतिक सौन्दर्य चित्रणसँगै लेखकीय संवेदनाले मन र मुटु चस्स छुन्छ। प्रकृतिको सौन्दर्य तथा आफूले गरेको अनभूतिमा स्वच्छन्द विचरण अर्थात् निर्बन्ध विश्लेषणमा अभ्यस्त मन यस्तैमा लहसिन पाउँदा साहित्य सुधापान गरेजस्तै आनन्दका सागरमा डुबुल्किएको अनुभूति यस सङ्ग्रहका निबन्धको पठनबोधबाट पाउन सकिन्छ। लेखनीको सार्थक प्रयास, सकारात्मक भावना र अभिव्यञ्जना सिपले उनका निबन्ध स्वच्छ र निर्मल भएझैं लाग्छ। छोटो, छरितो वाक्यविन्यास शिल्पसाधनामा रचित निबन्ध सरल र सुबोध्य छन्।

यस निबन्धसङ्ग्रहमा समेटिएका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित देखिन्छन्, जसले गर्दा आमपाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्ने सामथ्र्य राख्छन्। ‘अर्धकदको अवसान’ निबन्धसङ्ग्रहभित्रका निबन्धमा प्रस्तुत विषयवस्तु अर्थात् घटना विवरण बटुलेर तिनलाई संवेदनशील मात्र नबनाई लेखकीय चिन्तनलाई मिलाएर प्रस्तुत गर्न सक्नु उनको क्षमता मान्न सकिन्छ।

समग्रमा निबन्धकार विवशका निबन्धले जीवन र प्रकृतिलाई निकै नै नजिकबाट नियालेर कलात्मक मौलिकताले अभिव्यक्तिको आकार दिएका छन्। यस सङ्ग्रहका निबन्धमा मिठासयुक्त शब्दहरूको प्रयोग सरल शैलीमा रहेको पाइन्छ। यसका साथै माया, प्रेम, विश्वास तथा भेटघाट, बिछोड आदि विषयमा निबन्धको गहन चिन्तन समेटिएका छन्।

प्रकृति र प्राकृतिक सौन्दर्यका विभिन्न रूप तथा अवस्थालाई चित्रण गर्दै अनेक बिम्ब तथा प्रतीकको प्रयोग गरिएका उनका निबन्धमा शीर्षकमै बादल, चरा, ऋतु, पहाड, झन्डाजस्ता विषय समेटिएका छन्। निबन्धमा महसुस गर्न सकिने उल्लेख्य पाटो भनेको प्रेम, प्रकृति एवं जीवनलाई उचाइमा पुर्‍याएर गरिएको चिन्तन र त्यसको गहन प्रस्तुति हो भन्न सकिन्छ।

 विवशका निबन्धमा वर्णनात्मक र आत्मपरक अभिव्यञ्जना शैलीको प्रस्तुति पाइन्छ। अर्धकदको अवसान निबन्धसङ्ग्रहभित्रका प्रत्येक निबन्धले निकै गहकिलो भावनाका अनुभूतिहरू संवरण गरेका छन्। निबन्धहरू सामान्य विषयका हुँदा पनि गम्भीर र अर्थपूर्ण बनाएर कलात्मक रूपमा प्रस्तुत गरिएका कारणले मिठासपूर्ण देखिन्छन्।

जीवन र जगत्का सत्यलाई सकेसम्म नजिकबाट हेरेर पाठकलाई सँगसगै हिँडाउन सफल विवशका निबन्धमा कलाचेतनाको सुवास भरिएका छन्। आफ्ना जीवनका अनुभव र अनुभूतिलाई कलात्मक तरिकाले प्रस्तुत गरिएका जुनै विषय र सन्दर्भका निबन्धमा पनि उनको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन्।

प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन्। मधेस आन्दोलनमा स्रष्टाहरूको सालिक तोडफोड गरेर नेपाली भाषा र साहित्यप्रतिको आक्रोश अभिव्यक्त गरिएको थियो। तर सालिक भनेको सालिक मात्र नभएर एक समयको कला, योगदानको सम्मान र इतिहास पनि भएकाले त्यसप्रतिको विद्रोह वर्तमानप्रतिको पनि अपमान हो भन्ने निबन्धको मूलस्वर रहेको छ। दुई सय ३२ पृष्ठमा संरचित यस निबन्धसङ्ग्रहलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको छ।  

प्रकाशित: २४ कार्तिक २०८१ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App